विराटनगर : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला देशैभरिको राजनीतिक माहोल तातिएको छ।
धेरैजसो शहरकेन्द्रीत हुने नेता तथा कार्यकर्ता आफ्ना दलका उम्मेदवारलाई जिताउन यतिबेला निर्वाचन क्षेत्र पसेका छन् भने भोट आफ्नो पकडमा बनाउन आफ्ना मतदाताको घरआँगनमा दैनिकजस्तो भेट्न पुगेकै हुन्छन्।
यस दौरानमा आफ्नो पार्टीभित्र असन्तुष्टि पोख्दै पार्टी परित्याग गर्ने र प्रवेश गर्ने गतिविधि पनि उत्तिकै चासो र चर्चाको विषय रह्यो। दलहरुका क्रियाकलापले आजित बनेका पछिल्लो पुस्ताले सिंगो दलको विचार र सिद्धान्तलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिनेको लर्को पनि उत्तिकै छन्।
अहिलेको निर्वाचनको चहलपहल र माहोलबारे शहरबजारका चोकदेखि गाउँका चौतारा हुँदै सवारीमा यात्रा गर्ने यात्रुहरुको छलफल र बहसको विषय बनेको छ। कुन दलका उम्मेदवारले जित्लान् कसले हार्ला या स्थानीय तहको निर्वाचनमा झैँ स्वतन्त्र उम्मेदवारले बाजी मार्लान् भन्ने विषयले त झनै राम्रो ‘स्पेस’ पाएको छ। सामाजिक सञ्जालमा प्रचारप्रसारको उत्तिकै प्रतिस्पर्धा चलेको छ आ-आफ्ना दलको उम्मेदवारको भोट माग्न।
पछिल्लो समय दलहरुको स्वार्थले भाँडिएको राजनीतिक परिस्थितिमा मतदाताले दलमा भरोसा गर्नुपर्ने आधार नै नभएको सुनसरीका ५१ वर्षीय रुद्रप्रसाद न्यौपाने बताउँछन्।
विराटनगरदेखि इटहरी पुग्दासम्म उनीसँगको संवादमा आफूहरुले चुनेर पठाएको नेताहरुले केही काम गर्न नसकेको गुनासो बारम्बार उनले दोहोर्याए। जनताका दुखः हरेक पटक आउने निर्वाचनको भोट माग्ने टोकरी भएको उनको भनाई थियो।
‘नेताहरुले केही गर्दैनन्, सबै आफ्नो दुनो सोझ्याउने मात्र हुन्‚’ उनी घरिघरि बसको झ्यालतिर आँखा डुलाउँदै भन्छन्, ‘जुन जोगी आयो कानै चिरेको, काम छैन दले नेताहरुको।’
संगठनलाई व्यक्ति विशेषको बनाउँदा पछिल्लो समय दलप्रति जनता आजित बनेको बताउँदै उनले ०७४ मा निर्वाचन आउँदै गर्दा हर्ष, उल्लास जस्तो थियो यसपटकको निर्वाचनमा त्यस्तो उत्साह नभएको उनले बताए।
नेपाली नागरिक भएकाले मत हाल्ने अधिकारबाट टाढा हुनुहुँदैन भन्ने उद्देश्यले मात्रै आफूले भोट हाल्ने उनले बताए। उनले भने, ‘आदर्शका कुरा गर्ने पनि कुर्सी पाएपछि सकिँदा रहेछन्।’
उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन्‚ अब आउने दिनमा राजनीतिक दलका नेता एवम् नेतृत्व नसुध्रिए दलको हैसियत शून्य अवस्थामा पुग्ने मतदाताहरू बताउँछन्।
यसो भन्छन् विज्ञ
डा. चन्द्र उपाध्याय : समाजशास्त्री
लोकतन्त्रमा निश्चित अवधिमा जनताले रुचाएका प्रतिनिधिहरूबाट चल्ने शासन व्यवस्था आफूहरूले अपनाएको ५ वर्षे कार्यकाल सकिएपछि समयमै निर्वाचन हुनु शान्त्तिपूर्ण, अनुकूल निर्वाचन हुनु लोकतन्त्रको सबल पक्ष रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख डा. चन्द्र उपाध्याय बताउँछन्।
राज्यको संवैधानिक प्रणालीबाट राज्यको सत्ता सञ्चालन गर्न जनमतलाई आधार मानेर अगाडि बढ्ने विषय राम्रो पक्ष भएको बताउँदै डा. उपाध्यायले जनताको आँखाबाट हेर्दा राजनीतिक अभ्यास साँघुरो घेराभित्र नै रहेको र सीमित व्यक्तिलाई मात्रै फाइदा भएको भन्ने अनुभूति जनतामा रहेको बताए।
आमनागरिकका गाँस, बास, कपास‚ शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका समस्यामा परिवर्तन अनुभूत हुन नसकेको उनको तर्क छ।
‘तीन तहको सरकार गठन भएको छ, स्थानीय तहको भर्खरै निर्वाचन सकिएको छ। प्रदेश र संघको अब हुँदै छ, यो पाँच वर्षको अवधिमा प्रदेशले पनि आफ्नो औचित्यको काम गर्न सकेन भन्ने जनतामा गुनासो छ,’ उनले भने, ‘संघले पनि दलीय स्वार्थ‚ दलीय गुटबन्दी, भागबन्डामा केन्द्रीकृत भएकाले निर्वाचनबाट आम नागरिकले निर्वाचनमुखी परिणाम के पाइन्छ भन्ने कुरामा अहिले पनि विश्वस्त हुने वातावरण छैन।’
नागरिकको जीवनशैलीमा सोचेभन्दा परिवर्तन आयो आएन? गरिखाने नागरिकका लागि के सुविधा पायो भन्ने प्रश्न अझै बाँकी रहेको बताउँदै उनले घरघरमा सिंहदरबार भन्ने अवधारणाअनुसार घरदैलोबाट सेवा पाउने अवस्था सृजना भए पनि सेवा दिने प्रयोजनका लागि खडा गरिएको निकायहरुको संचालन खर्च नागरिकमाथि नै थोपरिएको उनको भनाई थियो।
नेतृत्वमा पुगेका नेताहरुको नजिकका मान्छेहरुको जीवनशैली द्रुत गतिमा परिवर्तन आए पनि आम नागरिकको जीवनशैलीमा परिवर्तन आउन नसक्दा पछिल्लो समय जनतामा दलप्रति वितृष्णा जागेको उनी बताउँछन्।
हाल नेपाली जनतालाई प्रतिनिधित्व गरेका दल र नेतृत्वमा भर नपर्ने‚ विश्वासको कमी देखिने आधारहरु स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयबाट नै देखिएको बताउँदै उनले अहिले पनि स्वतन्त्र व्यक्तिहरुले ठूलो संख्यामा मनोनयन गरेको बताए।
‘राजनीतिमा आउनु हुँदैन भन्ने पनि आएका छन्, शिक्षक, पत्रकार, अन्य व्यवसायी राजनीतिमा उत्रिएका छन्’, उनले भने, ‘अहिले प्रतिनिधित्व गर्ने दलहरुप्रति जनताको भरोसा छैन, त्यसैले पनि मंसिर ४ मा हुनुपर्ने उत्साह आमनागरिकमा छैन।’
आफूहरुले निर्वाचनपछि तत्कालै परिवर्तनको अनुभूति नभएको, भिजन भएको नेतृत्व पाउँछौं भन्ने आशा र भरोसा जनतामा नभएकाले पनि यो निर्वाचनलाई जनताले खुशी र महत्वका साथ नलिएको उनी बताउँछन्।
डा. अर्जुन बराल : अर्थशास्त्री
निर्वाचनमा हुने आर्थिक चलखेलले केही समय अर्थतन्त्र चलायमान भए पनि त्यो अस्थाई मात्रै रहने प्राध्यापक एवम् अर्थशास्त्री डा. अर्जुन बराल बताउँछन्।
‘निर्वाचनमा आर्थिक चलखेल ठूलो हुने भएकाले राखिएका पैसा बाहिर निस्किने हुँदा अर्थतन्त्रले एक खालको गति लिन्छ,’ उनले भने, ’तर त्यो अस्थाई मात्रै रहन्छ।’
अर्थशास्त्रको हिसाबले निर्वाचनमा हुने आर्थिक चलखेललाई खासै महत्व पाटोभित्र नपर्ने उनको भनाई थियो।
हालको आर्थिक मन्दीको विषय अन्तरराष्ट्रिय कारण गर्दा अथवा आफ्नै आन्तरिक कारणले आर्थिक मन्दी देखिन थालिएको बताउँदै उनले रुस-युक्रेन युद्ध लगायतको अन्तरराष्ट्रिय परिस्थिति एउटा पाटो भए पनि राष्ट्रिय परिस्थितिमा जसरी अर्थतन्त्र अगाडि बढ्न पर्थ्यो त्यसरी अगाडि बढ्न नसकेको उनले बताए।
‘यो निर्वाचनपछि एउटा गतिशील स्थिर सरकार बन्यो भने अर्थतन्त्रले गति प्राप्त गर्ला’, उनले भने, ‘अस्थिर सरकार भयो अर्थतन्त्र गतिशील हुन सकस पर्छ।’
आर्थिक परिवर्तन, मूल्य वृद्धि नियन्त्रण हुन नसक्नु, बेरोजगारी नियन्त्रण हुन नसक्नु पछिल्लो समय दलहरुप्रति जनतामा वितृष्णा छाउनुको कारण रहेको बताउँदै उनले नेपालजस्तो गरिब देशले द्रुत गतिमा परिवर्तन गर्न नसक्नु राजनीतिक दलमा भएको नेतृत्वको दूरदर्शिताको कमीले हुनसक्ने बताए।
‘५ वर्षको कार्यकालमा जनताको जीवनस्तर परिवर्तन हुन नसक्नु, आर्थिक व्यापारमा घाटा, मूल्य वृद्धि घटेको छैन जुन जनताले भोगेका छन्’, उनले भने, ‘आफूले जिताएको नेताको जीवनशैली परिवर्तन भयो तर आफ्नो ज्यूँ का त्यूँ, त्यसैले जनतामा एक खालको निराशा छ। यसका लागि सबै दलका नेता सुध्रिनुपर्छ।’
राजेन्द्र शर्मा : राजनीतिक शास्त्री
यो पल्टको निर्वाचन विचार र सिद्धान्त मरेको अवस्थाको रुपमा .रहेको राजनीतिशास्त्री डा. राजेन्द्र शर्मा बताउँछन्।
राजनीतिक दलहरु गठन हुँदा एउटा एउटा निष्ठा र विचारधाराप्रति आस्थावान हुने भए पनि राजनीतिक दलहरुको पछिल्लो समय फरकफरक राजनीतिक धार र आस्था भएका पार्टीहरु एक ठाँउमा उभिएर मोर्चाबन्दी गरिरहँदा यो पल्टको चुनाव विचार र सिद्धान्त मरेको अवस्थाको चुनावको रुपमा हेर्नुपर्ने उनको तर्क छ।
‘प्रजातान्त्रिक समाजवादी भनेको पार्टीसँग माओवादी भन्ने कम्युनिष्ट पार्टी टाँसिएको छ। एमाले मार्क्सवादी लेलिनवादी भन्ने पार्टीको विचारधारासँग राजावादी राप्रपा टाँसिएको छ,’ उनले भने, ‘यसरी हेर्दा यो पल्टको चुनाव विचार र सिद्धान्त मरेको अवस्थाको चुनावको रुपमा हेर्नुपर्ने हुन्छ।’
नेपालमा सिद्धान्त र विचार मरेको तर्क गर्दै उनले भने, ‘अहिले पार्टीको नाममा दलबल गठन गर्दै, मल्ल युद्धको तयारी गर्दैछन्। यसले पार्टी फेलियर भएको कुराको संकेत गर्छ।’
पार्टीहरुमा जसरी पनि सत्ता कब्जा गर्नुपर्छ भन्ने ध्येय मात्रै भएको उनको भनाई छ।
पार्टीहरु फेलियर हुनुको कारण ०४८ सालको बहुदलीय प्रजातन्त्रपछिको ३० वर्ष नेपालले आर्थिक रुपले नेपाी ऋणमा पर्नु‚ ०४८ सालमा लगभग ४ खर्ब बराबर रहेको वैदेशिक ऋण बढेर १७ खर्ब बराबरमा पुग्नु‚ राष्ट्रिय बजेटभन्दा बढी लोन तिर्नुपर्ने अवस्था पनि मूल कारण रहेको र आर्थिक हिसाबले जर्जर अवस्थामा पुग्नु‚ राष्ट्रिय उद्योगहरु बन्द हुनु‚ असंलग्न परराष्ट्र नीतिमा चुक्नु रहेको उनले बताए।
‘कहिले अमेरिकी पक्षमा एमसिसी पास गर्दै‚ कहिले हामी चीनको नजिक पुगेजस्तो गर्छौं, यसरी हामीले असंलग्न परराष्ट्र नीतिलाई धराशायी बनायौं ३० वर्षमा’, उनले भने, ‘नेपाललाई आफ्नो अन्तरराष्ट्रिय छवि धूमिल हुने गरी आर्थिक रुपले जर्जर हुने गरी संचालन गर्नु फेलियरको संकेत हो- यसपालिको चुनाव।’
यो निर्वाचन राजनीतिक दलहरुको लागि टर्निङ पोइन्ट हुनसक्ने तर्क राख्दै उनले परिवर्तनको यी राजनीतिक दलहरु जो अहिले फेलियर भएका छन् तिनीहरुलाई निर्मूल गरेर स्वच्छ छवि भएका आउने कुराको टर्निङ पोइन्ट हुनसक्ने बताउँछन् उनी।
स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेर दलका ठूलाठूला मोर्चालाई परास्त गर्नु‚ जनताले चाहेको परिवर्तन र दलहरुप्रतिको वितृष्णा रहेको उनले बताए।
बेग्लाबेग्लै विचारधाराका पार्टीसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको पछिल्लो समयको अवस्थाले जनतामा वितृष्णा अझै फैलिन सक्ने बताउँदै उनले भने, ‘यसले कालान्तरमा दलहरु सकिएर फेलियर भएका दल विघटनतिर जान्छन् र नेपाल अर्कै पुनर्जागरणको चरणमा प्रवेश गर्छ कि भन्ने संकेत गर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।