|

गुल्मी :  गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको वियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखी यसै अलपत्र परेको हो।

तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौं बीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपैयाँ ११ पैसामा सम्झौता भएको थियो।

सम्झौता अनुसार सो निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्यसम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको थियो। अहिले सो सम्झौता भएको कार्यालय नै खारेज भएको छ भने तत्कालिन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको छ।

यता सो निर्माण कम्पनीका सम्पर्क ब्यक्ति सुरेन्द्र लम्सालले भुगोलका कारण समयमै काम सम्पन्न गर्न नसकेको बताए। भुगोलका कारण निर्माण सामग्रीहरू निर्माण स्थलसम्म लैजान पनि समस्या भएको बताउँदै  कालीगण्डकी नदिको वहाव बढने भएकाले वर्षको तीन महिना पनि काम गर्न नसकिएको उनको भनाइ छ।

पछिल्लो तोकिएको समय अवधिसम्म काम सक्ने गरी आफूहरूले योजना बनाएको उनको दाबी छ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी वीरेन्दप्रकाश तेलीले कालीगण्डकी पुलको निर्माण कार्यमा ढिलाइ भएको बताए।

तोकिएको समयमा कार्य सम्पन्न हुन नसक्नुको कारण केहो त भन्ने प्रश्नमा उनले कालीगण्डकी नदिमा पानीको वहाव बढी हुने र एक वर्षमा करिव तीन महिना मात्र काम गर्न सकिने भएकाले समयमै काम सम्पन्न गर्न नसकिएको उनको तर्क छ।

त्यसका साथै बीचमा कोभिड लगायतका समस्याले पनि निमार्ण कार्यमा ढिलाइ भएको तेलीको भनाइ छ।

सार्वजनिक खरिद नियमवालीको १२ संसोधन अनुसार २०८० साल असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले सो समय अवधिसम्म कार्य सम्पन्न गर्नका लागि कार्यालयको तर्फबाट हरदम प्रयास गर्ने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.