|

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका ३५ उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाही अघि बढ्ने पक्का भएको आयोगले जनाएको हो।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परे पनि ३५ जना उम्मेदवारले आचारसंहिता अधिक उल्लंघन गरेको पाइएकाले कारबाहीको तयारी गरेको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए।

आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारसँग आग्रह गरे। भण्डारीले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए।

उनले ऐन, कानून बनाउनेहरूले नै आचारसंहिता उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका काम गरिरहेको बताए। उनले हरेक उम्मेदवार र दलले आचारसंहिता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी अध्ययन गरिरहेको पनि उल्लेख गरे। 

उनले भने, ‘राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार जो उम्मेदवारी दिएर अगाडि जानुभएको छ। उहाँहरूको घरदैलो मात्रै गर्ने कार्यक्रम हो। कार्तिक १७ गतेसम्मको कार्यक्रम घरदैलो मात्रै हो। त्यसमा २५ जनामा नबढाई, बाजागाजा नबजाई जानुस् भनेका छौँ। आजको मितिमा हालसम्म ३५ जनालाई स्पष्टीकरण सोधिसकेका छौँ। ८०-९० वटा स्पष्टीकरण सोध्ने र कसुरको प्रकृति मूल्यांकन गरी के गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौँ। १८ गतेपछि गोष्ठी सेमिनार, र्‍याली, कोणसभा हो।’

निर्वाचन आयुक्त भण्डारीले नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वार्ता शुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए।

उनले आयोगले यस सन्दर्भमा प्रमाण जुटाउने काम गरिरहेको बताए। उनले आयोगले उम्मेदवारहरूले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहिता उल्लंघन गरेको पाइए कारबाही गर्ने बताए।

आयुक्त भण्डारीले भने, ‘किसान श्रेष्ठले बाराको आफ्नो निर्वाचन क्षेत्रमा जो गरिब किसानहरू हुनुहुन्छ, ज्याला मजदुरी गरेर आउनुभएको छ, तपाईंहरूलाई विदेशमा म पठाइदिन्छु भनेर अहिले निर्वाचनको माहोलमा चुनाव प्रचार गर्ने सन्दर्भमा उहाँले भिसा बाँड्नुभयो भन्ने हामीकहाँ उजुरी आएको छ। त्यो उजुरीपछि हामीले उहाँले गर्नुभएको हो कि होइन? उहाँलाई स्पष्टीकरण सोधेका छौँ। साथै हामीले पनि प्रमाण संकलन गरेका छौँ। उहाँले दिएको जवाफमा मात्रै आधार मानेर त्यसैलाई सही र गलत भनेर हामी छुट्याउँदैनौँ।’

आयोगले प्रमाण संकलन गरेको बताउँदै त्यो संकलित प्रमाणले त्यसरी निर्वाचन आचारसंहितालाई उल्लंघन गरेको भए सजायको भागिदार हुने बताए। देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसहरूले शुरुदेखि नै ऐन, नियम र आचारसंहिता उल्लंघन गरे कस्तो नीति दिने भन्ने प्रश्न उठ्ने बताए।

निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले शुरुदेखि नै ऐन, नियम र आचारसंहिता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.