|

धनगढी : जब दशैं तिहार आउँछ, गाउँमा चहलपहल बढ्छ र शहर सुनसान हुन्छ। शहरका घरहरूमा मानिस हुँदैनन्, खाली हुन्छन्। गाउँमा पनि मेला हुने भएकाले घरमा कोही हुँदैनन्। यस्तै समयमा चोरी तथा लुटपाटका घटना हुने गर्छन्।

मेलामा झैझगडा हुने तथा अन्य आपराधिक क्रियाकलापको जोखिम हुन्छ। दशैं तिहारमा हुने सम्भावित यस्तै आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए।

‘प्रदेशभर ४ हजारभन्दा बढी प्रहरी परिचालन भएका छन्। आवश्यक परे थप परिचालन हुन्छन्‚ आपराधिक घटना न्यूनीकरण गर्न हामी तयार छौं,’ उनले भने।

प्रदेशको राजधानीसमेत रहेको जिल्ला कैलालीमा पनि स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटना न्यून गर्न विशेष सुरक्षा योजना लागू गरेको छ। दशैं तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको दाबी गरिएको छ।

स्थानीय प्रशासनले नागरिकलाई ढुक्कसँग दशैं मनाउन आग्रह गर्दै सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जनाएको छ। दशैं तिहारको समयमा प्रहरीको गस्ती बढाइएको छ भने सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ।

शहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेस्क र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

‘जिल्लामा एक हजारभन्दा बढी प्रहरी परिचालन भएका छन्। ढुक्कसँग दशैं मनाउन हाम्रो आग्रह छ। नागरिक पनि सचेत हुनुपर्छ,’ उनले भने।

चाडपर्वको समयमा जथाभावी रुपमा सवारीसाधन चलाउने र तीव्र गतिमा गाडी हाँक्नेलाई कारबाहीको दायरामा ल्याउनेछ। प्रदेशवासीलाई भयरहित वातावरणमा दशैं मनाउन आग्रहसहित प्रदेशभरि ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो।

दशैंको अवधिमा आर्थिक संकटका कारण हुनसक्ने अपराधका घटना मद्देनजर गर्दै प्रहरी परिचालन गरिएको हो। दशैं, तिहार, छठजस्ता चाडपर्व लक्षित सुरक्षा योजनामा चोरी, तस्करी, सडक दुर्घटनालगायत घटना हुन नदिन प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नियमित ड्युटीसँगै रिजर्व फोर्स पनि परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.