|

धनकुटा : विश्व मुटु दिवसको अवसरमा धनकुटामा 'रोड रेस' (खुल्ला सडक दौड) प्रतियोगिता हुने भएको छ। सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी संस्थाले असोज १३ गते खुल्ला दौड प्रतियोगिता गर्ने जनाएको हो।

करिब ३ लाख ५० हजार रुपैयाँको अनुमानित लगानीमा हुन गइरहेको सो दौड प्रतियोगितामा जो कोही नेपाली नागरिकले सहभागी हुन पाउने छन्।

असोज १३ गते हुने दौड प्रतियोगितामा सहभागी हुने खुल्ला धावकहरूले १५ किलोमिटर र महिला धावकहरूले ८ किलोमिटर दूरी पार गर्नुपर्ने छ। प्रतियोगितामा सहभागी हुन चाहने भदौ २८ गतेदेखि असोज १२ गतेसम्ममा ५ सय रुपैयाँ शुल्क तिरी नाम टिपाउन सक्ने पूर्व प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिए।

प्रतियोगितामा खुल्लातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही ३० हजार, २० हजार र १० हजार र चौथो र पाँचौलाई सान्त्वना दिइने आयोजकले जनाएको छ। यस्तै महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ।

यस्तै ४० वर्ष माथिको १ जनालाई प्रथम पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। पूर्व प्रहरी संस्था धनकुटाले गत वर्ष पनि खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो।

खुल्ला प्रतियोगितातर्फ कोशी राजमार्गस्थित धनकुटा नगरपालिका ९ रुद्रवारीबाट सुरु भई गुठिटार, पात्लेखोला, धनकुटा बसपार्क हुँदै भीमसेन थान, माथिल्लो कोप्चे तल्लो कोप्चे, कोशी ग्यास हुँदै मदनचोकमा पुगेर दौड समापन हुने जनाइएको छ।

यस्तै महिलातर्फ कोशी राजमार्गस्थित धनकुटा नगरपालिका ९ गुठिटारबाट सुरु भई पात्लेखोला, धनकुटा बसपार्क हुँदै भीमसेन थान, माथिल्लो कोप्चे तल्लो कोप्चे, कोशी ग्यास हुदैँ मदनचोकमा समापन हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.