|

काठमाडौं : पछिल्लो समय ललितपुरमा तीव्र गतिमा डेंगु संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरणअनुसार बिहीबारसम्म ललितपुरमा १४ सय जनामा डेंगु संक्रमण देखिएको छ।

महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हाल नेपालमा ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको भए पनि ललितपुर जिल्लामा सबैभन्दा धेरै रहेका छन्।

‘पछिल्लो समय ललितपुरमा डेंगु तीव्र गतिमा फैलिरहेको छ‚ स्थानीय तहहरूले संक्रमण नियन्त्रणका उपायहरू त अपनाइरहेका छन् तर संक्रमण बढिरहेको छ‚’ प्याकुरेलले भने।

तीव्र गतिमा संक्रमण फैलिएपछि सरकारले ललितपुर जिल्लालाई डेंगु महामारी क्षेत्र घोषणा गर्नेबारे पनि विज्ञहरूसँग छलफल भइरहेको प्याकुरेलले बताए। ‘ललितपुरको बढ्दो संक्रमण हेर्दा ललितपुरलाई डेंगु महामारी क्षेत्र घोषणा गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको छ‚’ उनले भने।

देशभर डेंगुका बिरामी ४ हजार

यो वर्ष हालसम्म देशभर ४ हजार जनामा डेंगु देखिएको समेत प्याकुरेलले बताए।

उनले भने‚ ‘यस वर्ष अहिलेसम्मको विवरणअनुसार देशभर ४ हजार जनामा डेंगु संक्रमण देखिएको छ, यो संख्या अझै बढ्न सक्छ।‘

७२ जिल्लामध्ये १० वटा जिल्लामा संक्रमण धेरै रहेको बताए। तीमध्ये हालसम्म ललितपुर‚ काठमाडौं‚ रूपन्देही‚ सिन्धुली‚ भक्तपुर लगायतका जिल्लामा संक्रमण बढ्दो रहेको उनले बताए।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरणअनुसार नेपालमा डेंगु देखिन थालेपछिका पछिल्ला वर्ष संक्रमण बढ्दै गएको छ।

महाशाखाको विवरण हेर्दा सन् २००६ ३२ जना, २००७ मा २७ जना, २००८ मा १० जना, २००९ मा ३० जना, २०१० मा ९ सय १७ जना, २०११ मा ९७ जना, १०१२ मा १ सय ८३ जना, २०१३ मा ६८६ जना, २०१४ मा ३५६ जना, २० सय १५ मा १३५ जना, २०१६ मा १५ सय २७ जना, २०१७ मा २१ सय ११ जना, २०१८ मा ८११ जना, २०१९ मा काठमाडौं उपत्यकासहित देशभर गरेर १९ हजारलाई डेंगु देखिएको थियो भने ६ जना संक्रमितको मृत्यु भएको थियो।

त्यतिखेर धरानबाट फैलिएको डेंगु देशभर फैलिएको थियो। त्यतिखेर धरानलाई महामारी क्षेत्र घोषणा गरिएको थियो।

उपत्यकामा डेंगु संक्रमण तीव्र गतिमा फैलिएपछि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शनिबार पनि ओपिडी सञ्चालन गरेर परीक्षण तथा उपचार गरेको थियो।

कोरोना महामारी भएका दुई वर्ष सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुबाट बिरामी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.