‘अब शिक्षा मन्त्रालयले यसको समीक्षा गर्नुपर्छ’

|

काठमाडौं : शिक्षक त्यो हो जसले विद्यार्थीहरूलाई जीवनोपयोगी ज्ञान, योग्यता वा सद्‌गुण प्रदान गर्छ। विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग गर्छ। पछिल्लो समय तिनै शिक्षकहरू कमजोर बन्दै गएको नतिजाले देखाएको छ। यसले नेपालको शिक्षा परिपाटी कहाँ र कस्तो अवस्थामा पुगेको छ भन्ने प्रश्न खडा भएको छ।

शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा बुधबार सार्वजनिक गरेको छ। आयोगले गत साउन २८ गते परीक्षा लिएको थियो। आयोगका अनुसार १८.२६ प्रतिशतले मात्रै उत्तीर्ण भएका छन्। जम्मा एक लाख ८१ हजार ५६९ जना परीक्षामा सहभागी भएकोमा ३३ हजार १५८ जना मात्रै पास भए।

यति मात्रै होइन‚ पछिल्लो समय यहाँ विषयगत शिक्षकहरूको अभाव हुन थालेको छ। आवश्यकतानुसार शिक्षकहरू पास हुन सकेका छैनन्। शिक्षक सेवा आयोगले गत असार ९ गते अंग्रेजी विषयको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषय गत) परीक्षा नतिजा भदौ २२ गते प्रकाशित गर्‍याे।

नतिजाअनुसार प्रदेश १ बाट ८० जनाको मागमा ३३६ जनाले परीक्षा दिए तर १०४ जनाले मात्रै लिखित परीक्षामा नाम निकाले। मधेश प्रदेशका लागि २२ जनाको माग थियो। ४८ जनाले परीक्षा दिए‚ २९ जनाको मात्रै अन्तर्वार्तामा नाम निस्कियो। बागमती प्रदेशमा ६६ जना अंग्रेजी विषय शिक्षकको मागमा २३९ जनाले परीक्षा दिए।७५ जनाले मात्रै अन्तर्वार्तामा नाम निकाले। गण्डकी प्रदेशमा ६१ जनाको मागमा २७८ जनाले परीक्षा दिए‚ ७३ जनाले मात्र नाम निकाले। त्यसैगरी लुम्बिनी प्रदेशमा ३८ जनाको माग भएकोमा १७७ जना परीक्षामा सम्मिलित भएकोमा ४७ जनाले अन्तर्वार्तामा नाम निकाले।

कर्णाली प्रदेशमा २० जना अंग्रेजी शिक्षकको माग थियो। ४२ जनाले परीक्षा दिएकोमा १७ जनाले मात्रै अन्तर्वार्तामा नाम निकाले। त्यसैगरी सुदूरपश्चिम प्रदेशमा २७ जनाको शिक्षक मागमा १२९ जना परीक्षामा सम्मिलित थिए। २८ जनाले अन्तर्वार्तामा नाम निकाले।

शिक्षक सेवा आयोगले गत असार ९ गते लिएको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको अर्थशास्त्र विषयमा प्रदेशमा १ मा २ जनाको माग थियो तर एकजना मात्रै लिखित परीक्षामा पास भए। आयोगले गत असार ९ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा मधेश प्रदेशमा गणित शिक्षकको माग १७ जना थियो तर लिखित परीक्षामा १५ जनामात्रै उत्तीर्ण भए।

अनि एसइई र कक्षा १२ को नतिजा पनि खस्कियो 

विद्यार्थीलाई पढाइमा कुन तहको उचाइसम्म पुर्‍याउने भन्ने ठूलो हात शिक्षककै हुन्छ। शिक्षकहरू कमजोर भएपछि विद्यार्थीको नतिजा नखस्किने त कुरै भएन। विद्यार्थीहरूको नतिजा पनि खस्किँदै गएको छ।

राष्ट्रिय परीक्षा बोर्डले भदौ १७ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेअनुसार नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए। तीमध्ये १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थीले नन ग्रेड ल्याएका छन्।

त्यसैगरी गत साउन ११ गते बोर्डले ०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्‍यो। बोर्डका अनुसार चार लाख ९५ हजार ७५१ परीक्षार्थीले एसइई परीक्षा दिएका थिए। ९ हजार ६३३ जनाले मात्रै ३.६ देखि ४ सम्मको जिपिए ल्याए। अघिल्ला वर्षहरू भन्दा नतिजा खस्किएको विज्ञहरू बताउँछन्। 

किन शिक्षक कमजोर भए ? 

शिक्षक सेवा आयोगका उपसचिव एवं सूचना अधिकारी सुदर्शन मरहट्ठा शिक्षकहरूको नतिजा खस्किँदै गएकाले अब सोच्नुपर्ने वेला आएको बताउँछन्। उनी भन्छन्, ‘प्रश्नहरू पनि अप्ठ्यारो सोधिएको थिएन। विषय विज्ञहरूले नै परीक्षार्थीको उत्तरपुस्तिका जाँचेका छन्। कुनै पनि गलत मनसाय लिएर अंक दिइएको पनि छैन तर हिजोकै नतिजाले कस्तो शिक्षा दिइयो र लियौँ भन्ने सोच्नुपर्ने वेला निम्त्याएको छ।’

उनी किन शिक्षकहरू पछिल्लो समय फेल हुँदै गए भन्ने विषयलाई विभिन्न कोणबाट लिन्छन्। ‘हाम्रो विश्वविद्यालयले कस्तो दक्ष जनशक्ति उत्पादन गर्‍यो?, यहाँकै पढाइको स्तर कस्तो छ?, पठनपाठन क्रियाकलाप नै कमजोर छ कि वा विद्यार्थीहरूले बुझ्न नसकेको हो?, त्यो सोच्नु नै पर्छ’‚ उनले भने।

उनका अनुसार प्रश्नपत्र निर्माण, यहाँकै पाठ्यक्रम, विश्वविद्यालयको कोर्सभित्रै रहेर निर्माण गरिएको हो। उनले भने, ‘शिक्षक भनेको हिजो फटाफट भइन्थ्यो, प्रतिस्पर्धा हुँदैनथ्यो, फ्याट्ट नाम निस्कन्थ्यो भनेर कम पो तयारी गरेर फेल भएका हुन पनि सक्छन्। सबै कन्टेन्ट कोर्समा भए पनि विश्वविद्यालयमा शिक्षकहरू नपढेको हो कि वा प्रश्नसँग व्याख्य गर्ने लगायत विधिमा संयोजन गर्न नसकेको हो कि।’ 

उनले पछिल्लो समय गणित, विज्ञान, नेपाली लगायतका मुख्य विषयका शिक्षक पाउनै मुस्किल परेको बताए। ‘विज्ञापन खुलाए पनि यी विषयमा परीक्षार्थी पास गर्न सकेका छैनन्’‚ उनले भने।  

शिक्षक बन्छु भन्नेमा तागत पुगेन : विद्यानाथ

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला शिक्षक बन्न रहर गरे पनि त्यो गुण र दक्षता नभएकै कारण शिक्षकहरू परीक्षामा फेल भएको बताउँछन्। ‘म शिक्षक बन्छु भने तर तागत नपुर्‍याउने, शिक्षक बन्न न्यूनतम कुरा हुनुपर्छ’, उनले भने।

उनका अनुसार पछिल्लो समय ग्रेडिङ प्रणाली लागू गरियो। यो लागू भएपछि नजानेका वा योग्य नपुगेकालाई माथिल्लो तहमा पठायो। ‘नीतिगत कुराको पनि धेरै कमजोरी छ। यसलाई सरकारले बेलैमा सुधार गरेर लानु आवश्यक छ’, उनले भने।

उनले यहाँका शिक्षकलाई अरू देशको जस्तै बहुविषयक बनाउनुपर्ने बताए । ‘अरू देशमा जस्तै एक शिक्षकलाई अरू विषय पनि पढाउन दिनुपर्छ’‚ उनले भने, ‘यसो गरे शिक्षक अभाव हुन्न, केही शिक्षक कमजोर पनि छन्। केही ठाउँमा राम्रो गरौँ भन्ने शिक्षक पनि छन्, त्यसलाई परिचालन गर्न सरकारले जानेको छैन।’

उनले अहिलेका शिक्षकहरूको अवस्था फेरबदल गर्न आवश्यक रहेको बताए। ‘पहिला जस्तो पढौँ त्यस्तै गरी पढायौँ भनेर शिक्षकहरू भन्छन्। नयाँ कुरा कसरी पढाउने भन्ने कसैले सिकाएनन् भन्छन्। अब यस्ता कुरामा केन्द्रित हुनुपर्छ’‚ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.