|

दोलखा : दोलखाको कालिन्चोक गाउँपालिका–५, का अध्यक्षले कार्यालयमा तालाबन्दी गरेर वडा सचिव निकालेका छन्। वडा अध्यक्ष सहदेव खड्काले वडा सचिव बन्दना मल्ललाई हाजिर नहुनु भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

वडा सचिव मल्ललाई निकाल्न वडा अध्यक्ष खड्काले नयाँ तालाचाबी किनेर कार्यालयमा तालाबन्दी गरेका थिए। ‘तपाई अब कार्यालयमा हाजिर नहुनु, आजदेखि नयाँ ताला लगाउँछु’, भन्दै उनले मल्ललाई वडा कार्यालयबाट निकालेको प्रत्यक्षदर्शीले बताए।

वडाबाट अपमानजनक रुपमा निकालिएपछि मल्लले वडा कार्यालयमा बसेर काम गर्नसक्ने अवस्था नरहेको भन्दै जिल्लाबाहिर सरुवाका लागि गाउँपालिकाबाट सहमतिसमेत लिइसकेकी थिइन्। तर, मल्ललाई अहिले गाउँपालिकाको कार्यालयमा तानिएको छ।

छलफलपछि गाउँपालिकाको कार्यालयमा बसेर काम गर्न मल्ल तयार भएको गाउँपालिका स्रोतले जनाएको छ। सचिव मल्लले कार्यालयमा काम गरिरहेको समयमा अध्यक्षले बिनाकारण कार्यालयमा नयाँ तालाचाबी लाग्ने भन्दै भोलिदेखि नआउनु भनेको बताईन्।

‘कारण खोज्दा पनि केही भन्नुभएन, भोलिदेखि कार्यालय नआउनु, चाबी अर्को कर्मचारीलाई दिनु भन्नुभयो, पछि कार्यालय जाँदा नयाँ ताला लगाएको देखेँ', उनले भनिन्।

मल्लले लोकसेवाबाट चौथो तहमा नाम निकालेर झण्डै तीन वर्षदेखि वडा सचिवको रुपमा काम गर्दै आएकी थिइन्। वडा अध्यक्ष खड्काको कार्यशैलीप्रति स्थानीय स्तरमा तीव्र असन्तुष्टि छ। सेवाग्राहीको काम छिटोछरितो ढंगले नगर्ने, वडाको बेथिति ढाकछोप गर्नेलगायतका आरोप उनीमाथि छ।

सोही वडा स्थित जिल्लाकै सबैभन्दा ठूलो रानीवन पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्षमा परेको करिब साँढे दुई करोड बजेटमा आधा नै काम नगरी भुक्तानी लिई अनियमितता भएको समाचार सार्वजनिक भैसकेको छ।

त्यसमा वडाअध्यक्षको समेत मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन्।

खड्का २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उठेर पराजित भएका थिए। गत स्थानीय निर्वाचनमा माओवादी केन्द्र प्रवेश गर्दै उनले गठबन्धनबाट वडा अध्यक्ष जितेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.