|

बारा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेस बाराले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्ता अन्योलमा परेका छन्।

आन्तरिक द्वन्द्व र चरम गुटबन्दीमा अल्झिएको कांग्रेसभित्रको दुई गुटले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्तामा अन्योलग्रस्त भएका हुन्।

कांग्रेसको केन्द्रीय तहमा नेतृत्व गर्ने दुई सहमहामन्त्री फरमुल्लाह मंसुर र उमाकान्त चौधरी पक्षका जिल्लास्थित नेताले उम्मेदवारका लागि छुट्टाछुट्टै नामावली सिफारिस गरेका छन्।

गुटका कारण दुई समूहमा विभाजित जिल्लास्थित पदाधिकारीले जिल्ला कार्यसमितिको लेटर प्याडमा फरक–फरक नाम सिफारिस गर्दै आफूहरुले सिफारिस गरेको नामावली नै आधिकारीक रहेको दाबी समेत गरेका छन्।

केन्द्रीय तहमा सभापति शेरबहादुर देउवा पक्षमै रहेका सहमहामन्त्रीद्वयको समीकरण जिल्लामा भने फरक छ। मन्त्री चौधरी कृष्णप्रसाद सिटौला पक्षका हुन् भने पूर्वमन्त्री मंसुर देउवाको विश्वासिलो पात्र। 

केन्द्रीय सभापति देउवा निकटकै जिल्ला सभापति राजेश राय यादव सहमहामन्त्री मंसुरको विपक्षमा उभिँदा शेखर कोइराला निकट रहेका जिल्ला उपसभापति मनोज भट्टसहितका नेता मंसुरको पक्षमा देखिन्छन्। यसैगरी देउवा र कोइराला निकट रहेका जिल्लास्थित नेता अर्का सहमहामन्त्री चौधरीको पक्षमा छन्।

खानेपानी मन्त्री एवं बारा क्षेत्र नं. १ का सांसद समेत रहेका चौधरी पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सभापति यादवले हस्तारक्षर गरेका छन् भने मंसुर पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सचिवद्वय भैयाराम यादव र राजेश रौनियारले हस्तारक्षर गरेका छन्।

मंसुर पक्षका जिल्ला पदाधिकारीले भदौ १९ गते सिफारिस गरेका छन् भने र चौधरी पक्षका जिल्ला पदाधिकारीले भदौ २० गते विज्ञप्ती प्रकाशन गरी नामावली सार्वजनिक गरेका छन्। बारा क्षेत्र नं. १ मा मंसुर पक्षका पदाधिकारीले शम्भुबहादुर बुढाथोकी, विजयशंकर यादव र शैलेन्द्रकुमार फौजदारको नाम सिफारिस गर्दा चौधरी पक्षबाट मन्त्री चौधरीको नाम एकल सिफारिस गरिएको छ।

यसैगरी क्षेत्र नम्बर २ मा मंसुर पक्षबाट रामअयोध्याप्रसाद यादव र चौधरी पक्षबाट राधेचन्द्र यादवको नाम सिफारिस भएको छ। यस्तै क्षेत्र नं. ३ बाट पूर्वमन्त्री मंसुरको नाम दुवै पक्षबाट सिफारिस भएको छ। मंसुर पक्षका पदाधिकारीले गरेको सिफारिसमा मंसुरसहित रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिस भएको छ भने चौधरी पक्षबाट मन्सुरको मात्रै नाम सिफारिस गरिएको छ।

यसैगरी क्षेत्र नं. ४ मा मंसुर पक्षबाट लालबाबु सिंह भूमिहार, इच्छाबहादुर वाग्ले, कृष्णव्रत सिंह, कपिलदेव प्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस भएको छ भने चौधरी समूहबाट डा. शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबु सिंह भूमिहार, इच्छाबहादुर वाग्ले र राजेश्वर प्रसाद चौरसियाको नाम सिफारिस भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.