|

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ। पुलिस क्लबले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो।

१०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो। वर्षातका कारण बाँकी खेल सम्भव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो। खेल रोकिनु अघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो। कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक सात रन बनाएकी थिइन्।

दिव्या रानाले तीन, करिश्मा राईले एक रन जोड्दा कर्णालीका पाँच जना शून्य रनमै आउट भए। पुलिस क्लबकी सवनम राई, सङ्गीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाय रोयले समान एक/एक विकेट लिए।

टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित १६ ओभरमा छ विकेटको क्षतिमा एक सय १० रनको योगफल तयार पारेको थियो। मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा चार ओभर घटाइएको थियो।

पुलिसका लागि सम्झना खड्काले २१ बलमा दुई चौकाको मद्दतमा २५ रन बनाइन्। यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे। कविता र काजल दुवैले समाज १६ रन बनाएका थिए। रेवती धामीले १४ रन बनाइन्।

कर्णाली प्रदेशका लागि अन्जु गुरुङले तीन तथा बिना थापा र एञ्जिला क्षत्रीले समान एक विकेट लिए। खेलमा पुलिसका सम्झना खड्का प्लेयर अफ द म्याच भइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.