|

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन्। गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरी चौकीका लागि स्थानीयले जमीन दान गरेका डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए।

गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शय्याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरी चौकी भवन निर्माणका लागि ५ रोपनी जग्गा दान गरेका हुन्।

स्थानीय हर्कबहादुर धामी, खडक धामी, वीरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामीलगायत २१ जनाले जमीन दान गरेका हुन्।

जमीन दान गर्नेलाई सोमबार गाउँपालिकाका तर्फबाट सम्मानसमेत गरिएको छ। गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायतको उपस्थितिमा भएको कार्यक्रममा जग्गादाताहरूलाई सम्मान गरिएको हो।

स्थानीयले जमीन दान गरेपछि गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरी चौकीको भवन निर्माण गरिने जनाएको छ। यसअघि यहाँ भवन नहुँदा समस्या भइरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.