|

सल्यान : विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको एक विद्यालय बन्द गरिएको छ। जिल्लाको बनगाड कुपिण्डे–४ मा रहेको त्रिभुवन जनता माविका ११ विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो।

विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएपछि ९८ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा ११ विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक गुमानसिंह विष्टले जानकारी दिए। संक्रमित सबै विद्यार्थीको अवस्था सामान्य रहेको उनको भनाइ छ।

परीक्षा सञ्चालन भइरहेका वेला विद्यार्थीमा कोरोना पुष्टि भएपछि सम्पूर्ण परीक्षा स्थगित गरिएको विष्टको भनाइ छ। अन्य विद्यार्थीमा पनि कोराना संक्रमण नफैलियोस् भनेर पाँच दिनका लागि विद्यालय बन्द गरिएको विष्टले बताए।

केही समयअघि बनगाड कुपिण्डे नगरपालिका–१२ मा रहेको सिद्धेश्वरी माविका २९ र त्रिवेणी गाउँपालिका–५ सिम्कस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना पोजेटिभ देखिएको थियो।

गाउँघरमा कोरोनाको लक्षणसँग मिल्ने धेरै विरामी भए पनि पछिल्लो समय कोरोनालाई सामान्य रोगका रूपमा लिन थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.