|

काठमाडौं : हरेक वर्ष तीजको अवसर पारेर सयौँ गीत बजारमा आउने गर्छन्। यस वर्ष पनि केही नयाँ र केही पुराना सर्जकहरूका तीज गीत बजारमा आए। जसमा केही गीत चले भने केही ओझेलमा परे। 

यहाँ युट्युब भ्युजका आधारमा यस वर्ष सबैभन्दा धेरै हेरिएका, सुनिएका शीर्ष ५ गीतका बारेमा उल्लेख गरिएको छ। 

झम झम झमकना

यस वर्ष सार्वजनिक भएकामध्ये सर्वाधिक हेरिएको तीज गीत हो 'झम झम झमकना'। बमबहादुर गाहा मगरको शब्द तथा भगीरथ चलाउनेको संगीत रहेको गीतमा संगीतकार चलाउने र सुनीता बुढा क्षेत्रीको आवाज रहेको छ। 

सार्वजनिक भएको झण्डै एक हप्ता युट्युब ट्रेण्डिङमा बसेको गीतलाई १ करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ। प्रकाश भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा संगीतकार तथा गायक चलाउने र गीता ढुंगानाको नृत्य तथा अभिनय रहेको छ। 

चरि जेलैमा २

गत वर्ष सर्वाधिक हेरिएको विष्णु माझीको 'चरी जेलैमा' काे दोस्रो भाग यस वर्ष सर्वाधिक हेरिएका गीतमा परेको छ। ७६ लाखभन्दा बढी पटक हेरिएको गीत पहिलेकै लयमा रहेको छ। 

पुतलीको भट्टी शृंखलाको १८ औँ संस्करणको रुपमा चरी जेलैमा सार्वजनिक भएको हो। सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा ललिता पौडेलको नृत्य रहेको छ। जसको निर्देशन पनि अधिकारीले नै गरेका हुन्। 

मै राम्रो छैन

पशुपति शर्माको शब्द तथा संगीत रहेको 'मै राम्रो छैन' बोलको गीतलाई युट्युबमा ७३ लाखभन्दा बढी पटक हेरिएको छ। पशुपति र सम्झना भण्डारीको स्वरमा रहेको गीत यस वर्ष सबैभन्दा धेरै हेरिएको गीतमध्येको एक हो। 

गायक गायिका पशुपति र सम्झनाको अभिनय पनि रहेको गीतमा चाहना राना मगर र शेखर घर्ती मगरको नृत्य रहेको छ। जसको निर्देशन पनि शेखरले गरेका हुन्। 

पाउमा पाउजु

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'राधा'को गीत 'पाउमा पाउजु' यस वर्ष सर्वाधिक हेरिएको अर्को गीत हो। सज्जा चौंलागाईं र स्वस्तिका ढकालको आवाज रहेको गीत ७० लाखभन्दा बढी पटक हेरिएको छ। 

सिर्जना खत्रीको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका हुन्। 


माझी दाइ

शान्ति श्री परियारको आवाजमा रहेको 'माझी दाइ' बोलको गीतलाई युट्युबमा ४६ लाखभन्दा बढी पटक हेरिएको छ। जुन यो वर्ष धेरै हेरिएको गीतमध्येको एक हो। 

नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको संगीत रहेको गीतको भिडियोमा सेन्चुरी र गीता ढुंगानाको अभिनय रहेको छ। जसको निर्देशन शिव विकेले गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.