|

सुर्खेत : नेकपा एमालेका नेता तथा कार्यकर्ता बुधबार भोट माग्दै रुकुम पश्चिम आठबीसकोट –९ की सिता बटालाको पुगे। उम्मेदवारसहित भोट माग्न घरमा पुगेका एमाले कार्यकर्ताले घरमा साना बालबालिकाबाहेक ठूलो व्यक्ति भेटेनन्। बालबालिकाले दिएको सूचना अनुसार धान काट्ने ठाउँमा पुगे। 

‘भोट दिनु पर्यो’ भन्दै खेतमै आइपुगेका उम्मेदवारलाई सीताले तपाईँहरूको एजेण्डा के छ भनी प्रश्न गरिन्। एमालेका उम्मेदवार सहितका कार्यकर्ताले रुकुम पश्चिममा माओवादी ज्यादती बढेकाले यसलाई ध्वस्त पार्न आफूहरूको जीत आवश्यक रहेको जवाफ दिए। यो सुनेपछि सीतालाई रिस उठ्यो। ‘तपाईँहरू भोट माग्न आउनुभएको कि रिस फेर्न? उनले भनिन्, ‘जसले खानेपानी, सिँचाइ, विद्युत् ल्याउँछ उसैलाई भोट दिने हो। तपाईँहरुको रिस पोख्ने ठाउँमा हामीलाई प्रयोग नगर्नुस्।’ यति सुनेपछि एमालेको टोली भोट हामीलाई नै दिनुहोला भन्दै खेतबाट बाहिरिए। 

डोल्पा (ख) का उम्मेदवार तथा कर्णाली प्रदेशका वनमन्त्री बीरबहादुर शाही ( गठबन्धनबाट माओवादीका)र गाउँ घरमा दोस्रो पटकका लागि भोट माग्दै छन्। 
पहिलो चरणमा आफूले गरेका काम अधुरा भएकाले दोस्रो पटक पूरा गर्ने बाचा गर्दै भोट मागिरहेका छन्। मतदाताले खाद्य डिपोमा नुन र चामलको आपूर्ति, सडक सञ्जाल र विद्युतीकरणको माग राखेका छन्। माओवादीलाई यो पटक भोट दिएमा डोल्पाका अधिकांश काम पूरा हुने शाहीको जवाफमा मतदाताले पार्टीभन्दा पनि विकास निर्माणको कामलाई चिन्ने र आधारभूत आवश्यकता पूरा गर्नेलाई भोट दिने बताए।

जाजरकोटमा गठबन्धनका सबै नेता तथा कार्यकर्ता एकै कार्यक्रम बनाएर गाउँ गाउँमा छन्। उनीहरुले अधुरा काम पूरा गर्ने बाचासहित भोट मागिरहेका छन्। नेकपा एमालेका उम्मेदवार निरज आचार्यले आफू यूवा भएकाले भोट दिन आग्रह गरे। 

शान्ति प्रक्रिया यताका समयमा नेकपा एमालेले जाजरकोटमा नेतृत्व गर्न नपाएका कारण उसले देखाउने विकासका एजेण्डा खासै नभएको पाइएको छ। उत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार शक्तिबहादुर बस्नेत आफूले गरेका कामको लामो फेहरिस्त बनाएर प्रचार गर्दै भोट मागिरहेका छन्। उनीले गरेका कामको सूची कांग्रेसका उम्मेदवार बेदराज सिंह (गठबन्धन प्रदेश क) लगायतका नेता सुनाइरहेका छन्।

गठबन्धनकै बलमा सबै काम भएको भन्दै प्रचार गरिरहेका छन्। जाजरकोटमा शक्ति बस्नेत एक मात्र पटक पटक संघीय मन्त्री र पहुँच राख्ने नेता भएकाले गठबन्धनलाई भोट माग्न सजिलो बनाइदिएको छ। 

सुर्खेतमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति नै चुनावमा भिडेका कारण त्यहाँको माहोल तातेको छ। सुर्खेतमा पनि गठबन्धनका उम्मेदवारहरु गाउँ ,गाउँमा पुगेका छन्। कालिकोट, जाजरकोट, रुकुम पश्चिम, हुम्ला र सल्यान पटक–पटक संघीय मन्त्री पाउने जिल्लाको सूचीमा पर्छ। मन्त्रीको पद भजाउदै विकास गर्छु भनेर मतदातालाई भोट माग्ने गतिलो हतियार समेत बन्दै आएको छ। 

प्रदेश सरकारको तर्फबाट कर्णालीका अधिकांश जिल्लाले मन्त्री पाइसकेको छ। मन्त्री पाएका अधिकांश व्यक्ति चुनाव मैदानमा नभए पनि ४० प्रतिशतले चुनावमा भाग लिएका छन्। कर्णालीमा तेस्रो हैसियतमा खम्चिएको नेकपा एमाले रुष्ट व्यक्तिलाई साथमा लिएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छ।

गठबन्धन सम्बद्ध दल रुष्टलाई फकाएर सबै परिणाम आफ्नो पक्षमा ल्याइ पल्ला भारी पार्ने योजनामा छन्। दोहोरिनेमा प्रतिनिधिसभामा रुकुम पश्चिमबाट जर्नादन शर्मा , जाजरकोटबाट शक्तिबहादुर बस्नेत , डोल्पाबाट धनबहादुर बुढा , कालिकोटबाट महेन्द्रबहादुर शाही दोहोरिएका छन्। 

प्रदेशमा डोल्पाबाट बीरबहादुर शाही, जुम्लाबाट पदम रोकाय, हुम्लाबाट मुख्यमन्त्री जीवनबहादुर शाही, दैलेखबाट अमर थापा, कालिकोटबाट कुर्मराज शाही, सल्यानबाट प्रकाश ज्वाला दोहोरिएका छन्।  

एमालेभित्र दुई धार देखिएका कारण चुनावमा प्रभाव पर्न सक्ने आँकलन गठबन्धनभित्र गरिएको छ। गठबन्धन भित्र राम्रो एजेण्डा र जनमत भएकाले पूर्णरूपमा सफल हुने नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए। गठबन्धनका दलले पहिलो चरणमा आफू बलियो बन्ने र दोस्रो चरणमा एमालेभित्र फुट पैदा गर्ने नीति बनाएको छ।

यो पटक इन्चार्ज मल्ल , प्रदेश अध्यक्ष विमला केसी चुनावमा लडेका छैनन्। कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही जुम्लाबाट प्रदेशसभाका उम्मेदवार छन्। त्यस्तै नेकपा एमालेका स्थायी कमिटि सदस्य यमलाल कँडेल सुर्खेतबाटै प्रदेशसभाका उम्मेदवार छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.