|

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ।

जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर प्रतियोगिता जिल्लामा गर्न लागिएको कराँतेको प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात ओटा टोली, विभागीय अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तथा एनआरएनको एक टोली गरेर ११ टोलीका खेलाडीहरू पर्वतमा भिड्ने छन्।

एउटा टोलीमा ३२ जना खेलाडीका दरले कुल तीन सय ५२ जना, एक टोलीमा दुई जना कोच र दुई जना व्यवस्थापक गरेर चार जनाका दरले कुल ४४ जना, देश तथा देश बाहिरबाट आउने निर्णायकहरू ७५ जना, व्यवस्थापनको लागि स्थानीयबाट लिइने २५ जना सहित प्रबिधिक र अन्य जनशक्ति सहित करिब छ सय जनाको सहभागिता रहने छ।

यही असोजको २८ गतेदेखि कार्त्तितकको दुई गतेसम्म गरी पाँच दिनमा खेलहरू सम्पन्न गरी तयारी गरिएको नेपाल कराँते महासङ्घ नेपालका अध्यक्ष दावा गुरुङले बताए।

प्रति खेलाडीले प्रति दिन दुई हजार रुपैयाँका दरले भत्ता पाउने र आउँदा जाँदा भएको खर्च पनि दिने गरी व्यवस्थापन गरिएको उनको भनाई छ। ‘हामीले पाँच दिनमा कराँतेको संस्करण पूरा गर्ने गरी तयारी गरिरहेका छौँ। खासमा त खेलहरू तीन दिनमा नै पूरा हुन्छन्।

खेलको अगाडि र पछाडिको दिन पनि खेल दिनमा समावेश हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘नेपाललाई चिनाउने काम पुर्खाले गरेकोमा अबको नेपाललाई चिनाउने काम कराँतेले गर्ने छ। विश्वका विभिन्न देशमा बेला बेलामा भइरहने प्रतियोगिताहरूमा कराँते खेलले सबैभन्दा बढी पदक ल्याएको छ।’

पर्वत जिल्लाका कराँते संयोजक राम श्रेष्ठका अनुसार खेलको तयारी स्वरूप अहिले कुश्माको बडागाउँ स्थित सेमी कभर्ड हलमा कराँतेको प्रतिस्पर्धा हुने छ। अहिले खेल हुने स्थान आसपासको व्यवस्थापन गर्ने, सरसफाइ गर्ने लगायतका कामहरू भइरहेका उनले बताए।

‘हामीले यहाँबाट आफ्नो तयारीहरू गरिरहेका छौँ। कराँते खेलका लागि स्पटको व्यवस्थापनको लागि आवश्यकता अनुसार ईञ्जिनियरको टोली पनि आउने छ,’ संयोजक श्रेष्ठले भने, ‘हामीले खेललाई सफल पार्न, खेलाडीहरूलाई कम्तीमा पनि पर्वतको मायाको चिनो दिन, लगायतका कुरामा सघाउन स्थानीय तहहरूसँग कुराकानी पनि गरिरहेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.