|

बारा : ‘मेयर साब! विश्वास गर्नुहोस्, हामीले उत्तरपुस्तिका जाँचेरै विद्यार्थीको प्राप्ताङ्क नगरपालिका पठाएका थियौं तर उत्तरपुस्तिका चैं झुक्किएर कबाडीमा बेचिएछ‚’ भन्दै थिए नमुना माध्यमिक विद्यालय बकुलियाका प्रधानाध्यापक किशोरीप्रसाद यादव।

सुटुक्क अनुगमनमा आएका मेयरले गत चैतमा सञ्चालित कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका मागेपछि विद्यालयको बेथिति लुकाउने प्रयासमा अनेक बहाना सुनाउँदै थिए।

बाराको जीतपुर-सिमरा उपमहानगरले विभिन्न विद्यालयको छड्के अनुगमन गरेको छ। विद्यालय शिक्षामा भएको बेथिति सुधार गर्न तथा विद्यालयलाई उत्तरदायी बनाउन छड्के अनुगमन गरेको उपमहानगर स्रोतले बताएको छ।

अनुगमनका क्रममा सरकारी विद्यालयहरूले उत्तरपुस्तिका परीक्षण नगरेर आफ्नै मनले अंक दिने गरेको तथा उत्तरपुस्तिकाको संरक्षणमा समेत लापरवाही गरेको पाइएको छ। नमुनाका रुपमा छनोट भएको नेपाल राष्ट्रिय नमुना मावि बकुलिया भवानीपुरले कक्षा ८ को परीक्षा सकिएको ६ महिना नबित्दै भूलवश उत्तरपुस्तिका कबाडीमा बेचेको भनेर लापरवाहीको पराकाष्ठा प्रस्तुत गरेको छ।

वडा नं. ९ स्थित नेपाल राष्ट्रिय मावि छातापिपराले उत्तरपुस्तिका जाँच नै नगरी अंक दिइएको पाइएको छ। सम्बन्धित विषय शिक्षकहरूले विद्यार्थीको आन्तरिक मूल्याकंन गरी अंक दिएर जाँच नगरेको अवस्थामा उत्तरपुस्तिका दराजमा राखेको भेटिएको हो।

नगर प्रमुख राजन पौडेल नेतृत्वको अनुगमन टोलीलाई विद्यालयका प्रधानाध्यापकले मनगढन्ते कारण दिँदै उत्तरपुस्तिका परीक्षण गर्ने अवस्था नरहेको सुनाए।

यी दुई विद्यालयमा अनुगमन गर्दा देखिएका कमीकमजोरीले शिक्षा क्षेत्रको विकृति छरपष्ट भएको बताउँछन् जीतपुर-सिमरा उपमहानगरपालिकाको शिक्षा शाखाका अधिकृत हरिष भट्ट।

‘म शिक्षकबाटै आएको हुनाले यस्ता धेरै बेथितिबारे जानकार छु। त्यसैले पनि सुधारका लागि अनुगमन लगायतका काम शुरु गरेका हौं‚’ उनले भने‚ ‘कक्षा ८ को भने नगरस्तरीय परीक्षा भएकाले नगरकै रोहवरमा परीक्षा सञ्चालन हुन्छ। विद्यालयमै सञ्चालन गरिएको परीक्षाको उत्तरपुस्तिका विद्यालयले परीक्षण गरी अंक मात्रै नगरमा पठाउने हो।’

विद्यालयले पठाउने सोही अंकलाई आधार मानेर लब्धाङ्कपत्र बनाउने उनले बताए। ‘उत्तरपुस्तिका परीक्षणपश्चात् कम्तिमा पनि ६ महिनासम्म विद्यालयले सुरक्षित राख्नुपर्नेमा उत्तरपुस्तिका जाँचै नगर्ने, गरे पनि लब्धाङ्कसँग फरक हुने तथा उत्तरपुस्तिकालाई कबाडमा बेच्ने ती दुई विद्यालयका प्रधानाध्यापकसहित शिक्षकहरूलाई तत्काल आवश्यक कारवाही गर्छौं‚’ भट्टले भने।

विद्यालयले आन्तरिक समस्या मिलाउन केही अंक थप गर्ने गरेको भए पनि आफ्नो विद्यालयमा उत्तरपुस्तिका परीक्षण भएको तथा त्यो सुरक्षित राखिएको दाबी गर्छन् नेपाल राष्ट्रिय मावि डुमरवानाका प्रधानाध्यापक अक्षयकुमार चौधरी।

थाहाखबरसँगको कुराकानीमा उनले भने‚ ‘विद्यार्थी संख्या बढाउन तथा विद्यार्थीको मनोबल कमजोर नहोस् भन्नका लागि आवश्यक अंक थपेको हुनाले उत्तरपुस्तिकाको अंक र लब्धाङ्कपत्रमा फरक हुन सक्ला तर उत्तरपुस्तिका परीक्षण र त्यसलाई सुरक्षित राख्नमा हामी चुकेका छैनौं।’

यो नगरका कतिपय सरकारी विद्यालयहरूले विद्यार्थीको अवस्था सुधारका लागि आवश्यक पहल गर्नुको सट्टा बहानाबाजी गर्दै मन लागेजति अंक थपेर विद्यार्थीलाई पास गराउने गरेको पाइएको छ।

गत २०७८ मा भने कोरोनाको त्रासले विद्यालय नियमित नचलेको कारणले अंक तलमाथि गर्नुपरेको बताउँछन् नेपाल राष्ट्रिय आधारभूत विद्यालय डुमरवानाका प्रधानाध्यापक दिनेश पराजुली।

उनी भन्छन्‚ ‘महामारीको कारण आगामी दिनमा राम्रो गर्ने आशले गर्दा पनि अलि अलि अंक थप्नुपर्ने बाध्यता थियो यो पटक। अन्य कक्षाका उत्तरपुस्तिका परीक्षणपश्चात् अभिभावकलाई पठाएको तर कक्षा ८ को विद्यालयमै सुरक्षित छ।’

यता नेपाल राष्ट्रिय नमुना मावि सिमराका प्रधानाध्यापक शंकर आचार्यले भने गुणस्तरीयता दिनुपर्ने तर रिजल्टमा मनोपोली गर्न नहुने बताउँदै आफ्नो विद्यालयमा त्यस्तो नभएको बताए।

एकातिर उत्तरपुस्तिका परीक्षण नभएको भनि अनुगमन टोलीबाट समाचार बाहिरिनु र अर्कातिर ती विद्यालयका कक्षा ८ का विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएको नतिजासहितको लब्धांकपत्र नगरपालिकाबाटै वितरण हुनुले नगरस्तरीय परीक्षाको वैधानिकतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ।

कक्षा ८ लगायत अन्य कक्षाको लब्धांकपत्र सम्बन्धित विद्यालयमार्फत विद्यार्थीको हात हातमा पुगेर उपल्लो कक्षामा अध्ययन गरिरहेको अवस्थामा उत्तरपुस्तिका परीक्षण नै नभएको विषय बाहिरिनुले समग्र नगरकै शिक्षाको बेथिति झल्किएको छ।

होम सेन्टर हुनु, उत्तरपुस्तिका परीक्षणको जिम्मा सम्बन्धित शिक्षकलाई दिनु, परीक्षण भएका उत्तरपुस्तिकाको सम्परीक्षण नहुनु, नगरस्तरीय परीक्षा समितिमा शिक्षक, विषय विज्ञको उपस्थिति न्यून हुनु जस्ता कमजोरी हुनुले नगरले औपचारिकताका लागि मात्रै नगरस्तरीय परीक्षा लिने गरेको गुनासो सत्यको नजिक भएको देखिन्छ।

नगरको शैक्षिक स्तर सुधार गर्न अबका दिनमा बलियो परीक्षा समिति निर्माण गरी समयमै अनुगमन, अन्तरविद्यालय उत्तरपुस्तिका परीक्षणको व्यवस्था, विषय विशेषज्ञ छनोट र समावेश, विज्ञ टोलीसँग परीक्षा तयारी छलफल, विषयगत नतिजा विश्लेषण, उत्कृष्ट विद्यालय र शिक्षक सम्मान जस्ता कुराहरू नगरले गर्नुपर्ने आवश्यकताबारे सामाजिक सञ्जालमा बहस शुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.