|

ललितपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि आइतबार ललितपुरमा १३६ जनाले उम्मेदवारी दिएका छन्।

तीन निर्वाचन क्षेत्र र ६ प्रदेशसभामा गठबन्धनका नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिपक्षी दल एमालसँगै राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, केही स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा २१ , प्रदेशसभा क मा १३ र प्रदेशसभा खमा १५ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए। यो निर्वाचन क्षेत्रमा मुख्यतय प्रतिनिधिसभा र प्रदेशसभा ख मा पुरानै अनुहार नै प्रतिस्पर्धी भएका छन्। प्रतिनिधिसभामा निवर्तमान सांसद एवं एमालेका नेता नवराज सिलवाल, गठबन्धनका तर्फबाट कांग्रेसका उदयशमशेर राणा, स्वतन्त्र उम्मेदवार डा. सचिन घिमीरेले उम्मेदवारीरी दिएका छन्।

यही क्षेत्रमा राप्रपाबाट सन्दीप आचार्य, हाम्रो नेपाली पार्टीबाट अशोककुमार केसीले मनोनयन दर्ता गरेका छन्। क्षेत्र नम्बर १ को प्रदेश क मा एमालेवाट मधुसुधन पौडेल, गठबन्धनबाट माओवादीका हरि दाहाल उम्मेदवार बनेका छन्। पार्टीबाट टिकट नपाएपछि माओवादीका राजु आले मगरले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश ख मा २०७४ सालकै प्रतिस्पर्धी रहेका छन्।  एमालेका निवर्तमान प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल र गठबन्धन बाट कांग्रेसका मीनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन्। 

यसैगरी क्षेत्र नम्बर २ मा ४४ जनाले उम्मेदवारी दिएका छन्। जसमा प्रदेशसभा १ मा २ स्वतन्त्रसहित १० जना र यही निर्वाचन क्षेत्रको प्रदेशसभा २ मा ३ स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिए। यो निर्वाचन क्षेत्रको प्रतिनिधिसभातर्फ एमालेबाट प्रेमबहादुर मर्हजन, गठबन्धनबाट एकीकृत समाजवादीका कृष्णलाल मर्हजन, राप्रपाबाट रघुवीरराज थापा उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा ४३ जनाको उम्मेद्वारी परेको छ। त्यहाँको सहायक निर्वाचन अधिकृत विष्णु न्यौपानेका अनुसार प्रतिनिधिसभामा २२ जना र प्रदेश १ मा १२ जना तथा प्रदेश २ मा ९ जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ एवं वर्तमान उर्जा सिँचाइमन्त्री पम्फा भुसालसहित नेकपा एमालेबाट अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की, राप्रपाबाट निरञ्जन थापाले उम्मेदवारी दिएका छन्।

प्रदेश १ तर्फ एमालेबाट रघुनाथ मर्हजन, गठबन्धनतर्फबाट माओवादीका राजकाजी मर्हजन, राप्रपाबाट विनोद खड्का छन्। यसैगरी यही निर्वाचन क्षेत्रको प्रदेश २ तर्फ गठबन्धनबाट कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ, एमालेबाट प्रेमभक्त मर्हजन र राप्रपाबाट सविनकुमार खड्का छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.