|

काठमाडौं : गर्मी र वर्षातको समयमा डेंगुका बिरामीहरु धेरै देखिन्छन्।  काठमाडौंमा फोहोरमैला व्यवस्थापन हुन नसक्दा पनि डेंगु भाइरस थप फैलिएको छ। पहिले–पहिले तराई क्षेत्रमा डेंगुका बिरामी धेरै भेटिन्थे। तर अहिले काठमाडौंमा पनि धेरैमा डेंगु देखिने गरेको छ।

एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ। यस प्रजातिका लामखुट्टेले पार्ने अण्डा, प्युपा र लार्भाबाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्छ।

डेंगु र भाइरल इन्फेक्सनका धेरैजसो लक्षण मिल्दाजुल्दा हुन्छ। ज्वरो आउने, छाति दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या डेंगुमा पनि देखिन्छ। तर यसमा  मुख्यगरी आँखाको वरिपरि र आँखाको गेडी दुख्छ। ज्वरो १ सय ३ वा ४ डिग्री आसपास बसिरहन्छ, सिटामोल खाँदा पनि ज्वरो नघट्ने हुन्छ।

जिऊ एकदमै दुख्छ। जिउमा डाबरहरु देखिन्छन्। निकै थोरै प्रतिशतमा पखाला लाग्ने पनि हुन्छ। यस्तो समस्या देखियो भने डाक्टरकोमा जाँच गर्नुपर्छ। त्यस्तै, पानी, जुस, सुपलगायत प्रशस्त झोलिलो कुरा खानेकुरा, माछामासु खाने, आराम गर्ने गर्नुपर्छ।

खानेकुरा हाइजेनिक हुन भने जरुरी छ।

यसरी गरिन्छ चेकजाँच

हामीले लक्षणको आधारमा सिबिसी चेकजाँच गर्दा रगतमा ह्वाइटब्लड सेल र प्लेटलेट्स घटेको र लिम्फोसाइड बढेको देखियो भने त्यसलाई  डेंगुको शंकास्पद बिरामी मान्छौं र त्यहीअनुसार उपचार गर्छौं।

सिबिसीले एउटा पिक्चर दिएपछि डेंगुकै एन्टिजेन चेक गरिन्छ। त्यो किटले गर्ने हो, त्यसैले नेगेटिभ आउँदैमा डेंगु रुलआउट हुँदैन। कतिपयमा निको हुने अवस्थामा पुगेकाले पनि नेगेटिभ देखिएको हुनसक्छ। त्यसैले शंका लागेका बिरामीलाई हामी निश्चित समय निगरानीमा राखेर उपचार गर्छौं।

हामीले प्रायः चेकजाँच गर्दा ५० हजारभन्दा माथि प्लेट्लेट्स छ भने बिरामीलाई घर पठाइदिन्छौं, त्योभन्दा कम छ भने अस्पतालमा राख्छौं। प्लेट्लेट्स अझै घट्यो भने हामी आफैंले प्लेट्लेट्स दिनुपर्ने हुन्छ।

मृत्युदर १ प्रतिशत

डेंगु धेरैजसोलाई आफैं ठिक हुने हो। नर्मल अवस्था छ भने ७ देखि १० दिनभित्र ठिक हुन्छ। संसारभर मृत्युदर हेर्‍यो भने १ प्रतिशत मात्रै छ। तर सिबियर डेंगु चाहिँ अलिक गम्भीर हुन्छ।

डेंगु भएर शरीरभित्र फैलिएर प्लेटलेट्स कमजोर भएर रक्तश्राव हुन थालेको अवस्थालाई सिबियर भनिन्छ। प्लेटलेट्सको कमी भएर अंगभित्र रगत बग्न थाल्यो, कसैको दिशा, कसैको गिजा, अन्न नलीमा, नाकमा रगत बग्न थाल्ने अवस्थालाई डेंगु हेमोरोजिक फिभर भनिन्छ, यसले बिरामीहरुलाई सकमा पनि लैजान सक्छ।

अंगहरु ड्यामेज हुन थाल्ने, प्रेसर कम हुनेलगायत समस्या देखिन्छन्। यसको पनि बेलैमा उपचार पायो भने खासै समस्या हुँदैन, उपचार गराउनेहरुमा मृत्युदर ३ देखि ५ प्रतिशत देखिएको छ। तर सिबियर हुँदा पनि उपचार गरिएन भने २० प्रतिशतभन्दा माथि पुग्छ,  मृत्युदर।

अस्पतालमा सर्पोटिङ ट्रिटमेन्ट मात्रै

यसको कुनै निश्चित औषधि हुँदैन। हामीले लक्षण हेरेर सर्पोटिङ ट्रिटमेन्ट गर्ने र बिरामीलाई गम्भीर अवस्थामा पुग्न नदिने हो। बिरामीको ज्वरो घट्दै घटेन, गाह्रो भयो प्रेसर डाउन भयो भने हामीले अस्पतालमै राखेर उपचार गर्छाै। अवस्था सामान्य छ भने घर पनि पठाउन सकिन्छ। हामीले ब्हाइट ब्लड सेल बढाउन मल्टि भिटामिन दिने, रक्तस्राव अत्यधिक भएको देखियो भने सेतो रगत चढाउनेलगायत काम गर्छौं। जे–जे लक्षण देखिन्छ, त्यसैका आधारमा उपचार गर्ने हो।

यदी बिरामी सिबियर अवस्थामा पुगेको छैन भने ७ देखि १० दिनभित्र निको हुन्छ। सिबियरमा पुग्यो भने उसको रिकभरीका लागि कति समय लाग्छ भन्ने थाहा हुँदैन किनकी सिबियरमा पुगिसकेपछि अन्य अंगहरुमा पनि असर गरेको हुनसक्छ, त्यस्तो बेला बिरामीको अवस्था हेरेर थप चेकजाँच गर्दै उपचार गर्ने हो।

बच्न के गर्ने?

घर वरपर पानी जम्न नदिने, खाल्डा छन् भने पुरिहाल्ने गर्नुपर्छ। गमलाको पानी जम्नेबित्तिकै त्यसमा भएको प्लेट घोप्ट्याइ हाल्ने, झुलको प्रायेग गर्ने, आफ्नो घर वरपर सफा राख्ने, झाडी छ भने काट्ने , झाडीमा जानुपरे फूल स्लिभ भएको कपडा लगाएर जाने गर्नुपर्छ।

वर्कशपमा काम गर्नेले फुल स्लिभ लगाउनुपर्छ। छालामा एलर्जी नगर्ने मस्क्यिुटो रेपेलेन्ट (त्यसको गन्धले लामखुट्टे नआउने हुन्छ) लगाउनुपर्छ। 

डा सरोज गौडेलसँगको कुराकानीमा आधारित । कन्सल्ट्यान्ट फिजिसियन डा गौडेल एभरेस्ट अस्पतालमा आबद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.