|

जुम्ला : जुम्लामा बालबालिकाको अधिकारका लागि साझा अभियान चलाइने भएको छ। बालबालिकाका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाले अभियान चलाउन लागेका हुन्। यस्ता सबै गैरसरकारी संस्था एकजुट भएर बालविवाह न्यूनीकरण,  बाल हिंसालगायतका सवाल उठाउने भएका छन्।

लामो समय बालबालिका तथा सामाजिक क्षेत्रमा काम गरिरहेका संस्थाहरुले बालविवाह न्यूनीकरणका लागि सहकार्य गर्न लुज फोरमको गठनसमेत गरेका छन्।

जसमा जुम्लामा कार्यरत संस्था पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाइटी, सिएमसी र सांग्रिला एसोसिएशनलगायत संस्थाले बालविवाहविरुद्ध साझा अभियान शुरु गरेको पेस नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले बताए।

उनले भने, ‘कर्णाली प्रदेशमा कार्यरत विभिन्न २५ संस्थाहरुको भेलाले थालिएको अभियान जिल्ला जिल्लामा पुगेको छ।’ 

जुम्लामा बालविवाह न्यूनीकरणका लागि ती संस्थाले स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्ने जनाएका छन्।

कर्णालीमा बालविवाहविरुद्धको साझा अभियानको नेतृत्व आवाज नामक संस्थाले गरेको छ। अभियानका संयोजक चेतन गिरीका अनुसार बालविवाह कर्णालीमा बढी नै भएको तर यसको तथ्यांक भने छैन।

सरकारले नीति तथा कार्यक्रममा जोड दिनका लागि यसका लागि बेग्लै रणनीति निर्माण गर्न आवश्यक छ। जुम्लाका ४ स्थानीय तहमा रणनीतिक योजना बन्दै गरेको अवस्था छ। 

जिल्लामा साझा अभियानमा सहभागी संस्थाहरूको बैठक बसेको छ। बैठकमा अभियानको उद्देश्य, काम र कार्यक्रमका विषयमा छलफल भएको संयोजक संस्था पेस नेपालका कार्यक्रम अधिकृत भट्टले जानकारी दिए। उनका अनुसार मंगलबार चन्दननाथ नगरपालिकामा सो सम्बन्धमा भेटघाट भएको छ।

नगरपालिकामा नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्कासहित जनप्रतिनिधिहरु सँग बालविवाह विषयमा समन्वयात्मक बैठक भएको छ।

अभियानले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिकामा नमूना काम गर्ने भएको छ। संघ संस्थाहरूले अभियानमा संचार क्षेत्रलाई समेत जोडेका छन्। संजालमा नेपाल पत्रकार महासंघलाई जोडिएको र नागरिक समाजलाई समेत जोडिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.