|

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘दुई नम्बरी’ले राम्रो सुरुवात पाएको छ। सुरुको दुई दिनमा साढे २ करोडमाथिको कमाइ गरेको फिल्मले कामकाजी दिनमा पनि दर्शकको राम्रो साथ पाएको छ। 

निर्माण टोलीका अनुसार फिल्मले एक हप्ता पनि पूरा नहुँदै मुनाफा कमाएको छ। निर्माता किरण नेपालीले फिल्म नाफामा गइसकेको र मुनाफाबाट केही रकम फिल्मका प्राविधिकलाई बोनसको रुपमा प्रदान गर्ने पनि बताएका छन्। फिल्मलाई सफल बनाउनमा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरूको ठूलो हात रहेको भन्दै मुनाफाको केही प्रतिशत बोनसको रुपमा दिने बताएका हुन्। 

दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म रोमान्टिक कमेडी ड्रामा जनरामा बनेको छ। जंगली पशुपंक्षीको संरक्षणलाई मुख्य विषय बनाइएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेनको मुख्य भूमिका रहेको छ। दशैँको अवसर पारेर असोज २१ देखि प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा १० करोडको आँकडा छुने अनुमान गरिएको छ। 

यही निर्माण टोलीको अर्को फिल्म ‘पोइ पर्यो बुढो’लाई पनि लामाले नै निर्देशन गर्ने बताइएको छ। दुई नम्बरी लामाको निर्देशनमा बनेको चौथो फिल्म हो। यसअघि उनका ‘घामपानी’, ‘गोपी’ र ‘छ माया छपक्कै’ प्रदर्शनमा आइसकेका छन्। जसमध्ये छ माया छपक्कै मात्र व्यवसायिक रुपमा सफल भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.