|

पर्वत : बसमा यात्रा गर्ने क्रममा झोला साटिने, सामान बिर्सिने घटनाहरू बेला बेलामा भइरहेका हुन्छन्। विशेष त बसमा खचाखच यात्रु हुनु र झोला वा सामान राखिएका बोरा उस्तै हुनुले एक जनाको झोला अर्कै व्यक्तिले उठाइदिन्छन्।

पर्वतको पैयुँ गाउँपालिका–४ की यैङथोककी शीतल पंगेनीलाई पनि यस्तै परेको छ। उनी बुधवार बुटवलबाट आफ्नो घर पैयुँ गाउँपालिका आउँदै गर्दा स्याङ्जामा झरेर सवारी परिवर्तन गरिन्।

स्याङ्जाको वालिङबाट सवारी परिवर्तन गरेर पैयुँ गाउँपालिका आउनको लागि उनी बसबाट झर्न कठिन भयो। यात्रुले खचाखच भरिएको बसबाट उम्किएर तल झर्न शीतललाई कठिन भयो।

त्यही अप्ठ्यारोका बिचमा उनले रातो झोला लिएर बसबाट झरिन्। घरमा आइपुगेपछि छोरीलाई लुगा फेर्नको लागि भन्दै झोला खोलिन। झोला खोल्दा उनी आश्चर्यमा परिन। छोरी र आफ्ना लुगा लगायतका सामान राखेर बुटवलबाट लिएर हिँडेको झोलामा गाउँमा आइपुग्दा सुनका गहना भेटिए।

आफ्नो भनेर खोलेको झोलामा तिलहरी, सिक्री लगायतका गरगहना सहित अर्कै व्यक्तिका कपडा फेला परेपछि उनी झस्किन्।

‘म त एकाएक अचम्ममा परेँ। छोरीलाई कपडा फेरिदिन्छु भनेर झोला खोलेको त सुनका गहना भेटिए। झोला साटियो भन्ने त मलाई लागिहाल्यो। वालिङमा बासबाट झर्ने बेलामा नै झोला फरक परेको हो भन्ने यकिन भयो’, पंगेनीले भनिन्, ‘आफ्नो गहना सहितको झोला हराएको भनेर त्यसको धनी कति पीडामा पर्नुभएको होला। उहाँलाई कति पीडा भयो होला भनेर जतिसक्दो छिटो फिर्ता गर्नको लागि गाउँपालिकामा फोन गरेर सबै कुरा बताएपछि उहाँको खोजी भइरहेको छ।’

शीतलले बोकेर आएको झोलाको रङ रातो थियो। बसमा पनि उनकै झोलासँग मिल्ने झोला अर्का यात्रुको पनि भएपछि भिडभाडको बेलामा उनीहरूको झोला साटिएको थियो। आफ्नो कारणले अरू कसैको आँखामा आँसु देख्न नपरोस् भन्ने आफ्नो विचार रहेका कारण आफूले झोला फिर्ता गर्नको लागि झोला धनीको खोजी थालेको बताइन्।

गहना सहितको झोला फेला परेपछि शीतलले गाउँपालिका उपाध्यक्ष याम कुमारी रानालाई खबर गरेकी थिइन्। गाउँपालिका उपाध्यक्ष रानाले सामाजिक सञ्जालमा प्रचार गरेर उक्त सामग्री सम्बन्धित व्यक्ति सम्म पुर्‍याइदिन सवैमा अनुरोध गरेकी छिन्। उनका अनुसार पर्वतकै बेउलीबासकी एक युवतीले उक्त झोला आफ्नो भएको भन्दै सम्पर्कमा आएकी छिन्।

शीतलको झोला सुरक्षित साथ उपलब्ध गराउन र आफ्नो झोला भए नभएको यकिन गरेर झोला लैजान सक्ने भनी सम्पर्कमा आएकी युवतीसँग आफूले कुरा गरेको उपाध्यक्ष रानाले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.