|

विराटनगर : पाँच वर्षअघि एउटै चुनावी मैदानमा उत्रिएका एमालेका नेतृ भगवती चौधरी र काँग्रेस नेता विजयकुमार गच्छदार पुनः प्रतिस्पर्धामा उत्रिएका छन् ।

चार निर्वाचन क्षेत्र रहेको सुनसरीको क्षेत्र नम्बर– ३ मा काँग्रेस नेता गच्छदार र एमाले नेतृ  चौधरी प्रतिस्पर्धामा उत्रिएका हुन्। उनीहरुको यो तेस्रो पटकको प्रतिस्पर्धा हो। अघिल्लो दुवैपटक गच्छादारले बाजी मारेका छन्।

तेस्रो पटकको प्रतिस्पर्धा

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा आफैँ अध्यक्ष रहेको पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव उठेका गच्छदारले भगवती चौधरीलाई ३६२ मतले पछि पारेका थिए। ०७४ मा आइपुग्दा  गच्छदारले ३२१  को मतान्तरले चौधरीलाई पराजित गरे।  

गच्छदारले ३८ हजार ९ सय ७२ मतसहित बिजयी हुँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्। ०७४ को मतगणनfमा धाँधली भएको भन्दै  भगवती चौधरीले निर्वाचन परिणाम विरुद्ध पुनः मतगणनाको माग गर्दै २०७४ पुस ११ गते सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यो  रिट अझै विचाराधीन अवस्थामा छ। ‘अदालतले न्याय नदिए पनि यो पटक जनताले मलाई न्याय दिनेछन्’, उनी भन्छिन्।

गच्छदार सातौँ पटक मैदानमा 

संसदीय निर्वाचनका खेलाडी मानिने  गच्छदार सातौँ पटक निर्वाचनको मैदानमा उत्रिँदैछन्।

गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचन तत्कालिन मधेसी जनअधिकार फोरमबाट जितेका उनले दोस्रो संविधानसभा निर्वाचनअघि आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी खोलेका थिए।

२०७० को दोस्रो संविधानसभामा आफ्नै नेतृत्वमा रहेको पार्टीबाट चुनाव जितेका थिए।  २०७४  सालको निर्वाचनअघि कांग्रेसमा फर्किएर चुनाव लडेका उनी यो पटक पनि जित्नेमा विश्वस्त छन्।

प्रतिस्पर्धी उही, फेरियो परिस्थिति

चुनावी मैदान उही तर, गच्छदार र चौधरीको परिस्थिति फेरिएको छ। २०७४ सालमा गठबन्धन भएर चुनावी मैदानमा भिडेकी चौधरी र गच्छदारका लागि राजनीतिक अवस्था फरक छ । पाँच वर्षअघि चौधरीलाई सहयोग गरेको माओवादी केन्द्रले यो निर्वाचनमा  गच्छदारलाई सहयोग गर्ने भएको छ।

गच्छदारसँग पहिलो पटक चुनावी मैदानमा होमिँदा चौधरी  जिल्ला तहको कमिटीमा थिइन्।  तेस्रो पटक प्रतिस्पर्धा गर्दै गर्दा पार्टीको केन्द्रीय सदस्य बनेकी छन्। चौधरी र गच्छदारको राजीनितिक उचाइ र परिस्थिति आकाश–पाताल फरक छ।  गच्छदारमाथि काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा भ्रष्टचार गरेको आरोप छ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। मुद्दा दायर भएपछि भूमिगत भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएलगतै विशेष अदालतमा हाजिर भएर १० लाख धरौटीमा छुटेका थिए।

गच्छदारविरुद्ध उजुरी

सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा सोमबार उजुरी दर्ता भएको छ।

काठमाडौं ७ का  विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी दिएको हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.