|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–७ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेकी मानुषी यमी भट्टराई बौद्धिक र डाइनामिक भन्दै  प्रशंसा गरेका छन्। उनले यमीमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको बताएका हुन्।

यमी माओवादी केन्द्रको चुनाव चिह्न लिएर सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी हुन्। यमीलाई उम्मेदवार बनाउन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले यो चुनावमा भाग नलिने घोषणा गरिसकेका छन्। 

काठमाडौं क्षेत्र नम्बर ७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा स्मरण गरेका हुन्।

‘मानुषी बौद्धिक, इनर्जेटिक र डाइनामिक मान्छे भएकाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ,’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘म बच्चैदेखि चिन्छु मानुषीलाई, उहाँमा समर्पित भएर मिहिनेत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ।’

उनी सहितको टिमले काठमाडौं–७ को विकासमा टेवा पुर्याउने दाबी गर्दै प्रचण्डले गठबन्धन अहिलेको आवश्यकता भएको जिकिर गरे।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन बनेको हो। गठबन्धन बन्दै गर्दा संविधान र लोकतन्त्रको रक्षाका लागि आवश्यक्ता भयो भनेर भनेका थियौं,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘अहिले मुलुकमा दुईवटा गठबन्धन छन्। एउटा अग्रगमन र अर्को पश्चगमन। ४ गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचनजस्तो छैन्। लोकतन्त्र र देशले जित्ने हो कि होइन? भन्ने जवाफ जनताले दिने बेला भएको छ।’

गठबन्धन दलका विषयमा विभिन्न चर्चा भएको भन्दै कांग्रेससँग सहकार्यमा मात्र अहिलेसम्मका परिवर्तनहरु संभव भएको प्रचण्डको भनाइ छ।

‘विभिन्न किसिमका प्रचार भइरहेका छन्, हामीले यो गठबन्धन अहिले मात्र बनेको जसरी बुझ्नु उचित हुँदैन्। ०४६ सालको आन्दोलन कम्युनिस्ट र नेपाली कांग्रेसको सहकार्य नै संभव भएको हो,’ प्रचण्डले भने, ‘त्यसपछि नयाँ युगतिर देशलाई लैजानका लागि संभव भएको हो।’

काठमाडौं–७ का मतदाता सचेत भएको भन्दै प्रचण्डले नेवार समुदायको कोर एरिया भएको पनि उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.