|

काठमाडाैं : आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट १२७ जना उम्मेदवार सिफारिस भएका छन्।

दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सदस्यतर्फ एक सय १३ जनालाई (प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीसमेत) सम्बन्धित कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको हो। 

निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा दुई र समानुपातिकतर्फ छ तथा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष र समानुपातिकतर्फ तीन-तीन जना उम्मेदवार सिफारिस भएका छन्। 

क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा रामशरण महतलाई सिफारिस गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठलेले जानकारी दिए। समानुपातिकतर्फ छ जनालाई सिफारिस गरिएको बताए। 

प्रत्यक्षमा  समेत नाम समावेश हुनुभएका डा रामशरणणलाई समानुपातिकतर्फ १ नं मा सिफारिस गरिएको छ। अन्य उम्मेदवारमा डा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन्।
 
यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) सहित राज्यलक्ष्मी पाँडे (श्रेष्ठ) र लालीमाया तामाङलाई सिफारिस गरिएको हो। 

केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीलाई समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति जगतबहादुर तामाङले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ केन्द्रीय सदस्य केसी सहित धुव्रप्रसाद अधिकारी र रुक्मिणी सेढाइँलाई सिफारिस गरिएको छ।

यसैगरी, निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यको लागि प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी, महेन्द्र थिङलगायत १३ जनालाई सिफारिस गरिएको छ। समानुपातिकतर्फ पार्टी सभापति रमेशकुमार महत, डा केदारनरसिंह केसीसहित ३० जनालाई सिफारिस गरिएको कार्यबाहक सभापति उपेन्द्र दाहालले जानकारी दिए।

प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति रमेशकुमार महत, जगदिश्वरनरसिंह केसी, अर्जुनप्रसाद न्यौपाने, वैकुण्ठ मिश्रसहित आठ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति रामजी पौडेलले जानकारी दिए। समानुपातिकतर्फ सभापति पौडेलसहित १५ जनाको नाम सिफारिस गरिएको छ।
 
यस्तै, निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘क’ बाट प्रत्यक्षतर्फ जगदिश्वरनरसिंह केसी, रमेशकुमार महतसहित २१ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति वैकुण्ठ पाण्डेले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ जिल्ला सचिव श्रीराम श्रेष्ठसहित १७ जनाको नाम सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ र राजकुमार भट्टराईलाई सिफारिस गरिएको प्रदेश सभापति गणेशमान तामाङले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ चोकराज शाक्य, सुरेन्द्रराज अधिकारीसहित ११ जनाको नाम सिफारिस गरिएको छ।

पार्टीको विधान र परिपत्रअनुसार प्रदेश उम्मेदवारको लागी सिफारिस गरिएका नाम प्रदेश कार्यसमितिले क्षेत्रीय कार्यसमितिमा पठाएको छ भने प्रदेशबाट आएको नामावलीमा क्षेत्रले केही संशोधन गरेर जिल्लामा पठाएको जनाएको छ।

यस्तै, प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागी क्षेत्रीय कार्यसमिति बैठकले सिफारिस गरेर जिल्ला कार्यसमितिलाई शुक्रबार बुझाएको हो। प्रदेश र क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारको नामावली जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर बागमती प्रदेश कार्यसमितिमा पठाउने जिल्ला सचिव वैकुण्ठ मिश्रले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.