|
फाइल फोटो

म्याग्दी :

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा।
तीजको लहर आयो बरिलै।

केही वर्षअघिसम्म हरितालिका तीजमा गाउँ, शहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिन्थे। तीजका यस्ता गीतमार्फत महिला सासुससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गर्थे।

अब त्यो समय रहेन। नेपाली नारीको महान चाड तीजको मौलिकपन दिनप्रतिदिन खस्किएको छ। पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो बढेको छ।

म्याग्दीको बेनी नगरपालिका २ की ७१ वर्षीया गोमादेवी उपाध्यायले विगतका दिनमा तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झिँदै भन्छिन्, ‘म सानो छँदा गाउघरमा मादलको तालमा सुखदु:ख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु। तर,आजभोलि तीजका गीत सुन्दा तीजका हुन् कि रत्यौलीका छुट्याउनै गाह्रो छ।’

विगतका दिनमा गाउघरमा साथी,दिदीबहिनी, फुपू, आमाजू, ठूलीआमा, सानीआमा सबै महिला एकै ठाउमा जम्मा भई सुखदु:खका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उनको भनाइ छ। सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झिँदै उनी भन्छिन्, ‘आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन। उच्छृंखल, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ।’

परम्परागत संस्कार र संस्कृति अनुसारको नेपाली मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन पुराना पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिढीका महिला पनि चिन्तित छन्। बेनी मंगलाघाटकी अमृतदेवी बानियाँ पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्छिन्। महिला अधिकारकर्मी रहेकी बानियाँ भन्छिन्, ‘तीज वर्षभरिको दु:खसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ।’

अर्की महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्य पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीहरुको भावनालाई ठेस पुर्‍याउने खालका उच्छृखंल गीत नियन्त्रण गर्नुपर्ने बताउँछिन्। ‘चाडपर्व, संस्कृति र पहिचान बचाई राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ’,उनले भनिन्।

मालिका ७ देविस्थानकी इन्द्रमती फगामी पनि तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउँछिन्। उनका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ।

‘तीज आउन एक महिना अघिदेखि गाउँघरतिर एकै ठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको त भोलि अर्को घरमा  नाचगान गरेर मनाउँथे’, फगामी भन्छिन्, ‘अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ। तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टीभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन्।’

त्यसैगरी डम्मराकी प्रिया कार्की पनि नेपाली नारीका लागि तीज पर्वको महत्त्व रहेको बताउँछिन्। तीज मनाउन महिलाहरूले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउने किसिमले मनाउनुपर्ने उनको तर्क छ। महिलाले तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने उनी बताउँछिन्।

उनले भनिन्, ‘आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन्। विगतमा महिलाहरुले भोग्नु परेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्थे। पछिल्लो समयमा नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ।’

ज्यामरुककोट बगरफाँटकी अम्बिका शर्मालाई आजभोलिका तीज गीत हाँसो ठट्यौली र रत्यौली खेलेजस्तो लाग्छ। परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबै लाग्नुपर्ने उनको भनाइ छ।

तीजमा विवाहिता महिला सौभाग्यसूचक वस्त्रमा सजिएर आफ्ना श्रीमान् तथा छोराछोरीको दीर्घायुको कामना गर्दै उपवास बस्छन्। अविवाहिता राम्रो श्रीमान् पाउने कामनासहित व्रत बस्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.