|

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारबाट ह्यान्डबलका खेलहरू सुरु हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् प्राविधिक उपसमिति र नेपाल ह्यान्डबल सङ्घले जारी गरेको खेल तालिकाअनुसार पुरुषतर्फ गण्डकी प्रदेश र मधेस प्रदेशबीच उद्घाटन खेल बिहान ८ बजेका लागि राखिएको छ।

आठौँ राष्ट्रिय खेलकुदमा राखिएको ह्यान्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक र नेपाली सेनाले कास्य पदक जितेको थियो।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत २० औँ राष्ट्रिय पुरुष तथा ११ औँ महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको खेल तालिकाअनुसार पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र नेपाली सेना रहेका छन् भने समूह ‘बी’ मा सशस्त्र प्रहरीको एपीएफ क्लब, लुम्बिनी प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेश रहेका छन्।

यस्तै महिलातर्फ समूह ‘ए’ मा एपीएफ, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ नेपाली सेना, प्रदेश नं १, बागमती प्रदेश, मधेस प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

नेपाल ह्यान्डबल सङ्घका महासचिव सन्देश रेग्मीका अनुसार पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबार महिलातर्फका तीन र पुरुषतर्फका पाँच वटा गरी कूल आठ खेल सञ्चालन गर्न लागिएको छ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्यान्डबल खेल असोज २९ गतेसम्म सञ्चालन हुनेछन्।

सोमबार पुरुषतर्फ विभागीय नेपाली सेनाविरुद्ध बागमती, एपीएफविरुद्ध लुम्बिनी प्रदेश, प्रदेश नं. १ विरुद्ध सुदूरपश्चिम र गण्डकी प्रदेशविरुद्ध कर्णाली प्रदेशको खेल हुनेछ। त्यस्तै, महिलातर्फ प्रदेश नं. १ विरुद्ध कर्णाली प्रदेश, विभागीय नेपाली सेनाविरुद्ध मधेस प्रदेश र गण्डकी प्रदेशविरुद्ध एपीएफ भिड्दैछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.