|

दाङ :  बबई गाउँपालिका-१ सिमलकुनाका इन्द्र बहादुर राँगुमगरलाई 'रेलको बाटो' बोलको गीतको याद आइरहन्छ।

‘सिटामोलको अभावमा मर्नु पर्ने कोही,

चोट लागे पनि भोक लागे पनि बस्नु पर्ने रोइ,

खच्चर मेरा गाडी मोटर सँगै हिंड्ने भीरमा,  

नुनको भारी पिठ्युँमा, नाम्लो मेरो शिरमा’

यो गीत झैं यहाँका नागरिकले वर्षाैंदेखि यही समस्या भोग्दै आएका छन्। उनका अनुसार सिमलकुनामा ३ सय बढी घरपरिवार बस्दै आएका छन्।

तर, उनीहरूले वर्षमा बढीमा ६ महिना  मात्र सवारी साधन चढ्न पाउँछन्, भने बाँकी छ महिना घण्टौँ  हिँडेर आउनु पर्ने बाध्यता छ। सिमलकुनामा अहिलेसम्म विद्युत, सञ्चार, सडकको पहुँच नपुगेको उनको गुनासो छ।

उनले भने,‘देशमा धेरै परिवर्तन भए। तर, हाम्रो ठाउँ परिवर्तन भएको छैन्। हामी गाउँपालिका कार्यालय आउनको लागि मात्र ५/६ घण्टा हिँडेर आउनु पर्छ। सिंहदरबारको अधिकार गाउँगाउँमा आए पनि हामीले महसुस गर्न पाएका छैनौँ।’

उनका अनुसार बबई नदीमा पक्की पुल नहुँदा गाडीहरू हिउँद याममा मात्र चल्ने गरेका छन्। उनले गाउँमा खानेपानी, विद्युत्, स्वास्थ्य शिक्षा, सञ्चार लगायतको समस्या रहेको पनि बताए।

उनले गाउँमा निमाविसम्म मात्र विद्यालय रहेको र मावि पढ्नका लागि हापुरे आउनुपर्ने बाध्यता रहेको पनि बताए।  बबई गाउँपालिका दाङको पश्चिममा पर्ने भएयता पनि यस गाउँपालिकाका केही वडाहरू जुम्ला हुम्ला भन्दा विकट रहेका छन्।

उनका अनुसार जसले गर्दा नागरिकहरूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सुविधा पाउन समेत सकेका छैनन्। उनले स्थानीय सरकार आएपछि बाटोको ट्रयाक मात्र खोलेको र त्योबाहेक अरु कुनै विकासको अनुभव गर्न नपाएको बताए।

उनले भने,‘स्थानीय सरकारका नेताहरू गाउँ  कै भएकाले उनीहरु मात्र आउँछन्। तर, माथि केन्द्रका जितेर जानेहरू अहिलेसम्म कुनै फर्केर आएका छैनन्। भोट माग्ने बेला गाउँमा आएर विकासका आश्वासन दिएको कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्कादेखि अहिलेसम्म कुनै पनि नेताहरू जितेर गाउँमा हाम्रो अवस्था हेर्न  आएनन्। हामी दाङवासी भएयता पनि कर्णालीको विकट क्षेत्रको नागरिकजस्तो महसुस हुन्छ।’

उनका अनुसार गाउँमा कुनै बिरामी भए पनि की घोडामा की त भने, स्टेचर बनाएर हामीहरूलाई नै बोकेर हापुरेसम्म ल्याउनु पर्छ। सिटामोल ल्याउनको लागि पनि ३-४ घण्टा हिँडेर गँगटे जानुपर्ने बाध्यता छ।

 उनले गाउँमा माविसम्मको विद्यालय नहुँदा छोराछोरीलाई पढाउनका लागि हापुरे वा हंसपुर कोठा भाडा लिएर बसाल्नुपर्ने बाध्यता रहेको पनि उल्लेख गरे।

यस्तै उनले आरुलाई हापुरे बजार आउन लाग्ने समय र बाँके जिल्ला पुग्न एउटै समय लाग्ने पनि बताए। उनले  भने,‘हापुरे बजार आउनको लागि ४ घण्टा लाग्छ। बाँकेको सम्सेरगंजदेखि थोरै पश्चिम मुगुवा खोला जानको लागि पनि ४ घण्टा समय लाग्छ। ’

सोही ठाउँका ६० वर्षीय मंगलसिं बैजालीले पनि यस्तै समस्या भोग्दै आएको बताए। २०४६ सालमा बसाइ सरी सिमलकुना आएका बैजालीलाई अहिले पछुतो लागेको छ।

त्यो समयमा सल्यान विकट ठाउँ भएको हुँदा आफ्नो माइती पनि सिमलकुनामा भएप नि उनी बसाइँ सरी आएको बताए। उनले अहिले विकट भनेको सल्यानमा धेरै विकास भएको भन्दै राम्रो ठाउँ भनेर आएको ठाउँमा अहिलेसम्म कुनै विकास नहुँदा सल्यानबाट दाङ आएकोमा पछुतो लागेको पनि बताए।

‘म शुरुमा आउने बेला जस्तो थियो। अहिलेसम्म पनि उस्तै रहेको छ। अहिले सडकको ट्रयाक मात्र खोलिएको छ। त्यो भन्दा अरु कुनै विकास भएको छैन। हामी पनि यही देशका नागरिकहरु हौँ। देशमा धेरै परिवर्तन भयो। तर, हाम्रो ठाउँमा केही भएन्', उनले भने, 'सडक, सञ्चार, स्वास्थ्य जस्ता कुराहरु नहुँदा धेरैले अकाल मै ज्यान गुमाउन परेको छ। नेताहरू हामीसँग चुनावमा मात्र भोट माग्न आउँछन्। त्यसपछि देखा पर्दैनन्। अब हामीलाई जसले काम गरेर देखाउँछ। त्यसैलाई भोट दिने हो। हामीले यस्तो पीडा कहिलेसम्म भोग्ने ?’

उनले गाउँमा विद्युत नहुँदा सोलार बत्ति बाल्दै आएको र फोन गर्नको लागि पनि करिब १५-२० मिनेट हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको बताए।

सडक टेण्डरमा गइसक्यो, विद्युत लगायत अन्य कुरा पुर्‍याउने योजना छ :  गाउँपालिका

बबई गाउँपालिकाले भने  गाउँपालिका भित्र विद्युत नपुगेको  ठाउँमा विद्युत विस्तार गर्ने योजना रहेको जनाएको छ।

गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले गँगटे सडक निर्माणका लागि आफूहरु निर्वाचित हुनुभन्दा पहिले नै टेण्डरमा गइसकेको भन्दै उनले विविध कारणले ढिलाइ भइरहेको बताए।

उनले पुरन्धारा झरना  हुँदै गाडीहरू  त्यहाँ जाने भएयता पनि बबई नदीमा पुल नहुँदा वर्षायाममा समस्या हुने गरेको बताए।
उनले त्यहाँ पुलको लागि आफूहरुले बजेट माग गरिरहेको पनि उल्लेख गरे।

यस्तै, उनले सोही वडाको गंगटेमा स्वास्थ्य चौकी रहेको भएयता पनि मिमलकुनाका नागरिकहरूलाई त्यहाँ जान र हापुरे बजार आउन समय एउटै लाग्ने गरेको भन्दै विकट ठाउँ भएकाले समस्या भएको पनि बताए।

उनले भने,‘ठुलो वडा छ। त्यसमा पनि विकट हुँदा नागरिकको गुनासो सम्बोधन गर्न समय लाग्छ। एक वस्तीबाट अर्को बस्तीमा जानको लागि पनि बिचमा बबई नदी पर्छ। जसले गर्दा पनि समस्या भइरहेको छ। ’

उनले आफूले प्रमुख प्राथामिकतामा बबईका वडा-१ र ७ लगायत विकट वडाहरूमा सडक, खानेपानी, विद्युत, स्वास्थ्य सञ्चार जस्ता कुरा पुर्‍याउन प्राथमिकतामा  राखेको पनि बताए। उनले आफ्नो ५ वर्षीय कार्यकालमा ती ठाउँहरुमा यी सबै कुरा पुग्ने र त्यसको लागि आफूले काम गर्ने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.