|

बारा : मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपालकै पहिलो खुल्ला चिडियाखानाको निर्माण कार्य सुरु भएको छ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्साको वीरगन्ज महानगरपालिका ३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राणी उद्यान चिडियाघरको बिहीबार शिलान्यास गरेका हुन्।

सो अवसरमा मन्त्री यादवले वन क्षेत्रको जग्गा चाहे जति उपलब्ध हुने यो स्थानमा नेपालकै पहिलो खुल्ला चिडियाखाना बनाउन आफू लागिपरेको बताए। पर्साको सबैया साझेदारी वन क्षेत्रमा चिडियाखाना बनेसँगै मधेश प्रदेश र तराई क्षेत्रकै पर्यटन विकासमा टेवा पुग्ने उनको विश्वास छ।

देशको मुख्य राजश्व प्रदायक बारा–पर्सामा विकासको गति सुस्त भएको प्रसंग जोड्दै चिडियाखानको निर्माणसँगै यस क्षेत्रको विकासले फड्को मार्ने मन्त्री यादवले ठोकुवा गरे।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले बहुबर्षीय कार्ययोजना बनाई बजेटको अभाव हुन नदिने गरी वन्यजन्तु अस्पताल सहितको चिडियाखाना निर्माणमा तिब्रता दिनेमा विभागको ध्यान रहेको बताए। यसैगरी प्रकृति संरक्षण कोषका महानिर्देशक शरदचन्द्र अधिकारीले लामो समयपछि बन्न लागेको चिडियाखानालाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

यस चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको छ। जसमा ३९.४ हेक्टरमा घाँस बुट्यान, ७.५ हेक्टरमा सघन वन र ३.१ हेक्टर अतिक्रमित क्षेत्र छ। अतिक्रमित क्षेत्रमा कच्ची र पक्की संरचना गरेर ४० वटाजति घर टहरा छन्।

उष्ण सालयुक्त वन यो क्षेत्रमा साल, कर्मा, अस्ना छ भने घुमन्ते बाघ समेत देखिने गर्छ भने चित्तल, अरायो, दुम्सी, वन विरालो, पुडके बँदेल, चौका, सुगा, मैना, गरुड, सारस, पनि पाइन्छ।

त्यस्तै, घस्रने जनावरमा कोब्रा, अण्डा खाने र मुसा खाने सर्प पनि देखिने गरेको स्थानीय बताउँछन्। सिमरा विमानस्थलबाट प्रस्तावित क्षेत्र ४ किलोमिटरको दुरीमा पर्छ।

पानीको निरन्तर आपूर्तिका लागि सदाबहार बग्ने पूर्वमा कियासुत र पश्चिममा भेडाहा नदी रहेको छ।

१ अर्ब १ करोड ७ लाख लाग्ने

यो चिडियाखाना निर्माणका लागि १ अर्ब १ करोड ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अनुमान अध्ययन प्रतिवेदनका अनुसार विस्तृत परामर्श तथा सर्वेक्षण, क्षेत्र निर्धारणमा १५ लाख, अतिक्रमण व्यवस्थापनमा ६ करोड, गुरुयोजना तयार गर्ने लगायतका लागि ७५ लाख, पूर्वाधारका लागि डिपिआर तयार गर्न ५ करोड, ३.१५ किलोमिटर कम्पाउण्ड वाल र तारबार गर्न ५ करोड ६७ लाख, प्रशासनिक भवन, पूर्वाधार सुविधाहरुका लागि २० करोड, वन्यजन्तुका लागि इन्क्लोजर तथा पूर्वाधारहरु बनाउन ३५ करोड खर्च लाग्ने छ।

त्यसैगरी, फोहोरमैला व्यवस्थापन लागि पूर्वाधार तथा सुविधाका लागि २ करोड,  पशु स्वास्थ्य सेवा, प्रजनन र अनुसन्धान सुविधा स्थापना गर्न १५ करोड, सुरक्षाका लागि १ करोड,  वन्यजन्तुको संकलन, प्रदर्शनी र व्यवस्थापनका लागि ५ करोड, आगन्तुकहरुको सुविधा विकास गर्न २ करोड ५० लाख, सञ्चालन जनशक्तिका लागि वार्षिक २ करोड ५० लाख र भैपरी आउने खर्च ५० लाख लाग्ने अनुमान अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययन कार्यदल

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशमा प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको थियो। त्यसअघी मन्त्रालयले साउन ४ गतेको निर्णय अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक अजय कार्की संयोजक रहेको ८ सदस्यीय स्थलगत अध्ययन कार्यदल गठन गरेको थियो।

कार्यदलले प्रस्तावित क्षेत्रमा सरोकारवालासँग छलफल, राजय सुझाव संकलन, सन्दर्भ सामाग्रीहरुको अध्ययन तथा स्थलगत रुपमा तथ्यांक संकलन गरेको थियो।

सबैया साझेदारी वन क्षेत्र भित्र पर्ने साथै पर्सा राष्ट्रिय निकुञ्जको सिमानादेखि ६ किलोमिटर र मध्यवर्ती क्षेत्र देखि ३०० मिटरको दूरीमा प्रस्तावित क्षेत्र पर्छ। प्रस्तावित क्षेत्र समथर भू–भाग रहेको, सहज पहुँच भएको, पानीको स्रोत रहेको, विद्युतको पहुच पनि भएको बताउँदै कार्यदलले ३.१ हेक्टर जमिनमा विद्यमान अतिक्रमण हटाई सबैया साझेदारीसँग जोडिएको क्षेत्रमा तारबार लगाएर चिडियाखाना स्थापना गर्दा उपयुक्त हुने निष्कर्ष सहितको प्रतिवेदन कार्यदलले मन्त्रालयलाई पेश गरेको थियो।

निकुञ्ज सिमनादेखि नजिक रहेको र वन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले चिडियाखाना स्थापना गर्दा प्राकृतिक चिडियाखानाको साथसाथै वन्यजन्तु उद्दार केन्द्र, वन्यजन्तु प्रजनन केन्द्र, वन्यजन्तु अस्पतालका लागि आवश्यक पूर्वाधार, जुओनोटिक रोगहरुको संक्रमणको उचित रोकथाम, पर्यटन व्यवस्थापन तथा विपद नक्सांकन समेतलाई ध्यानमा राख्न आवश्यक रहेको कार्यदलको सुझाव छ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा साउन ६ गते बसेको अध्ययन कार्यदल, सबैया साझेदारी वन व्यवस्थापन समूह र सरोकारवालाको बैठकले चार किल्ला सहितको नक्सांकन गर्नुको साथै अन्य तथ्यांक संकलन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.