|

काठमाडौं  : एक दशकदेखि उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। 

सन् २०१३ देखि युरोपेली संघ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ। 

गोरखापत्र दैनिकमा मीनराज भण्डारी लेख्छन्, कालोसूचीबाट हटाउन नेपालले हवाइ सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न आठ वर्षपछि नेपाल आएको टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ। दशैँको टीकाका दिन नेपाल आएको टोलीले असोज २० र २१ गते अध्ययन तथा अनुगमन गरेको थियो। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गरेको मूल्यांकन र हवाइ सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएपछि नेपाल आएको उक्त टोलीले गरेको अध्ययन तथा अनुगमनपछि नेपाली वायुसेवा कम्पनी युरोपमा उड्न पाउने नपाउनेबारे चाँडै निर्णय हुने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपालले सन् २०१३ यता हवाइसुरक्षामा राम्रो सुधार गरिसकेको र आइकाओले समेत त्यस्तै प्रतिवेदन दिएकाले ईयूको टोली नेपालको हवाई सुरक्षाप्रति सन्तुष्ट देखिएको छ।  ‘स्थलगत अध्ययनमा आएको टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउण्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको छ’, उनले भने, ‘अक्टोबर २८ मा उसको रिपोर्ट आउनेछ।’

नेपालले हवाइ दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकाले अध्ययन गरेर फर्किएको टोली नेपालप्रति सकारात्मक रहेको उहाँको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल ईयूको कालोसूचीबाट हट्ने अपेक्षाअनुसार नेपालबाट स्विट्जरल्याण्ड, इन्डोनेसिया र अमेरिकासँग सिधा हवाइ उडानबारे समेत छलफल भइरहेको छ। नेपाल र स्विट्जरल्याण्डको नागरिक उड्डयन प्राधिकरणबीच हवाइ सेवा सम्झौता प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइसकेको छ। 

नेपालले मध्यपूर्वी एसियाली मुलुक इण्डानेसियासँग पनि छिट्टै हवाइ सेवा सम्झौता तयारी गरिरहेको छ। त्यस्तै गरी संयुक्त राज्य अमेरिकासँग पनि द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ। ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना र सन् २०११\१२ मा एक–एक विमान दुर्घटना भएपछि सन् २०१३ डिसेम्बर ५ गतेदेखि ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ।

ईयूले त्यस्तो प्रतिबन्ध लगाउँदा आइकाओको प्रतिवेदनलाई आधार मानेको थियो। आइकाओले भने चार वर्षपछि सन् २०१७ को जुलाईमा नेपालको प्रतिबन्ध फुकुवा गरिसकेको छ। कालोसूचीका कारण हाल नेपाली वायुसेवा ईयूअन्तर्गतका कुनै पनि देशमा जान पाएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.