|

काठमाडौं : काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । 

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो। संघका अध्यक्ष दिनेश श्रेष्ठले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरेका हुन्।

उनले बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा श्रेष्ठले महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारीको दुरुपयोग गर्न नहुने बताए।  अध्यक्ष श्रेष्ठले घरधनी र महानगर बीचको विवादको बीचमा व्यापारीलाई पारेर व्यवसायीलाई मेयरले पसलमा नै गएर धम्क्याउने काम गलत भएको बताए।

उनले कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार हुने भन्दै महानगरले व्यवसायीहरुको सम्पत्तिको रक्षा गर्नुको सट्टा तत्काल व्यवसाय बन्द गर्न लगाउनु न्याय संगत नभएको टिप्पणी गरे। अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको भन्दै काठमाडौं उद्योग वाणिज्य संघ व्यवसायीहरुको हकहितको रक्षाको लागि अगाडि बढ्ने बताए।

उनले महानगरले अवैध संरचना भत्काउने अधिकारको बिरोध नभएर मेयर साहले व्यवसायीहरूप्रति गरेको व्यवहारको बिरोध गरेको बताए। अध्यक्ष श्रेष्ठले महानगरले क्षती पु¥याएका व्यवसायीहरुलाई तत्काल क्षतिपूर्ति दिन माग गरे । उनले  पार्किङको लागि नक्सापास भए पनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप लगाए । 

उनले काठमाडौं महानगरपालिकाले व्यवसायीहरूबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती दिए।  

‘महानगरले अहिले यदि अन्डरग्राउण्डमा पार्किङ भनेर नक्सापास गरेको भए त्यसमा व्यवसायिक प्रयोजनका लागि चलायो भने घरधनीसँग कर उठाउने हो। त्यो कर उठाइरहेको छ। त्यो कर उठाएर नगरपालिकाले बैंकमा राखेर ब्याज खाइरहेको छ ।’ उनले भने, ‘१० अर्ब कर उठाएर राज्यले खर्च गर्न सकेन भने ब्याज खान पाइँदैन । बालेन्द्र साहलाई के भन्न चाहन्छु भने जनताको मेयर हो भने १० अर्ब उठाएको पैसा जनतालाई फिर्ता दिनुपर्छ ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.