|

काठमाडौं : मंसिर ४ गते नजिकिँदै गर्दा देश चुनावमय बनेको छ। सबै उम्मेदवारले आफ्नो आफ्नो क्षेत्रमा प्रचारप्रसार सुरु गरिसकेका छन्। 

देश नै चुनावमय बन्दै गर्दा नेपाली कलाक्षेत्रमा पनि चहलपहल देखिएको छ। केही कलाकार आफैँले उम्मेदवारी दिएका छन्, केहीले आफूले आस्था राख्ने राजनीतिक पार्टीको समर्थनमा खुलेर बोलिरहेका छन्। केहीले तटस्थ देखिई योग्य व्यक्तिलाई मतदान गरी प्रतिनिधि छान्न आग्रह गरिरहेका छन्। 

र्‍यापर बालेन साह गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर  काठमाडौं महानगरपालिकाको प्रमुख पदमा भारी मतले विजयी भएका थिए। यसबाट नेपाली कला क्षेत्र उत्साहित छ। यो चुनावमा पनि केही कलाकार स्वतन्त्र त केही कलाकार पार्टीका तर्फबाट उम्मेदवारको रूपमा उभिएका छन्। 

रेखा थापा
अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारी दिएकी छन्। थापा गत वर्ष मात्रै राप्रपा प्रवेश गरेकी थिइन्। उनले चुनावका लागि घरदैलो कार्यक्रम सुरु गरिसकेकी छन्। 

थापाले आफ्नो राजनीतिक यात्रा समयको माग र आफ्नो उम्मेदवारी यसअघिका प्रतिनिधिले गरेको घातको विद्रोह रहेको बताउँदै आएकी छन्। हिम्मत, दुर्गा, काली, धड्कन, दोबाटो, हिफाजत लगायतका दर्जनौँ फिल्ममा अभिनय तथा निर्देशन समेत गरेकी थापा पहिलो पटक उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएकी हुन्। 

मधुसुदन पाठक
चर्चित हास्य टेलिशृंखला सक्किगोनिका कलाकार मधुसुदन पाठक सिनेमाको नाम ‘सितेबा’ले बढी चिनिन्छन्। काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका पाठक बेथिति, राजनीतिक अराजकता, शासन र सत्ताको चरम दुरुपयोगका विरुद्ध, सुशासन, विकास निर्माण, सामाजिक सद्भावसहितको एकीकरण, भष्ट्राचाररहित समाज, पुँजी र श्रमको एकीकरण र उचित परिचालन, कला संस्कृति र सम्पदाको संरक्षणसहित सभ्य र बौद्धिक समाज निर्माणका लागि चुनावमा भाग लिएको बताउँछन्। 

कलाकार बाहेक उनी व्यवसायी पनि हुन्। काठमाडौंमा  उनका सिनेबा मार्ट तथा कृषि फार्म पनि रहेको छ। उनी लौरो चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन्। यही चिह्न लिएर स्थानीय तह चुनावमा बालेनले काठमाडौंमा र हर्क साम्पाङले धरानमा चुनाव जितेका थिए। 

कोमल वली
दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी लोकगायिका कोमल वली यसअघि राष्ट्रिय सभाकी संसद भइसकेकी छिन्।  जनताको सुख दुःख दुवैमा हुने र दाङ क्षेत्र नं. ३ को चामत्कारिक विकास आफ्नो सपना रहेको उनी बताउँदै आएकी छन्। यतिवेला चुनावको प्रचार प्रसारमा व्यस्त रहेको वली नेकपा एमालेबाट चुनावमा उठेकी हुन्। 

मनोज पण्डित
ग्रेटर नेपाल, दासढुङ्गा, बधशाला जस्ता फिल्म तथा डकुमेन्ट्रीका निर्देशक पण्डितले काभ्रे क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवार उनी आफ्नो क्षेत्रका सर्वसाधारणको जनजीवन बुझ्न र प्रचार प्रसारका लागि काभ्रेका गाउँमा खटिएका छन्।

काभ्रे क्षेत्र नं. २ चर्चित एमाले नेता गोकुल बास्कोटाको क्षेत्र हो। ‘लाचारीलाई स्वतन्त्रमा, समस्यालाई समाधानमा बदल्नु छ’ भन्ने नाराका साथ चुनावमा उठेका पण्डितको चुनाव चिह्न डोजर हो। 

हिमेश पन्त
कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तले धादिङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनावमा भाग लिएका उनको चुनाव चिह्न घण्टी हो। 

यसअघि आफूले मतदान गरेर जिताएका नेताहरूले चुनावपछि जनतालाई नचिन्ने गरेको र अब त्यो प्रथाको अन्त्य गर्दै सांसद र जनताबीच साथीको सम्बन्ध बनाउने आफ्नो अभियान रहेको उनी बताउँछन्। हास्य कलाकारले चुनावमा भाग लिएको कुरा हाँसो लाग्दो सुनिए पनि चुनावको दिन फेरि पुरानै नेतालाई मतदान गरे त्यो दुःख लाग्ने कुरा हुने उनी बताउँछन्। पन्त रसायन शास्त्रका विद्यार्थी हुन्। 

सञ्जय श्रेष्ठ
चर्चित पुराना पप गायक सञ्जय श्रेष्ठ काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उठेका छन्। श्रेष्ठले अपराधी र भ्रष्टचारीलाई सजाय दिई सुशासनको व्यवस्था गर्ने, भ्रष्टाचार अन्त्य गरी भ्रष्टहरूलाई कानुनी कठघरामा ल्याउने तथा नेपाली जनतालाई समान न्याय, समान अधिकार र समान स्वतन्त्रताको व्यवस्था गर्ने बताएका छन्। 

स्थानीय चुनावअघि नै प्रदेश तथा प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारी दिने घोषणा गरेका श्रेष्ठ यसअघि राप्रपामा थिए। पार्टीले टिकट नदिएपछि श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनको चुनाव चिह्न माछा हो। 

रोज राणा
फिल्म निर्देशक तथा निर्माता रोज राणाले प्युठान जिल्ला प्रदेश(ख) बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट चुनावमा उठेका राणा अहिले प्रचार प्रसारमा व्यस्त छन्। राणाले म छु नि तिम्रो, डन, टक्कर दुई मुटुको जस्ता फिल्म निर्माण तथा केही फिल्ममा अभिनय पनि गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.