|

काठमाडौं : काेराेना महामारीपछि पहिलो विदेश कार्यक्रमका लागि यात्रा गर्नका निम्ति नेपथ्य  दुबई जाने भएको छ।

आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्डले दुबई  शहरमा तेश्रो पटक प्रस्तुति दिन लागेको हो।  चाडबाडको बेलामा आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीहरूका लागि दशैं, तिहार र छठको समेत संगीत मय कोसेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको हो।

विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबई शहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुक मध्येको युनाइटेड अरब इमिरेट्सको ब्यापारिक केन्द्र पनि हो। यस शहरमा आयोजित अघिल्ला कन्सर्टहरूको बेला अन्य शहरहरु विशेषगरि अबुधाबी, सारजहाँ र रासअल खेमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए। अघिल्ला पटक झैं यसपाली पनि दुबईस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत हुँदैछ।

‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने त्यही ठाउँमा प्रस्तुत हुने गरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबई जाँदैछौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यसपटक प्राथमिकतामा परेका छन्।’

आफ्नो प्रिय ब्याण्ड नेपथ्य फेरि दुबई  आउन  लागेको जानकारीले आयुष मान डंगोल हर्षित छन्।  ६ वर्षभन्दा लामो समयदेखि एयर अरेबियाका जहाजहरू उडाउँदै आइरहेका पाइलट आयुषका अनुसार नेपथ्यको आगमनले उक्त मुलुकमा ल्याउने हलचल बेग्लै हुने गर्छ।

‘दुबईमा हुने प्रायः नेपाली कार्यक्रम आएगएको अधिकांश नेपालीलाई पत्तै हुँदैन,’ उनी भन्छन्, ‘तर, नेपथ्यले भने आफूलाई उच्चस्तरमा प्रस्तुत गर्ने भएकाले कन्सर्टका बेला एक हिसाबले राष्ट्रिय गौरवकै अनुभूति हुन्छ।’

बिरानो मुलुकमा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने थोरै अवसरहरू मध्ये नेपथ्य प्रस्तुत हुँदाको क्षण पनि बन्ने गरेको आयुषको अनुभव छ। ‘बेग्लै दुनियाँमा ब्यस्त भइरहँदा यतै बसोबास गर्ने नेपाली दाजुभाइसँग भेटघाटको अवसर पनि यो कन्सर्टले जुराइदिन्छ,’ उनी भन्छन्, ‘त्यसमाथि आफूले जुन ब्याण्डका गीतहरू सुनेर हुर्किएको हो त्यसले यति पर पनि प्राथमिकताका साथ आफूलाई प्रस्तुत गरिरहेको पाउँदा आनन्द अर्को हुन्छ।’ आयुष सारजहाँ सहरमा बसोबास गर्छन् भने अघिल्लो पटक पनि नेपथ्यको कन्सर्ट हेर्न दुबई पुगेका थिए।

नेपथ्यले २०१५ को महाभूकम्प लगत्तै आफूलाई यस सहरमा प्रस्तुत गरेको थियो। पूर्व निर्धारित कार्यक्रम भएकैले शोकका वेला पनि उपस्थिती जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबई कन्सर्टबाट प्राप्त रकममध्येबाट निश्चित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो। ‘त्यो बेला शोककै क्षण आयोजित भएता पनि झण्डै दुइ हजार दर्शक उपस्थित भएका थिए,’ गायक अमृत सम्झन्छन्, ‘त्यो कन्सर्टकै भिडियो रेकर्डमा आधारित रहेर हामीले ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो पनि तयार पारेका थियौं।’ त्यसको चार वर्षपछि सन् २०१९ को मार्च महिनामा दोश्रो पटक नेपथ्य दुबई पुगेको थियो।

‘नेपथ्य उसका श्रोता दर्शकहरूको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्ला दुबै पटक जाँदा पाइएको आत्मियताले नै होला, कोरोना महामारीपछिको पहिलो विदेश यात्राका रुपमा दुबई उपस्थित हुने जोग मिल्न गयो।’

नेपथ्यलाई यसपटक दुबई सहरमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो। ‘विदेशिएका नेपालीहरूको निम्ति नेपथ्य आउने समाचारले चाडबाडको वेलामा खुसियाली थपिदिएको छ,’ आयोजक अमृत इभेन्ट्सका आशिष पुरुष भन्छन्, ‘अघिल्ला पटक जस्तै यसपटक पनि नेपथ्यले सुनाउने स्वदेशी भाका सुन्नका निम्ति दुबई र आसपासका सहरमा बसोबास गर्ने नेपालीहरूले ब्यापक चासो देखाइरहेका छन्।’

यो कन्सर्टको टिकट दुबई लगायत आसपासका क्षेत्रहरुमा समेत उपलब्ध गराइएको छ। स्थानीय आयोजकका अनुसार दुबईमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० दिराम राखिएको छ। कार्यक्रमकाे लागि अनलाइन ( https://ae.bookmyshow.com/events/nepathya-live-2022/ET00009197) मार्फत पनि टिकट काट्ने व्यवस्था गरिएकाे छ। 

कार्यक्रममा सँधै जस्तै अमृतलाई ड्रम सेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने छन्। आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने तयारीमा जुटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.