|

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन्।

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उल्लंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो।

बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरेर पहिलोचोटि संविधान उल्लंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरि संविधान उल्लंघन गरेको भन्दै आपत्ति जनाए।

दोस्रोपटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व-राष्ट्रपति यादवले पटकपटक दोहोर्‍याए।

उनले बेलायत, भारत, अमेरिका लगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली जनतालाई सजग भएर लाग्न पनि आग्रह गरे।

उनले भने,  ‘आज गणतान्त्रिक कालमा प्रधानमन्त्रीबाट २-२ चोटि सदन भंग भयो । र, त्यसलाई हटाउन दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, यही मिडिया र सम्पूर्ण नेपाली जनताको प्रयासले संविधान ट्रयाकमा ल्याउने काम भएको थियो । आज दुई वटै सदनबाट पास भएर विधेयक गएको थियो। त्यसलाई सम्माननीय राष्ट्रपतिजीले त्यो संस्थाको मर्यादा, त्यो संस्थाको गरिमा, त्यो संस्थाको कर्तव्य बुझेर उहाँले काम गर्नुपर्ने थियो। तर, आज उहाँले संविधानको उलंघन फेरी गर्नु भएको छ । संविधान फेरी एकचोटी उलंघन भएको छ।

अब त्यसो हुन नदिन नेपाली जनता सजग हुनुपर्दछ । त्यसले गर्दाखेरी म भन्न चाहन्छु । धेरै भन्न चाहन्न कि संविधान फेरी उलंघन भएको छ । २÷२ चोटी लोअर हाउस र अपर हाउसबाट पास भएर सम्माननीय राष्ट्रपतिबाट पहिलो चोटी सन्देशसहित फर्काउने काम भयो । तर, दोस्रो चोटी फर्काउन मिल्ने अवस्था नै थिएन । उहाँले बेलायतको परम्परा हुर्नुपर्ने, भारतको परम्परा हेर्नुपर्ने, अमेरिकाको परम्परा हेर्नुपर्ने, विद्वान संविधानविद्, कानुनविद्हरुसँग छलफल गर्नुपर्ने र त्यस अनुसार मनन् गरेर त्यो विधेयक प्रमाणिकरण गर्नुपर्ने थियो । तर, आज फेरी नेपालको लोकतन्त्रमा एउटा कालो बादल मडारिएको  छ । म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु–यो संविधानलाई बचाएर लैजानु पर्दछ । यसो गर्न सकिएन भने हामी फेरी प्रतिगमनमा जान्छौं।’

पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरित प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए।

उनले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरि मुलुकमा प्रतिगमन हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.