|

सोलुखुम्बु : मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परिरहेका वेला सोलुखुम्बुमा भने फरक दृश्य देखिएको छ।

एकमात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा प्रतिनिधिसभाभन्दा प्रदेशसभाका उम्मेदवार छनोट गर्न दलहरूलाई कठिन परेको छ।

गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ। असन्तुष्टिका बाबजुद जिल्लाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल उम्मेदवारी सिफारिस गरिएको जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्वमन्त्रीसमेत रहेका उक्त पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसी सहित ८ जनाको नाम सिफारिस गरिएको छ।

प्रदेशसभा (क)को प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा (ख) मा ३ जनाको नाम प्रदेश समितिमा पठाइएको छ। यस्तै नेकपा एमाले सोलुखुम्बुले पनि प्रतिनिधिसभा सदस्यमा केन्द्रीय सदस्य मानवीर राईको एकल उम्मेदवारी सिफारिस गरेको छ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेको भए पनि कार्यसमितिले राईको एकल नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ २ जनाको नाम सिफारिस गरेको छ। प्रदेशसभाका दुवै क्षेत्रमा एमालेले सहमति जुटाउन सकेको छैन।

यसकारण प्रदेश निर्वाचन क्षेत्र कार्यसमितिबाट सिफारिस भईआएका नामलाई प्रदेश कार्यसमितिमा सिफारिस गरी पठाइएको एमालेले जनाएको छ।

मुख्य दलहरूमा प्रदेशसभातर्फ बढी र प्रतिनिधिसभातर्फ कम आकांक्षी देखिएका हुन्। प्रदेशसभा सदस्यको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बन्न सक्ने सम्भावना बढी हुने, टिकट सिफारिस गर्ने नेताहरूसँग पहुँच पुग्ने तथा निर्वाचित हुने आधार बढी हुने भएपछि प्रदेशसभातर्फ नेताहरूको आकर्षण देखिएको हो।

सोलुखुम्बुमा सत्तारुढ गठबन्धनको नेकपा (एकीकृत समाजवादी)ले पनि प्रतिनिधिसभाका लागि आङङिमा लामाको एकल उम्मेदवारी सिफारिस गरेको छ। एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा आठ स्थानीय तह र ५२ वडा रहेका छन्।

विसं २०७४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.