सांसददेखि प्रहरीसम्मको तीज

|

विराटनगर : घरपरिवारको हेरचाह, चुलाचौकाको चारकुनामा बित्ने महिलाको दैनिकी पछिल्लो समय फराकिलो बन्दै गएको छ।

विगतका दिनमा नारीका वेदनाले भरिएका गीतका शब्द विस्तारै हराउँदै गएका छन्। समयसँगै आर्थिक एवं सामाजिक रूपमा नारी सशक्त हुँदै गएको पाइन्छ। घरपरिवारको जिम्मेवारीसँगै बाहिरी काम (कार्यालय, व्यापार बिजनेसमा) आफूलाई अगाडि बढाउँदै गर्दा धेरैजसो महिला आत्मनिर्भर बन्दै गएको छ। 

बाहिरी काममा महिला जोडिनेसँगै छोडिने पनि उत्तिकै पाइन्छ। अर्थात् घरपरिवार, बच्चालाई रेखदेख गर्ने समय निकाल्न गाह्रो हुँदा कतिपय महिला आफ्नो पेशाबाट पलायन भएको पनि पाइन्छ। यस्तै चुनौतीसँगै नेतृत्वदायी भूमिकामा पुगेका महिलाहरू तीजको विषयमा प्रश्न गर्दा उनीहरू तीज हिन्दु नारीको भन्दा पनि सम्पूर्ण नारीको साझा पर्व रहेको धारणा राख्छन्।

सांसद सरिता थापा
विगतका दिनभन्दा पछिल्लो समय तीज मनाउने शैली फराकिलो रहेको प्रदेश १ की प्रदेशसभा सदस्य सरिता थापा बताउँछिन्। आफूले बाल्यकालमा अनुभव गरेको तीज परिवार र घरभित्र रहेको बताउने उनी पछिल्लो समय संघसंस्थाले पनि तीजलाई महिलाको विशेष पर्वको रूपमा लिएर मनाइरहँदा यो पर्वले फराकिलो रूप लिएको उनको धारणा छ।

‘मैले बाल्यकालमा अनुभव गरेको तीज र अहिलेको तीजमा आकाशपाताल फरक छ, त्यो समय सञ्चारमाध्यम थिएन। त्यो हिसाबले परम्पराबाट मनाउँदै आएको तीज चेली र माइतीको सम्बन्ध रहेको पर्व हो,’ उनी भन्छिन्, ‘त्यो समय सानै उमेरमा विवाह गरिदिने चलन थियो, अहिले जस्तो यातायातको सुविधा थिएन, त्यो समयको संस्कार फरक थियो माइती जानआउन सकस हुने घरको स्वीकृति नहुने बर्खाको कामको चटारोलाई भुलाउँदै वर्षौंदेखि माइतीबाट टाढा रहेकी चेलीलाई माइती ल्याएर मिठो मसिनो खुवाउने चलन थियो।’

अहिले समयसँगै अवस्था बदलिएको उनको भनाइ छ।

व्रत बसेको दिन गीतको माध्यमबाट चेलीले अधिकारका कुरा उठाउने, महिलाहरूले स्वतन्त्र कुरा राख्ने भएकाले तीजका दिन महिलाहरूलाई शक्तिको रूपमा लिने र महिलाहरूलाई संगठित गरिने दिनका रूपमा मानिने तीज पछिल्लो समय मनाउने प्रचलन धेरै परिवर्तन भएको उनी बताउँछिन्। ०४६ सालसम्म  घरभित्रै मनाइने तीज प्रजातन्त्रको पुनःस्थापनापछि फराकिलो भएर बाहिर आएको उनी अनुभव सुनाउँछिन्।

तीज पर्व हिन्दु नारीको मात्र नभएर सम्पूर्ण महिलाहरूको साझा पर्वको रूपमा रहेको बताउने उनी पछिल्लो समय महिलाले मनाउँदै आएको तीजले महिलाहरूलाई एकता, क्षमता अभिवृद्धि गर्ने माध्यमको रूपमा लिएको बताउँछिन्।

उनी भन्छिन्, ‘तर देखासिकी गरेर पैसा उठाएर पाँचतारे होटल, पार्टी प्यालेसमा खर्चालु तरिकाले पार्टी गरेर मनाइने प्रचलन चाहिँ अलिक विकृतिको रूपमा लिन्छु।’ उनी आफू पार्टीको काममा व्यस्त रहने भएकाले आमासँग भन्दा पनि समयसँगै जहाँ पुगिन्छ, त्यही तीज मनाउने योजना रहेको बताउँछिन्।

बिनु तिम्सिना
हरेक पर्व देखासिकी भन्दा पनि संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने हिसाबले मनाउनुपर्नेमा सञ्चारकर्मी बिनु तिम्सिना जोड दिन्छिन्। नेपाल टेलिभिजनमा कार्यरत तिम्सिना विगतका दिनमा भन्दा पछिल्लो समय तीज मनाउने शैली फेरिएसँगै महिलालाई थप हौसला प्रदान गर्ने खालका विभिन्न कार्यक्रम आयोजना गरेर मनाए आगामी पुस्ताले त्यही संस्कार सिक्दै जाने उनी बताउँछिन्।

हिजो पीडामा परेका महिलाले तीजकै दिन स्वतन्त्र भएर आफ्ना वेदना पोख्ने प्रचलन रहे पनि पछिल्लो समयको महिलाहरू घरपरिवारको पीडा, हिंसा सहेर आफू भित्र गुम्सिएका पीडा त्यही दिन पोख्नुपर्छ भन्ने अवस्था नरहेको बताउने उनी भन्छिन्, ‘तीजको कार्यक्रममा भोलिका पुस्ताहरूले पनि सिक्ने खालका केही नयाँ ल्याउन सके संस्कार, संस्कृति पनि जोगिने र महिलाहरू एकमत हुने अवसरको रूपमा पनि यो पर्वलाई लिन सकिन्छ।’

उनी आफू यो वर्षको तीज भेटघाट, रमाइलो गर्दै घरपरिवारको साथमा रहेर तीज मनाउने योजना रहेको बताउँछिन्।

सपना राई
आफू आदिवासी समुदायमा जन्मेको भए पनि तीजलाई हिन्दु महिलाको भन्नुभन्दा सम्पूर्ण महिलाको विशेष पर्वको रूपमा लिने गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी सहायक निरीक्षक सपना राई बताउँछिन्। उनी आफू व्रत बस्ने नभए पनि यो पर्वलाई विशेष दिनका रूपमा लिने गरेको उनले बताइन्। उनले बाल्यकालमा देखेको, सुनेको र भोगेको तीज र पछिल्लो समयको तीज मनाउने शैलीमा व्यापक परिवर्तन आएको बताउँछिन्।

‘त्यो समयमा छोरीचेली लिन माइती आउँथे, वर्षमा एकदिन नयाँ लुगा लगाउने मिठोमसिनो खानेकुरा खाने चलन थियो’, उनी भन्छिन्, ‘अहिले फरक छ, यो समयसँगै फेरिएको शैली राम्रै लाग्छ कम्तिमा महिलाहरू सचेत छन्, आत्मनिर्भर छन्। हिजोको जस्तो परिवारको हिंसा सहेर आफ्ना भनाइ राख्न तीज कुर्न पर्दैन।’

भड्किलो देखासिकी र तामझाम गरेर कुनै पनि पर्व मनाउनु चाहिँ विकृति रहेको उनको तर्क छ। उनी आफू भने तीजको दिन पनि डिउटी हुने भएकाले व्रत नबसी समय मिलाएर पूजा गर्ने योजना रहेको बताउँछिन्।

सञ्जु राई
तीज पर्वलाई धार्मिक आस्थाभन्दा पनि महिलालाई ऐक्यबद्धता र शक्ति पोषण गर्ने पर्वको रूपमा लिने भएकाले यो पर्वलाई सकारात्मक रूपमा लिएर कार्यालयसँगै टोलमा पनि विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउँदै आइरहेको सौर्य बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सञ्जु राई बताउँछिन्।

आफ्नो कार्यालयमा महिलालाई प्राथमिकतामा राखेर महिलालाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने धारणा सहित रोजगारी दिँदै आएको बताउने उनी आफू आदिवासीकी छोरी मुस्लिम समुदायकी बुहारी भए पनि व्रत नबसे पनि विविध कार्यक्रम आयोजना गरेर हर्षोल्लासका साथ मनाउने गरेको उनी बताउँछिन्।

‘म व्रत बस्दिनँ, यो पर्व विशेष महिलाहरूको भएकाले पनि यसलाई म प्राथमिकतामा राखेर मनाउने गर्छु। कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँछौँ भने टोल छिमेकमा पनि म सरिक हुन्छु’, उनी भन्छिन्, ‘म अदिवासीकी छोरी, मुस्लिम समुदायकी बुहारी भए पनि धर्म, समुदायसँग जोडिएर भन्दा पनि समुदायमा सद्भाव जोगाउनुपर्छ भन्ने हिसाबले लिन्छु र मेरो घरपरिवारले यो विषयमा नकारात्मक धारणा उठाउनुहुन्न, सधैँ साथ दिनुहुन्छ।’

उनी थप्छिन्, ‘त्यसै पनि मेरो कार्यालय महिलालाई आत्मनिर्भर बनाउने हिसाबले महिला कर्मचारी धेरै हुनुहुन्छ।’

लिना थापा
पछिल्लो समय तीज मनाइने शैलीमा मौलिकता हराउँदै गएको विराट मेडिकल शिक्षण अस्पतालकी सञ्चार संयोजक लिना थापा बताउँछिन्। हरेक चाडपर्वको आफ्नै मौलिकता हुने र महत्त्व हुने भए पनि अहिले मनाइने तीज विशेष कार्यक्रममा पहिले जस्तो मौलिकता नभेटिने उनको तर्क छ।

‘तीजमा लगाइने शृंगारका सामानले नारीलाई आत्मविश्वास, सुन्दरता र शक्ति प्रदान गर्ने भन्ने मान्यता थियो’, उनी भन्छिन्, ‘तर अहिले एकदम प्रतिस्पर्धाको रूपमा लिँदै गएको छ। जुन एकदम नकारात्मक हो।’ चाडलाई चाडको रूपमा मनाउँदा राम्रो हुने उनी बताउँछिन्।

विगतका दिनमा दुई दिन तीज मनाइने प्रचलन रहेको एक दिन दर खाने भोलिपल्ट व्रत बस्ने र व्रतका दिन महिलाहरूले रमाइलो गर्ने चलन रहेको बताउने उनी समयसँगै यसलाई  परिष्कृत र परिवर्तन गर्दै लग्न बाध्य भएको उनी बताउँछिन्। पछिल्लो समयका महिलाहरू केही न केही रोजगारमा व्यस्त रहेकाले पनि हिजो दुई दिन मनाइने तीजलाई समयअनुकूल मनाउने प्रचलनको सुरुवात भएको उनी अनुभव सुनाउँछिन्।

‘मलाई लाग्छ, तीजमा आएको  विकृति भनेको हाम्रो बाध्यताले जन्माएको परिस्थिति हो तर यसो भन्दै गर्दा यो राम्रो भन्न खोजेको होइन। हामी सबै काममा व्यस्त भएका कारण घर कार्यालय आफू आबद्ध संघसंगठन‚ साथीसँगी सबैलाई समेट्नुपर्ने हुन्छ’, उनी भन्छिन्, ‘केही समय अगाडिदेखि तीज मनाउनु राम्रो हो तर देखासिकी गरी हौसिनु चाहिँ गलत हो।’

उनी आफू कामकाजी साथै गृहिणी भएकाले तीजको महत्त्वलाई ध्यानमा राखेर घरमा मनाउने योजना रहेको उनी बताउँछिन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.