आक्रमण भए पनि दोषीमाथि हुँदैन कारबाही

|

काठमाडौं : धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु शाहलाई २०७८ कात्तिक महिनामा सिके राउत नेतृत्वको जनमत पार्टीका विद्यार्थी कार्यकर्ताले चप्पलले पिट्दै दुर्व्यवहार गरे।

प्रहरीका अनुसार प्रधानाध्यापक बैजु शाहलाई विद्यालय जाँदै गरेको अवस्थामा कार्यकर्ताहरूले चप्पलले पिटेका हुन्। नियमित पठनपाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्नेलगायत माग उनीहरूको थियो।

०७८ पुस ६ गते आरआर क्याम्पसका विद्यार्थी कुवेर जेठाराले सोही क्याम्पसका लेक्चरर प्रकाश पुडासैनीमाथि स्टिलको जगले आक्रमण गरेका थिए। कुवेर जेठारा नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता हुन्। 

त्यस्तै, गत  भदौँ २९ गते अखिल क्रान्तिकारी वैद्य समूहका कार्यकर्ताहरूले काठमाडौं डिल्लीबजारस्थित विजय मेमोरियल माविका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मालाई दुर्व्यवहार गरे।

शर्माका अनुसार वैद्य समूहका कार्यकर्ता हौँ भन्दै आन्दोलनमा विद्यार्थी सहभागी गराउन माग गरेको र विद्यालयले कार्यक्रममा सहभागी नगराउने भनेपछि दुव्यर्वहार गरेका थिए।

‘बिहान ती कार्यकर्ताहरू मेरो कार्यकक्षमा आए, त्यसबेला कक्षा ११ र १२ को पढाइ भइरहेको थियो, मलाई एमसिसी, नागरिक विधेयकविरुद्ध लगायत आन्दोलनका लागि कक्षा लिनु छ भने,’उनले भने।

उनका अनुसार उनले उनीहरूलाई अहिले पढाइ भइरहेको छ। यस्तो विद्यालयमा त्यस्तो गर्न पनि मिल्दैन, समय दिन सक्दिनँ भनेका थिए। ‘उनीहरूले जबरजस्ती गरेपछि गर्ने नै भए स्कुलको समयपछि गर्नुभयो भने म सूचना गरिदिन्छु भनेको थिएँ,’उनले भने,‘तर उनीहरू जबरजस्ती गर्दै मोसो दलेर दुर्व्यवहार गरे।’

उनका अनुसार ती कार्यकर्ताहरूले चन्दासमेत मागेको थिए। तर दिन नमान्दा पनि धम्कीसहित चेतावनी दिएको उनले बताए। 

यी प्रतिनिधिका घटना मात्र हुन्। पछिल्लो समय विभिन्न दलनिकट विद्यार्थी संगठनका विद्यार्थी कार्यकर्ताहरूले प्रधानाध्यापक होस या शिक्षकहरूलाई दुर्व्यवहारदेखि भौतिक आक्रमणसमेत गरेको घट्ना बढेको छ। जसकारण शिक्षकहरु त्रसित छन्। 

शिक्षकलाई अन्याय भइरह्यो, सरकारले शान्ति सुरक्षा कायम गरोस्’

विजय मेमोरियल माविका प्रअ शर्मा आफू धेरै अन्यायमा परेको भन्दै अबदेखि अन्य शिक्षकहरूले यस्तो दुव्यर्वहार नगरून् भनी माग गरे। उनले भने,‘हामी शिक्षकहरूलाई यसरी अपमान गर्नु विलकुल गलत हो,यो दुर्व्यवहारको घोर भर्त्सना र निन्दा गर्छु, म जस्तै अरू शिक्षकलाई दुर्व्यवहार नहोस् भन्छु।’

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर पछिल्लो समय विद्यार्थी संगठनका कार्यकर्ताहरूको गुण्डागर्दीले शिक्षकहरूको ज्यान नै धरापमा पर्दै गएको बताउँछिन्। उनले भनिन्,‘शिक्षकहरुलाई दुर्व्यवहार गर्ने,आक्रमण गर्ने काम ठिक होइन,कुनै माग/एजेन्डा भए छलफलमा आउनुपर्छ,आक्रमण गरेर समस्या समाधान हुने होइन।’

नेपाल विद्यालय कर्मचारी परिषद् यसरी शिक्षकहरूलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारीले भने,‘यस्तो अमानवीय,असभ्य,निकृष्ट र निन्दनीय कार्यप्रति घोर भर्त्सना तथा खेद प्रकट गर्छौँ,यस्ता अपराधिक तत्वलाई तत्काल कानुनी कारबाही गर्न सरकारसमक्ष माग पनि गछौँ।’

उनले यस्ता शिक्षकहरुलाई बारम्बार दुव्यर्वहार जस्ता जघन्य अपराध नगराउनको लागि सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि माग गरे। 

दुर्व्यवहार नगरेको विद्यार्थी नेताको दाबी

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पञ्चा सिंह अहिलेसम्म आफ्नो संगठनबाट त्यस्तो क्रियाकलाप नगरेको दाबी गर्छिन्। ‘हाम्रो संगठनबाट अहिलेसम्म कसैलाई आक्रमण र दुर्व्यवहार गरेका छैनौँ,गर्ने पनि छैनौँ,अहिले भएका घटना अन्य संगठनहरुले गरेका होलान्,’उनले भनिन्।

अरू संगठनहरूलाई पनि कुनै माग एजेण्डा भए छलफलमा जानुपर्ने तर शिक्षक, प्रधानाध्यापकहरूलाई यसरी आक्रमण गर्न नहुने उनले बताइन्। नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले यस्ता क्रियाकलाप हुनुमा मुद्‍दा अनुसारका घटना घटने गरेको बताए।

उनले भने,‘जस्तै शिक्षक,प्रधानाध्यापकहरूले महिलाहरुलाई यौन दुव्यर्वहार गरेको कारण पनि आक्रमण हुने गरेको छ, बालबालिकालाई निर्घात कुटपिटले पनि शिक्षकमाथि विद्यार्थीहरुको आक्रोश देखिन्छ।’

उनले शैक्षिक कुराहरू उठाएर जाने र आर्थिक लोभ लालज गतिविधिका कारण पनि दुर्व्‍यवहार र भौतिक आक्रमण शिक्षकहरूमाथि हुने गरेको उनको भनाइ छ। यद्धपि भौतिक आक्रमण भने गर्न नहुने उनी बताउँछन्। 

नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका नेता गोविन्द कोइराला विद्यालय,क्याम्पस प्रशासनको कतिपय अपरिपक्व निर्णयका कारण शिक्षकहरूलाई आक्रमण तथा दुव्यर्वहार हुने बताउँछन्।

उनी भन्छन्,‘अपरिपक्व निर्णय लिए पनि विद्यार्थी संगठनहरुको आआफ्नो प्रवृत्ति चरित्रमा भर पर्ने कुरा पनि हो,क्याम्पस प्रशासनको व्यवस्थापकीय कमजोरी कतिपय ठाउँमा हुन्छ,तर त्यसलाई संगठनले कसरी डिल गर्छ भन्ने कुरामा भर पर्छ।’

उनका अनुसार केही संगठनका नेताले ताला लगाएका हुन्छन् भने कुनैले आन्दोलन गर्छन्। तर, भौतिक आक्रमण गर्न भने नहुने उनी बताउँछन्। ‘समस्याको समाधान वार्ता तथा संवादबाट गर्नुपर्छ,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.