|

म्याग्दी : मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेलले चोयाका पोशाक बनाएर जीविकोपार्जन गर्दै आएका छन्। 

पर्तेलले दुई वर्षयता जंगलबाट निगालो ल्याई त्यसबाट चोया निकालेर टोपी, कोट, इस्टकोट, पाइन्ट, जुत्ता, झोला, मनिब्याग लगायत पोशाक बनाउँछन्। यसरी बनाएका पोशाक बिक्री गर्छन्। यसका लागि उनी ती पोशाक आफैँ लगाएर गाउँघर तथा शहरबजार पुग्छन्। 

‘मेरो आम्दानीको स्रोत भनेकै यही कला हो। मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु’, उनी भन्छन्, ‘यही पोशाक लगाएर म हिँड्ने गर्छु। यसबाट हुने आम्दानीले नै मेरो गुजारा चलेको छ।’

बिहान उठेर नजिकको जंगलमा गई निगालो ल्याउने, चोया निकाल्ने र पोशाक तथा कृषि सामग्री बुनेर दिन बिताउने पर्तेलले चोयाका पोशाक बेचेर दुई वर्षमा एक लाख ७० हजार भन्दा बढी आम्दानी गर्छन्। त्यसका अतिरिक्त चोयाका पोशाक लगाएर गाउँघर र शहर बजार जाँदा यस्तो पोशाक लगाएको देखेर मानिस खुसी भई केही रुपैयाँ समेत दिने गरेका र अहिलेसम्म त्यसरी ६० हजार भन्दा बढी कमाएको उनी बताउँछन्।​

हिजोआज गाउँघरका युवायुवतीले पर्तेलको चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने गर्छन्। यसरी कपडा लगाएवापत १०० रुपैयाँ पर्तेललाई दिने गरेका छन् । ‘अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्’, उनी भन्छन्, ‘केटाकेटीले मेरा पोशाक लगाएर फोटो खिच्छन्। टिकटक बनाउँछन्। बदलामा मलाई पैसा दिने गरेका छन्।’

पर्तेलले पोशाकका अतिरिक्त चोयाबाट डोका, नाम्ला, भकारी, थुन्से लगायत घरायसी कृषि सामग्री पनि बनाउने गरेका छन्। यस्ता सामग्री गाउँघरमा फाट्टफुट्ट बिक्री हुने गरे पनि यो पेशा व्यावसायिक नभएकाले पोशाक बनाएर प्रर्दशन तथा बिक्री  गर्न थालेको उनी बताउँछन्।

‘चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ’, पर्तेल भन्छन्, ‘यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाको अवस्थालाई पनि सम्झाउँछ।’ सरकारी निकायले सहयोग गरे अझ राम्रा हस्तकलाका सामग्री बनाउन सक्ने उनी बताउँछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.