पोस्टर, पम्प्लेट र गाना बजाना 'नो इन्ट्री'

|

म्याग्दी : देश निर्वाचनको संघारमा छ। उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न विभिन्न योजना र कार्यक्रमका साथ मतदाता भेटघाट तथा घरदैलो अभियानमा छन्।

मंसिर ४ अर्थात् निर्वाचनको दिन आउन अब केवल ३३ दिन मात्र बाँकी छ। विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिना अघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रंगिन हुने गाउँ वस्ती,चोक र गल्ली,गल्छेडाहरु यस वर्ष रित्ता र उराठ जस्ता देखिन्छन्  । माइकमा प्रचार सामाग्री र गीत घन्काउँदै सहर बजार र गाउँ गाउँमा गाडीहरु पुग्दा मतदाताहरूमा पनि एक किसिमको रौनक छाउँथ्यो। 

तर, यस पटक हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा अघिल्ला निर्वाचन जस्तो तडकभडक र कोलाहल छैन । पाँच महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको चुनावी तडकभडक नदेखिँदा मतदाता चुनावको पत्तो हराए जस्तै भएको छ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कडाइपछि दलहरूको चुनावी प्रचारशैली फेरिएको हो। गाउँ वस्तीमा मात्रै होइन सदरमुकाम बेनी बजारमा समेत कतै पनि पोस्टर, पम्प्लेट, तुल, ब्यानर टाँगिएको छैन। “यस पाली त चुनाव आए जस्तो पनि भएको छैन,चुनावी कार्यक्रम पनि भएका छैनन्,मलाई भोट दिनु है भनेर कुनै उम्मेदवार पनि आएका छैनन्” मालिका गाउँपालिका ५ का जसबहादुर बुढाले बताए।

यहाँका उम्मेदवारहरु र कुनै पनि राजनीतिक दलहरुले  खुला चुनावी कार्यक्रम गरेका छैनन्। उनीहरु आन्तरिक व्यवस्थापनमा नै व्यस्त छन्। कसरी चुनावका लागि आर्थिक स्रोत जुटाउने, कार्यकर्ता परिचालन गर्ने जस्ता रणनीति तयार पार्न कोठे बैठक, भेला र छलफल जस्ता काममा यहाँका राजनीतिक दल र उम्मेदवारहरुले समय खर्चिएका छन्।

 पछिल्लो समय यहाँका राजनीतिक दल र उम्मेदवारहरुमा एक भिन्नै किसिमको मनोविज्ञान विकसित भएको पाइएको छ। उनीहरु प्रत्येक मतदाताकोमा पुगेर समय,श्रम र पैसा खर्च गर्नुको सट्टा प्रत्येक क्षेत्रको प्रभावशाली मानिएका व्यक्ति,आमा समूह,युवा क्लब,सामुदायिक वनका प्रतिनिधिहरुलाई रिझाउन सक्ने हो भने उनीहरु मार्फत साधारण जनताको मत प्राप्त गर्न सकिन्छ भन्ने  विश्वासमा छन्।

कठिन र छरिएको पहाडी भूगोलमा चुनावी कार्यक्रमबीच सबै मतदाता र बस्तीमा पुग्न असम्भवप्रायः रहेकाले पनि उम्मेदवार र राजनीतिक दलहरुलाई यो मनोविज्ञानको चेत पलाएको हो।

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारको समयावधि १५ दिनमा सीमित गरिदिएपछि चुनावी माहोल सुनसान देखिए पनि दल र उम्मेदवार भित्रभित्र चुनावी अभियानमा जुटेका छन । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हरिकृष्ण श्रेष्ठ म्याग्दीकै दुर्गम मानिने धवलागिरि गाउँपालिकाको विभिन्न वस्तीहरुमा घरदैलोमा पुगेर मतदाता रिझाउँदै छन्।

 उनी कार्यकर्ता भेटघाट, स्थानीय चुनाव प्रचारप्रसार समिति गठन, परिचालन गर्ने, मतदाताको घरदैलोमा पुग्ने, आशीर्वाद लिने र मतदाताको आकांक्षा बुझ्न दुर्गम धवलागिरि गाउँपालिकातिर व्यस्त छन्। श्रेष्ठ भन्छन् ‘निर्वाचन आचारसंहिताले चुनावको प्रचार समयावधि घटाउँदा उम्मेदवारको खर्च कम हुन्छ, तर मतदाताको दैलोमा पुग्ने अवसर नहुने रहेछ । चुनाव प्रचारमा हुने तडकभडक रोकेर भने राम्रो गरेको छ ।’

म्याग्दीको कठिन भूगोल ६ स्थानीय तहका ४५ वटा वडामा समेटिएको छ  । एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभातर्फका उम्मेदवारलाई सबै वडामा पुग्न सजिलो भए पनि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारलाई भने १५ दिनमा सबै वडामा पुग्न सम्भव नहुनेभएको छ । दलहरूले चुनाव प्रचार अवधि थोरै र बस्ती धेरै भएपछि तीनदेखि चार वटासम्म बस्ती भ्याउने गरी चुनावी कार्यक्रम बनाएका छन्।

वाम–लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेसका खमबीर गर्वुजाले चुनावी सभा र पर्चा पम्प्लेट नभए पनि जनताका घरदैलोमा पुगेर भेटघाट गर्ने,कार्यकर्ता भेटघाट गर्ने  र जनताका समस्या र सुझाव सुन्ने,थाहापाउने गरेको बताए।
भौतिक पूर्वाधारका कुरा बाहेक अरु कुरा गर्दैनन् नेता

आफ्नो पक्षमा भोट माग्नका लागि गाउँ पसेका राजनीतिक दलका नेताहरुमा मानवीय संवेदना र चेतनाको विकास नभएको म्याग्दीका नागरिकले गुनासो गरेका छन्।

आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेका व्यक्तिहरुले आफ्नो निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विस्तार गरेर विकास गर्ने कुरा मात्र दोहोराउने गरेका यहाँका मतदाताहरुको गुनासो रहेको छ। नेता र राजनीतिक दलहरुको प्राथमिकतामा मानवीय संवेदना,सचेतना,जागरण र समयसापेक्ष परिकल्पनाको अझैसम्म पनि विकास नभएको बेनी नगरपालिका २ का भीमबहादुर पौडेलले बताए।

नेताहरुले जनताकाबीचमा मत माग्ने कामको थालनी गर्दा नागरिकले भने निर्वाचन पद्धति र उम्मेदवारहरुप्रति टिका टिप्पणी गर्न थालेका हुन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कुल २० जनाले उम्मेदवारी दर्ता गराएका मध्धे अधिकांशले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक शिक्षा, स्वासथ्य र खानेपानी लगायत पूर्वाधार विकास गर्ने प्रतिबद्धता गर्दै आएका छन्।

१ प्रतिनिधिसभा क्षेत्र र २ प्रदेशसभा क्षेत्र रहेको म्याग्दीमा निर्वाचनका लागि उम्मेदवार बनेका अधिकांश उम्मेदवारहरुले जिल्लाको विकास र जनताको सेवा गर्ने विषयलाई बढी महत्व दिएका छन्। स्थानीयबासीले भने देशको दिगो विकासका लागि देशका राजनेता र राजनैतिक दलहरुको चेतनाको विकास नभएको गुनासो समेत गरेका छन्। म्याग्दी जिल्लाका धेरै घर परिवारहरुले राष्ट्रिय लाइनको बिजुली बत्ति बाल्न समेत पाएका छैनन्। आफ्नो जिल्ला र देशमा काम नपाएर रोजगारीका लागि विदेश नगएको एउटा घर छैन।  अव्यवस्थित सडकका कारण स्थानीयहरु कष्टकर जीवन बिताइरहेका छन्। तर यस विषयमा भने यहाँका उम्मेदवार र राजनीतिक दलहरु बोलेकै छैनन्।

जिल्लामा गरीबी, पछौंटेपन र बेरोजगारीको समस्याले स्थानीय युवायुवतीहरु बढ्दो रुपमा विदेश पलायन भइरहेका छन्। राजनैतिक दलहरुका उम्मेदवारहरु भने मत माग्ने काममा नै व्यस्त भएका छन्। आगामी निर्वाचनका लागि म्याग्दी जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा विभिन्न राजनैतिक दलहरुका तर्फबाट उम्मेदवार बनेका व्यक्तिहरुले जनताको सेवक भएर काम गर्ने बताउदै आएका छन्।

उनीहरुले विगतमा बाँकी रहेका विकासको काम पूरा गर्ने, नेपाली जनताको इच्छा अनुसार काम गर्ने, संविधानको कार्यावन्यन, विकास, समृद्धिको नेतृत्व गर्ने लगायत राष्ट्रिय आवश्यकतालाई केन्द्रित भएर जिल्लामा सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्ने बताए पनि मतदाताहरुले उनीहरुका कुरा पत्याउन नसकिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.