|

विराटनगर : परीक्षा हलका सबै डेस्क बेन्च युवा पुस्ताले भरिएका थिए। तिनै युवा परीक्षार्थीको भीडमा अलि पाका देखिने परीक्षार्थी पनि परीक्षा दिन दत्तचित्त भएर लागि परेका थिए।

हजारौँ युवा प्रतिस्पर्धीको हुलमा सफलता पाउन पाकाहरूलाई त्यति सहज नहुन सक्छ तर पनि चुनौतीको त्यो भीडबाट सफलताको प्रमाणपत्र हात पार्ने दाउमा म्यादी प्रहरीको लिखित परीक्षा दिइरहेका थिए ५२ वर्षीय दुर्गाप्रसाद दुलाल। उनी रहरले भन्दा पनि बाध्यताले परीक्षाको मैदानमा उत्रिएको बताउँछन्।

विराटनगर दुर्गाचोकका उनले घरको आर्थिक अवस्थामा केही राहत मिल्छ भन्ने आशले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएको बताए। उनले भने, ‘केही कुरा रहरले भन्दा पनि बाध्यताले हुने रहेछ, आज परीक्षा दिएको छु हेरौँ के हुन्छ।’

म्यादी प्रहरीको परीक्षा पास भए देशको सेवा पनि गर्न पाइने र आर्थिक रुपमा थोरबहुत टेवा पुग्ने उनी बताउँछन्।

रतुवामाइ नगरपालिकाका ४८ वर्षीय दलसिंह विष्टको पनि बाध्यता र भनाई दुलालकै जस्तो छ। उनी रहरले भन्दा पनि परिवारप्रति जिम्मेवारीको गहकिलो भारी बिसाउन केही राहत मिल्छ भनेर  म्यादी प्रहरीमा भर्ती हुने सोचले परीक्षा दिन आएको बताउँछन्।

‘परिवारको जिम्मेवारी छ काँधमा त्यसको लागि आर्थिक भार उत्तिकै छ,’ उनी भन्छन्, ‘सबै कुरा रहरले कहाँ मिल्छ कुनै कुनै बाध्यताले पनि डोर्‍याउने रहेछ।’ परीक्षा कस्तो गर्नुभयो त? भन्ने प्रश्नमा दुवैजनाले एकै स्वरमा भने, ‘हाम्रो लागि राम्रै गरेका हौँ, अब हेरौँ नतिजा आएपछि थाहा हुन्छ।’

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा एवम् प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै पछिल्लो समय म्यादीमा युवाको आकर्षण बढेको छ। 

त्यसो त जागिरबाट अवकाश पाएकासँगै रोजगारविहीनहरूका लागि पनि म्यादी प्रहरी अवसर बनेको छ। म्यादी प्रहरीका लागि ३६ सय १६ जनाको कोटामा ३ हजार २६६ जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए।

‘जम्मा ३६ सय १६ जनाको कोटा थियो, त्यसमा ५ हजार ८७० जनाले फर्म भर्नु भएको थियो,’ उनले भने, ‘फम भरेकामध्ये ३२ सय ६६ जनाले लिखित परीक्षा दिएका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.