विपी प्रतिष्ठानमा गरिएको परीक्षणमा ‘सेरोटाइप थ्री’ पुष्टि

|

काठमाडौँ : नेपालमा डेंगु भाइरसको नयाँ प्रजाति फेला परेको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालै परीक्षण गरेको डेंगु भाइरसको नमूना परीक्षणमा ‘सेरोटाइप थ्री’ पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका  कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार  विपी प्रतिष्ठानले १२ वटा डेंगु संक्रमितको नमूना परीक्षण गर्दा ३ जनामा ‘सेरोटाइप थ्री’ पुष्टि भएको पत्र आफूहरूलाई आएको बताए।  विपी प्रतिष्ठानले केही नमूना परीक्षण गरेको रहेछ। त्यसमा सेरोटाइप थ्री पुष्टि भएको पत्र हामीलाई पठाउनु भएको छ’‚ डा. दाहालले भने।

डा. दाहालका अनुसार यसअघि नेपालमा सेरोटाइप वान र सेरोटाइप टु पुष्टि भएको थियो। सन् २०१९ मा धरानमा डेंगुको प्रकोप हुँदा गरिएको सेरोटाइप परीक्षणमा वान र टु पुष्टि भएको थियो । त्यस समयमा देशभर करिब १७ हजार संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो।

देशभरबाट जम्मा गरिएको ३५० नमूना परीक्षण गरिँदै

विपी प्रतिष्ठानले थोरै क्षेत्रको नमूनालाई परीक्षण गरेको भए पनि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले देशभर विभिन्न क्षेत्रबाट ३५० वटा नमूना परीक्षणका लागि संकलन गरेको र यसको रिजल्ट आएपछि यो वर्ष फैलिएको डेंगु भाइरस कुन टाइपको हो भन्ने पुष्टि हुने डा. दाहालले बताए। ‘हामीले पनि देशभरबाट प्रतिनिधित्व हुने ३५० वटा नमूना संकलन गरेका छौँ, अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन्छ। यो परीक्षणबाट आउने रिजल्टले यो वर्ष डेंगुको कुन टाइपको भाइरस फैलिएको रहेछ भन्ने पुष्टि हुन्छ’‚ डा. दाहालले भने।

महाशाखाका अर्का एक कर्मचारीका अनुसार उक्त परीक्षणका लागि  डब्लूएचओले डेंगु सेरोटाइप पत्ता लगाउने परीक्षण कीट दिनुपर्ने भए पनि हालसम्म नदिँदा उक्त परीक्षण रोकिएको र परीक्षण कीट आएपछि उक्त परीक्षण गरिने समेत बताइएको छ। हाल देशभरबाट परीक्षणका लागि ल्याइएका ३५० नमूना हाल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थन्किएर रहेका छन्।

चिकित्सकका अनुसार सामान्यतया डेन-१, डेन-२,डेन-३ र डेन-४ गरी डेंगुका चार प्रकार (सेरोटाइप) हुन्छन्। सामान्यतया एक समय अवधि र ठाउँमा कुनै एक सेरोटाइप मात्र हाबी हुने गर्दछ। यसअघि सन् २०१९ मा देखिएको डेंगु महामारीमा डेन-२ सेरोटाइप हाबी भएको थियो तर अहिलेका डेंगु संक्रमितहरूमा सन् २०१९ को भन्दा  कडा लक्षण देखिएको हुँदा सेरोटाइप बदलिएको हो कि भन्न सकिने चिकित्सकहरूले यसअघि पनि बताउँदै आएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार साउन यता ४९ जना नेपालीको डेंगुकै कारण मृत्यु समेत भइसकेको छ भने संक्रमितको संख्या पनि ४१ हजारभन्दा बढी पुगिसकेको छ।

यो वर्ष गत साउन पहिलो हप्तादेखि ललितपुरबाट फैलिएको डेंगु संक्रमण ७७ जिल्लामा पुगिसकेको छ भने डेंगुबाट १० जिल्ला बढी प्रभावित भएका छन्। जसमा काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रूपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत छन्। सबैभन्दा धेरै काठमाडौंमा १२ हजार ६५२, ललितपुरमा ८ हजार ८७६ र मकवानपुरमा ४ हजार ३२० जनामा डेंगु संक्रमण देखिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.