|

काठमाडौं : एलिना राई, देव बाहिङ र युनिषा खड्का ओखलढुङ्गाका उत्कृष्ट प्रतिभा छनोट भएका छन्। ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी अभियानमा सहभागी ११७ जनालाई पछि पार्दै  गायनतर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी एलिना राई प्रथम भएकी हुन्। 

त्यसैगरी साहित्यतर्फ सिद्धिचरणका देव बाहिङ र नृत्यतर्फ खिजीदेम्बाका युनिषा खड्का उत्कृष्ट ठहरिएका छन्। उत्कृष्ट हुने तीनैजनाले ओखलढुंगा प्रतिभा अवार्ड २०७९ सहित नगद ३० हजार, प्रमाणपत्र प्राप्त गरेका छन्।

ग्रामीण क्षेत्रमा लुकेर रहेका र अवसर नपाएका प्रतिभा छनौट गर्ने उद्देश्यका साथ ओखलढुंगा कला साहित्य समाजले यसै वर्षदेखि शुरु गरेको अभियानमा साहित्यतर्फ तारा वल द्वितीय, नवीना न्यौपाने तृतीय र धनमाया घिमिरेले सान्त्वना स्थान हासिल गरे।

गायनतर्फ प्रकाशचन्द्र मुलिचा द्वितीय, भूमिका विश्वकर्मा तृतीय र सोमवीर तामाङले सान्त्वना स्थान हासिल गरेको समाजका अध्यक्ष गायक राज राईले जानकारी दिए। त्यसैगरी नृत्यतर्फ सरिस्मा तामाङ, मनीषा राई र जुनु सुवेदी क्रमशः द्वितीय, तृतीय र सान्त्वना भए। तीनवटै विधामा क्रमशः नगद २० हजार, १० हजार र २ हजारका साथमा प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

४ दिनसम्म चलेको प्रतियोगितामा ओखलढुंगाका वरिष्ठ गायक, लेखक तथा नृत्य निर्देशकले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगिता असोज २६ गतेदेखि शुरु भएको थियो। खिजीदेम्बा गाउँपालिकाको विशेष सहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पालिका प्रमुख गम्बु शेर्पाले समाजको भवन निर्माणका लागि २ रोपनी जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्।

कलाकार तथा मोडल समेत रहेका सिद्धिचरण नगरपालिका-१२ का वडाध्यक्ष उमंग श्रेष्ठले आगामी वर्ष प्रतिभाको खोजी कार्यक्रम सिद्धिचरण नगरपालिकामा गर्ने घोषणा गरेका छन्। 

पाँच स्रष्टा सम्मानित 

कला साहित्य समाजले, पाँचजनालाई सम्मान गरेको छ। आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा गायनले लेखनतर्फ लामो समय योगदान पुर्‍याएका ओखलढुंगाका दुईजनालाई विशिष्ट सम्मान तथा तीन जनालाई प्रोत्साहन सम्मान गरिएको ओखलढुंगा कला साहित्य समाजका सचिव जितेन्द्र बानियाँले जानकारी दिए।

गायनतर्फको विशिष्ट स्रष्टा सम्मान वरिष्ठ गायक, संगीतकार शक्तिकुमार श्रेष्ठलाई अर्पण गरिएको छ। २०४३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गरेका श्रेष्ठका मैना चरीलाई, फूल फुल्यो लालुपाते, कहाँ बज्यो मादलु लगायतका गीत चर्चित छन्। 

त्यस्तै लेखनतर्फको विशिष्ट स्रष्टा सम्मान पत्रकार तथा कवि चेतनाथ धमलालाई अर्पण गरिएको छ। लामो समयदेखि कौशिकी साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका धमला विशेष गरी प्रगतिशील साहित्यकारका रूपमा चिनिन्छन्।

धमला प्रेस काउन्सिलका निवर्तमान सदस्य समेत हुन्। त्यस्तै लेखनतर्फको प्रोत्साहन सम्मान पत्रकार, लेखक, गीतकार रामनाथ घिमिरे, नृत्यतर्फको निरुता सेन्चुरी तथा गायनतर्फको गायक बुद्धिबहादुर सुवेदीलाई प्रदान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.