|

काठमाडौं : भारतले आउँदो वर्ष पाकिस्तानमा हुने एशिया कप क्रिकेट नखेले पाकिस्तानले पनि भारतमा हुने विश्वकप नखेल्ने चेतावनी दिएको छ। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले भारतले एसिया कप तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो। 

बिसिसिआइका सचिव शाह एशियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष पनि हुन्। एसीसी कै कार्यकारी समितिले प्रतियोगिता पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको हो। तर मुम्बईमा भएको बिसिसिआईको ९१ औं वार्षिक साधारण सभापछि पत्रकारहरुसँग कुरा गर्दै शाहले एसिया कप २०२३ तटस्थ स्थानमा हुने बताए। 

जवाफमा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजाले भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेट पाकिस्तानले नखेल्ने बताएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार शाहको पछिल्लो भनाइ पछि पाकिस्तान ५० ओभरको आईसीसी विश्वकपबाट बाहिरिने विकल्प हेरिरहेको छ। 

विगतमा पनि एसिया कप तटस्थ स्थानमा आयोजना हुँदै आएको छ। आर्थिक संकटमा फसेको श्रीलंकाले एसिया कप गर्न नसकेपछि गत महिना युएईमा यस वर्षको एसिया कप आयोजना भएको थियो। 

भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण यी दुई देशले एसिया कप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै एकअर्काविरुद्ध खेल्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.