|

काठमाडौं : नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। बुधबारबाट सुरु भएको संघको नवौं चुनावी साधारण सभाको आज विहान सम्पन्न मतपरिणममा चन्द ७६ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन्।

पछिल्लो कार्यसमितिमा महासचिव रहेका चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई पराजित गरे। उनले कुल १ सय २८ मत खसेकोमा ५० मत प्राप्त गरिन्। 

अध्यक्ष चन्दसँगै महासचिव पदमा उनकै प्यानलका रोशन कुमार श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले ८५ मत ल्याउँदै ३९ मत प्राप्त गरेका मनवीर छन्त्याललाई पछि पारे। कोषाध्यक्ष पदमा चन्दकै निकट मानिएका श्यामकृष्ण श्रेष्ठ विजयी भए। उनले ७८ मतका साथ ४६ मत प्राप्त गरेकी रिता कोइरालालाई पराजित गरे।

उपाध्यक्ष पदमा याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए। बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा विजयी भए। उनले ६४ मत ल्याउँदै ५९ मत प्राप्त गरेकी ज्योति केसीलाई ५ मतले हराए।

उपाध्यक्षमा निर्विरोध भएको भनिएका भरतबहादुर शाह कर्णालीको नभएका कारण उनको उम्मेदवारी अन्तिम समयमा बदर भएको थियो। 

सचिवमा सोम बहादुर श्रेष्ठ (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूरपश्चि) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए। बागमतीका श्रीराम बोगटीले उम्मेदवारी फिर्ता लिएपछि माली निर्विरोध चुनिएकी थिइन्। सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झकबहादुर मिदुनले ७३ मत ल्याउँदै ३७ मत प्राप्त गरेका दीपक जिएमलाई पछि पारे। प्रदेश १ सचिवतर्फ विनोद सुवेदीले ६५ मतका साथ ४४ मत ल्याएका विश्वराज धिमाललाई पराजित गरे।

सदस्यमा अन्जु श्रेष्ठ ८५, चन्द्र वदना राई ७५, राज कुमार गुरुङ ७३, जुनु पुन मगर ७३, जितेन्द्र श्रेष्ठ ६९, गंगा थापा श्रेष्ठ ६८, कुमार राई ६७, राज बहादुर खड्का ५९, दीपक लामा ५८, प्रविण श्रेष्ठ ५६ र दिनेश श्रेष्ठ ५२ मतका साथ निर्वाचित भए । ११ सदस्यको लागि सदस्यमा २२ जनाको उम्मेदवारी परेको थियो । सदस्यमा रामा शंकर चौधरी ४९, जय कुमार श्रेष्ठ ३८, ईश्वर बहादुर शाही ३६, थर्क कुमार चोमवाङ ३५, अशोक काजी थापा ३४, योगेन्द्र सुवेदी ३१, सुदर्शन जमरकट्टेल ३०, राम बहादुर खड्का २८, बाँच बहादुर रावत २३, श्याम कुमार आचार्य २२ र छल कुमारी छन्त्याल १४ मत प्राप्त गरे। 

संघको निर्वाचनमा १ सय ३१ मतदातामा ३ जनाबाहेक सबैले मतदान गरेका थिए। १० पदाधिकारी मतदानअघि नै निर्विरोध निर्वाचित भएपछि सुरु भएको मतदानमा १ सय २८ जनाले मतदान गरेका थिए। 

४१ सदस्यीय कार्यसमितिमा १ अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र ११ सदस्य गरी २८ जना निर्वाचित हुनेछन्। बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.