|

बारा : म्याटमाथि खेल्ने खेलको अभ्यास धुलोमा हुँदा निक्कै समस्या हुन्छ। पाँचौं र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतिस्पर्धी बन्दा यसको तितो अनुभव बटुलेका छौँ हामीले। अहिलेको अभ्यास पनि उस्तै छ त्यसैले पनि”..... भन्दै असहज बनेकी ३१ वर्षीया एलिसा गोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने तयारीमा जुटेकी छिन्।

जसको लागि जिल्ला स्तरीय छनौटमा भाग लिन सिमराबाट गोलेसहित १८ जनाको समुह तयार गरिएको छ।  

बाराको सिमरा रंगशालामा हरेक दिन ७५ जना बालबालिकाको एउटा समुह कराँतेको अभ्यास गरिरहेको देखिन्छ। बिहान पाँच वजे देखि ७ बजेसम्म र साँझ ६ बजेदेखि ७ बजेसम्म रंगशालामा खेल अभ्यास गरी उनीहरू घर फर्कंदा धुलाम्मे हुन्छन्।

यहाँ प्रशिक्षण लिने खेलाडीले मासिक दुई सय रुपैंया बुझाउँछन्। त्यो रकम जिल्ला बाहिर प्रतिस्पर्धामा जाँदा आवश्यक खर्चको रुपमा प्रयोग हुन्छ। यहाँका मुख्य प्रशिक्षक गएको १९ वर्ष देखि निःशुल्क प्रशिक्षणमा जुटेका छन्। अवस्था अनुसारको व्यवस्था गर्दै निरन्तर अभ्यासमा जुटका यि खेलाडीहरूको स्वर्ण पदक जित्ने आशामा अभ्यास स्थल भने बाधक सावित बन्दै छ। 

सिमरामा कभर्ड हल नहुँदा दैनिक खेल अभ्यासमा जुट्नुपर्ने खेलाडीहरू समस्यामा परेका छन्। राष्ट्रिय स्तरको सिमरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरीने सिमरा रंगशालामा कभर्ड हल नबन्दा विशेषतः कराँते, तेक्वान्दो लगायतका इनडोर खेलका खेलाडीलाई समस्या भएको हो।

६ महिना पहिलेसम्म खुल्ला आकासमुनि अभ्यास गर्नेहरू अहिले प्याराफिट मुनी अभ्यास गर्छन्। मौसममा सामान्य फेरबदल आउनासाथ अभ्यास प्रभावित हुने समस्याबाट छुटकारा पाउन प्याराफिटको तल माटो भरेर खेल्न थालेको कराँते खेलाडी श्रीकृष्ण श्रेष्ठले बताए।

 सिमरा खानेपानी संस्थानले दिएको बिस हजारमा मुख्य प्रशिक्षकले व्यक्तिगत पचास हजार थपेर माटो भरेको उनले बताए।

सिमरा सितोरियो कराँतेका भोलेन्टियर कोच केयर सिंह कार्कीले शीतको चिसो, जुका, सर्पको डरबाट मुक्ति पाएको तर धुलोमा खेलाउने समस्याबाट छुटकारा पाउन नसक्दा प्रतिस्पर्धाका लागि सतप्रतिशतको तयारी गर्न नसकेको उनको गुनासो थियो।

'सधैँ धुलोमा अभ्यास गरेकोले म्याटको बानी नहुँदा ब्यालेन्स बिग्रिएर ८ महिना पहिले रौतहटमा आयोजित प्रदेश स्तरिय स्पारिंग फाइटमा चिप्लिएँ', उनले आफ्नै अनुभव सुनाए।  

कराँते, तेक्वान्दो, जुडो, कुस्ती जस्ता खेलहरू इन डोर खेलमा पर्छन। कभर्ड हलभित्र समथल जमिनमा म्याट बिछाएर खेल्नुपर्ने खेल, बाहिरी मैदान वा माटो मात्रै भरेको ठाउँमा खेल्नुपर्दा निकै असहज हुने गरेको बताउँछन् अर्का खेलाडी सक्षम पटेल।

'सेतो, सफा कपडा लगाएर खेल्न आयो, फर्किँदा माटै माटो हुन्छ। अनी मामुले कति फोहोर पारेको भनेर कराउनुहुन्छ', भन्दै दिक्क मान्छन् ६ वर्षीय स्वार्णीम घिमिरे।

त्यसो त कराँते खेल्दा प्रयोग गर्नुपर्ने सामग्री नभएको भने होइन। देश विदेशमा रहेका खेल प्रेमी साथीभाईको सहयोगमा किनिएको म्याट, डमी, किक प्याड, स्पिड व्याग लगायतका खेल सामग्रीहरू थन्काएर राखिएको छ।

'सुरक्षित खेल्ने र राख्ने ठाउँको अभावमा थन्क्याउन बाध्य छु। प्याराफिट तलको भाग घेर्न तथा भुईँ ढलान गर्न पाए खेलाडीले सामानका साथ खेल्न पाउँथे', भन्छन् नेपाल सितोरियो कराते संघ सिमराका मुख्य प्रशिक्षक सानु पटेल। 

वर्षेनी सिमरा गोल्डकपको आयोजना ताका निकै तामझाम देखिने बाराको सिमरा रंगशालामा मात्रै होइन उत्कृष्ट खेलाडी उत्पादनका लागि कोल्हवी, कलैया, सिम्रौनगढमा पनि कभर्ड हल बनेको छैनन्। निजगढ बाहेक अन्य स्थानमा कभर्ड हल नहुँदा इनडोर खेलका खेलाडीहरू कष्टपूर्ण तवरले अभ्यास गर्न बाध्य छन्।

संघीयता आएसँगै खेलकुद विकासको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको हुने व्यवस्था छ। राखेप अन्र्तगतको खेलकुद विकास समिति नाम मात्रको छ।

खेलकुद ऐन २०४८ खारेज भई २०७७ को विनियम बन्दै गरेको अवस्था तथा प्रदेशले स्पष्ट निती नबनाएको कारण पनि समिति अन्योलमा छ। यस्तोमा पालिकाले खेलकुदको विकासमा उल्लेखनीय कदम नचालेको देखे पनि नदेखे झैं बस्नुको विकल्प नभएको बताउँछन् जिल्ला खेलकुद विकास कार्यालय बाराका प्रमुख प्रदिप शर्मा।

राखेप मार्फत आउने रकम पनि पालिकामै आउने भएकाले खेलाडीलाई खेलको उपर्युक्त वातावरण बन्ने गरी पुर्वाधार निर्माण गर्न पालिका अग्रसर हुनुपर्ने शर्माको तर्क छ।

देशको पहिचानसँगै आत्मरक्षाका लागी अति महत्वपूर्ण यस्ता खेललाई अन्य खेल सरह प्राथमिकता नदिने गरेको मुख्य प्रशिक्षक सानु पटेलले गुनासो गरे। उनले वर्षेनी खेलकुदका लागि बजेट छुट्याइए पनि इनडोर खेलका लागि तोकिएर शीर्षक बजेट नआउँदा सो रकम अन्यत्र खर्च हुने गरेको तर्क गरे। सिमरा रंगशालाको छेउमा कभर्ड हल निर्माणका लागि डिपिआर गरेको वर्षौं बित्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन। हरेक वर्ष जस्तै आश्वासन मात्रै नदिएर यसवर्ष भने कमसे कम भएका खेल सामग्री राख्ने र नियमानुसार खेल्न सक्ने ठाउँ बनाइदिन जितपुरसिमरा उपमहानगरपालिकालाई पटेलले आग्रह गरे। 

यसबारे जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले खासै बोल्न रुचाएनन्। उनले भने 'मैले कुनै एक खेललाई मात्रै महत्व दिन मिल्दैन, चाँडै कुनै ठोस योजना बनाई काम गर्नेछु। इनडोर खेलको अभ्यास स्थल अनुमगन गरी न्यायोचित पुर्वाधार निर्माण गर्नेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.