|

म्याग्दी : बेनीकी महिला उद्यमी हरिदेवी सिउथानी घरको काम सकेर सधैँ बेनी नगरपालिका–२, हाडेभिरस्थित साझा सुविधा भवनमा जाने गर्थिन्। घरको कामबाट बचेको समयमा सिउथानीसँगै उद्यमीहरूले उक्त स्थानमा गएर अल्लो र ढाका बुन्थे।

सीप र जाँगर भएपछि महिलाको लोभलाग्दो आम्दानीको माध्यम बनेको भवन विगत दुई वर्षदेखि बन्द छ। बेनीबजार तथा आसपासका क्षेत्रमा खपत हुने राँगा र भैंसीको मासुका लागि केन्द्र नजिकै पशु बधशालामा जथाभावी पशुबध गरिँदा दुर्गन्ध फैलिन थालेपछि महिला उद्यमी जान पाएका छैनन्।

दैनिकजसो ढाका र अल्लोका विभिन्न उत्पादन खरिद गर्न जाने, नियमित तालिम लिन तथा व्यावसायिक उद्यमीलाई सामान्य मापदण्ड समेत नअपनाई बधशाला सञ्चालन गरिँदा त्यहाँ पुग्दा नाक थुन्नुपर्ने अवस्था भएको छ। उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने नगरपालिकाले महिला उद्यमीको पटक–पटकको अनुरोध र अवलोकनको क्रममा देखिएको समस्यालाई समेत टुलुटुलु हेरेर बस्न बाध्य छ।

बधशालामा राँगा तथा भैसी काटेपछि निस्कने हाड, छाला, लादीको व्यवस्थापन नहुँदा समस्या भएको भन्दै उद्यमीले प्रश्न गर्दा नगरपालिकाले निर्माण गरेको पूर्वाधारसँगै नियमित कर तिर्ने गरेको भन्दै उल्टै प्रतिवाद गर्ने गरेको राष्ट्रिय लघु उद्यमी महासंघकी केन्द्रीय उपाध्यक्ष दिलु घतानेले बताइन्।

‘बधस्थलले उद्यमी नै विस्थापित हुनुपरेको छ, प्रदेशमै नमुना रहेको साझा घरमा अहिले पाइला टेक्ने अवस्था छैन’, उनले भनिन्। महिला उद्यमीको कमाउने र अवलोकन गर्ने केन्द्र बधस्थलले उठिबास बनाउँदा समेत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो गरेकी छन्। जिल्ला लघु उद्यमी संघकी अध्यक्ष नेकसरा पुनले बधस्थल सञ्चालकले पाखाभरी दुर्गन्ध फैलिने गरी फालिएकाले केन्द्रमा रहेका सामान निकाल्ने वेला समेत नाक थुन्नुपर्ने अवस्था रहेको बताइन्।

‘देशैभरबाट म्याग्दीका उद्यमीले उत्पादन गरेको अवलोकन गर्न आउने केन्द्र नै बन्द भएको छ। नयाँ उद्यमीलाई तालिम, अनुभव आदानप्रदान समेत रोकिएको छ’, अध्यक्ष पुनले भनिन्। उनका अनुसार बधस्थल सञ्चालनपूर्व केन्द्रमा दैनिक अल्लोका १० जना, कटन ब्यागको १२ जना र ढाकाको १६ जना उद्यमीले उत्पादन गर्ने गरेको अवस्थामा अहिले केहीले आमा समूह र अधिकांशले कोठाबाटै बिक्री गर्ने गरेको बताइन्।

तत्कालीन समयमा व्यवस्थापिका–संसद्, महिला उद्यमशीलता विकास उपसमितिका संयोजक छाया शर्माको नेतृत्वमा पाँच सांसद र उद्योग मन्त्रालयका अधिकारीको टोलीले महिला उद्यमीले सञ्चालन गरेको उद्योगको अध्ययन गरेर उत्साहित हुँदै फर्किएको बताइन्। पशु बधशालामा वेलावेला नगरपालिकाका जनप्रतिनिधि सहित जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गर्दा बधशाला मापदण्ड विपरीत भएको भन्दै सुधार गर्न निर्देशन दिए पनि अटेर गर्ने गरिएको छ।

महिला उद्यमीको गुनासोसँगै बेनी नगरपालिका–७ का वडाध्यक्ष एवम् नगरका प्रवक्ता रमेशकुमार श्रेष्ठ, वडा नं २ का अध्यक्ष यामबहादुर कार्कीले पटक–पटकको निर्देशनमा अटेर गरेको बताउँदै तत्काल बधका लागि ल्याइएका भैंसी हटाउन र सरसफाइ गर्न निर्देशन दिएका थिए। उनले महिला सक्षम भए घरपरिवार समाज नै समृद्ध हुने भएकाले पनि रोजगारी सिर्जना, गरिबीको अन्त्यका लागि वडाभित्रका महिलालाई समेत केन्द्रको आवश्यकता रहेको बताए। 

‘यहाँबाट बधस्थल हटाउने प्रक्रियामा छौँ। अराजक शैलीमा नियमित सञ्चालन गर्ने प्रयास गरे डोजरले भत्काएर फाल्छौँ’, वडा नं २ का अध्यक्ष कार्कीले भने। उनले बधस्थल आफ्नो वडामा पर्ने भएकाले यहाँ रहेको उद्यमीका लागि समेत तालिम सञ्चालन गर्ने योजना रहेको बताए।

बधस्थलमा पशुबधमा संलग्न मासु व्यवसायीले भने मापदण्डमा ध्यान दिने र तत्काल यहाँबाट विस्थापित हुने अवस्था नभएको बताएका छन्। महिला उद्यमीलाई विस्थापित गरी मापदण्ड विपरीतको बधस्थल सञ्चालनमा वडाले अनुमति नदिने समेत प्रष्ट पारे।

यसैबीच बधस्थलले मंगलाघाट आसपासमा दुर्गन्ध फैलिने गरेको लिखित गुनासो वडा कार्यालयमा प्राप्त भएकाले अबको कार्यपालिका बैठकमा प्रस्तुत गरिने वडाध्यक्ष श्रेष्ठको भनाइ छ। स्थानीय सीप, स्रोत र साधनमा आधारित साना उद्योग स्थापनापूर्व महिला उद्यमीले तालिम लिने केन्द्र नै बन्द भएपछि अहिले घरमै पुगेर तालिम दिँदा प्रभावकारी नभएको उद्यमीको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.