|

काठमाडौं : गत साउन महिनामा रेमिट्यान्समा सुधार आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भएको हो।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई रु ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २८६ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ६९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो।

शोधनान्तर स्थिति अर्थात् देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर २२ अर्ब ६३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ।

गत साउन मसान्तसम्म नेपाल सरकारसँग २ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ नगद मौज्दात छ। असार मसान्तमा रकम मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.