|

जनकपुरधाम : नेकपा एमालेबाट मधेश प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। उनी अखिल महिला संघकी सचिवालय सदस्यसमेत हुन्।

महतोलाई नेपाली कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा क्षेत्र ४ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराए।

कांग्रेस प्रवेश गर्दै महतोले भनिन्‚ ‘मधेश पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस रहेको महसुस गरेकाले म कांग्रेसमा प्रवेश गरेकी हुँ।’

जनताको सुखदुःखमा साथ रहनु नै एउटा सच्चा नेताको जिम्मेवारी हुने भन्दै उनले त्यो प्रमाणित गर्न पनि आफू मधेशको पक्षमा उभिँदै कांग्रेसमा प्रवेश गरेको बताइन्।

एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेशी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरूले राजनीतिक स्वार्थ पूरा गरिरहेका कारण आफू असन्तुष्ट भएर एमाले त्यागेको पनि उनले बताइन्।

‘मुलुकमा सबैभन्दा बढी नागरिकताविहीन मधेशमै छन् र अहिले मधेशको मुख्य मुद्दा पनि नागरिकता नै हो,’ उनले भनिन्, ‘तर नागरिकता विधेयक अड्काएर एमालेले मधेश र मधेशी जनतालाई धोका दियो। व्यक्तिगत रुपमा मलाई एमालेले समानुपातिक सूचीमा राखे पनि मधेश र मधेशी जनतालाई एमालेले धोका दिइरहेका कारण त्यस्तो पार्टीमा रहिरहन सकिनँ।’

कांग्रेस सहमहामन्त्री यादवले महतोलाई कांग्रेस प्रवेश गरेकोमा बधाई दिँदै मधेशका मुद्दा अझ सशक्त ढंगले उठाउने प्रतिबद्धता जनाए।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसबिट्टीमा आयोजित कांग्रेसको घरदैलो अभियानका क्रममा महतोलाई सहमहामन्त्री यादवले पार्टीमा भित्र्याएका हुन्।

करिब एक साताअघि एमालेबाट डा संजिव यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए। उनी एमाले नेता रघुवीर महासेठका प्रमुख सहयोगीहरूमध्ये एक थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.