|

म्याग्दी : जिल्लाका ग्रामीण भेगमा कामको माचो छ। खेतको धान र बारीको कोदो थन्काउन किसानलाई भ्याइनभ्याइ छ। धान थन्काएर नभ्याइसक्दै गहुँ छर्न र आलु लगाउन किसानलाई हतारो हुन्छ। रासायनिक मल नपाउँदा किसानलाई कसरी खेती लगाउने भन्ने चिन्ता छ।

यता राजनीतिक दलका नेता र उम्मेदवारहरूलाई मंसिर ४ गते हुने निर्वाचनको लागि गाउँ गाउँमा पुगेर मतदाताहरूलाई भेट्दै आफ्नो पक्षमा मत माग्ने हतारो छ। भोट माग्न गाउँ उक्लिएका उम्मेदवारहरूले मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेर भोट माग्ने गरेका छन्। मतदाताहरू भने कोही खेतबारीमा काम गर्दै छन्,कोही मलको खोजिमा सदरमुकाम बेनीबजार झरेका छन्।

नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेता हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार पार्टी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीको एक टोली रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुगेर मतदातासमक्ष भोट माग्न व्यस्त छ। मतदाताहरू घरमा नभेटेपछि उम्मेदवार श्रेष्ठ र कटुवाल खेतबारीमा नै पुगेर मतदाता कृषकहरूसँग भोट माग।

थकाइ लाग्दा चौतारीमा विसाइमार्ने, मतदाताको घरमा टिमुरको छोपसँग उसिनेको आलु खाएर भोक मादै एमालेका उम्मेदवारहरू आफूलाई भोट दिएर जिताउन जनतासँग हात जोडेका छन्।

 एमालेको यस टोलीले रघुगंगा–८, कुईनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो। कुईनेमङ्गले र चिमखोलाको विभिन्न टोल तथा वस्तीमा पुगेर आफूहरूले आसन्न निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न अपिल गरिएको प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठले बताए।

उनले एमालेले देशको नेतृत्व गर्दा जनमुखी बजेट तथा देश विकास निर्माणमा महत्वपूर्ण काम गरेको बताउँदै यसअघि एमाले नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणको कामलाई पूर्णता दिन पनि एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन मतदातासमक्ष अनुरोध गरे।

 ‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि एमालेले जित्नुको विकल्प नभएको उनले बताए। घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा प्रदेशसभा (क)का उम्मेदवार कटुवाल क्षत्रीले नेकपा एमालेसँग देश विकास गर्ने स्पष्ट भिजन र नेतृत्व भएकाले एमालेको पक्षमा भोट दिन मतदातालाई आग्रह गरे।

उनले म्याग्दी जिल्लामा एमालेबाट निर्वाचित सांसद तथा नेताहरूको पहलमा म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनलक्षित संरचनाहरू निर्माण गर्ने, लामो दुरी तथा अग्लो झोलुङ्गे पुल बनाउने, सडक विस्तार एवं स्तरोन्नति गर्ने, खानेपानी, खेलकुद, विद्यालय भवन निर्माणलगायत विभिन्न पूर्वाधारहरू निर्माणमा पर्याप्त बजेट र कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै भोट मागेका छन्।

घोडा चडेर भोटमाग्न उक्लिए सत्ता गठबन्धनका उम्मेदवार

आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरू साझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन्।

 मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन्।

 गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा (खम्बिर) प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी सहितको टोली उत्तरी म्याग्दीको वडास्तरीय भेला, घरदैलो र भेटघाटमा छन् भने प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार सुविन जुग्जालीसहित नेपाली कांग्रेस र माओवादीका नेताहरू भोट माग्न घोडा चडेर जिल्लाको अति विकट गूर्जामा उक्लिएका छन्।

सभासम्मेलन, माईकिङ लगायतका प्रचारप्रसारलाई निर्वाचन आयोगले कडाई गरेपछि गठबन्धनका उम्मेदवाररु समृद्ध म्याग्दी बनाउने ५ बर्षे प्रतिबद्धता सहित वडास्तरको रणनीति बनाउने, मतदातालाई भेट्ने र मतदाताको घर–घरदैलोमा जाने कार्यक्रम सुरु भएको गठबन्धनको संयुक्त चुनावी प्रचारप्रसार समितिका संयोजक एवम् नेपाली कांग्रेसका  उपसभापति केबी भण्डारीले बताए।

 'मतदातालाई अवको पाँचबर्षमा गर्ने काम सहित उम्मेदवार घरदैलोमा पुग्नुहुने छ, मतदाताबाट सुझाव लिएर फर्किनुहुन्छ, त्यहीलाई हामीले ५ बर्षे प्रतिबद्धतापत्र बनाएर कार्यान्वयन गर्नेछौ', संयोजक भण्डारीले भने। उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकाहरू नेता तथा कार्यकर्तासँगै घरदैलोमा पुग्ने कार्यक्रमपछि आमसभा सहितका अन्य कार्यक्रमहरू निर्वाचन आयोगले दिएको समयभित्र गर्ने बताए।

 उम्मेदवारसहितको टोली घरदैलोमा पुग्न थालेपछि चुनावी रौनकता सुरू भएको छ। गठबन्धनका दलहरूले वडा, बस्तीसम्मको कार्यविभाजन गरी चुनावी गतिविधिलाई तिव्रता दिएको छ। घरदैलो अभियानमा व्यस्त गठबन्धनका साझा उम्मेदवार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले जनताका निकै उत्साह देखेको बताए।

उनले निर्वाचनको समय कम रहेकाले घरदैलो अभियानलाई तीव्रता दिएको र विभिन्न चरणमा जनताको माझमा पुग्ने बताए। यसपटक गठबन्धनका उम्मेदवारले आफ्नो प्रतिबद्धता र गठबन्धन गर्नुको प्रमुख कारणका बारेमा मतदातालाई भेटेर नै प्रष्ट पार्ने गरी घरदैलोमा पुगेको प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार हरि भण्डारीले बताए।

यसैबीच स्वतन्त्र उम्मेदवारहरू पनि चुनाव चिन्ह पाएसँगै मतदाता रिझाउन घरदैलो अभियान सुरु गरेका छन्। चुनाव चिन्ह पाएसँगै स्वतन्त्र तथा साना राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा होमिएका छन्।स्वतन्त्र उम्मेदवार शुभचिन्तकसँगै मतदाताको घरमा पुगेर मत माग्ने गरेका छन्।

किसानलाई मलकै पिरलो

नेता र उम्मेदवारहरू भोट माग्न किसानका खेतबारीमा पुगे पनि किसानहरू भने हिउँदे बाली लगाउन मल नपाएर नजिकका बजार तथा सदरमुकामका पसलहरूमा भौतारिइरहेका छन्।

मालिका गाउँपालिका ५ देविस्थानबाट मल लिनको लागि दरबाङ बजार झरेका तिलबहादुर बूढाले चुनावमा उठेका नेतालाई मतको पिरलो भएजस्तै आफूहरूलाई मलको पिरलो भएको बताए।

‘नेताका भाषणले अन्न फल्दैन, अन्न फलाउन मल चाहिन्छ तर बजारमा मल पाइँदैन’, बूढाले भने, ‘उनीहरूलाई कसरी भोट तान्ने भन्ने पिरलो छ, हामी किसानलाई मल नपाएर हैरानी छ। किसानले पैसा हालेर सजिलैसँग मल त किन्न पाइँदैन,यी नेताहरूले विकास गर्लान र हामी सुविस्तासँग रहौंला भनेर कसरी विश्वास गर्ने?’

यहाँका किसानलाई अहिले धान थन्काउने चटारो छ। तिहारले छोपिसकेको भए पनि किसानहरू वेर्फुसदिला छन्। धान थन्काएर नभ्याउँदै गहु छर्ने,आलु रोप्ने चटारो सुरु हुन्छ। बिना मल मकै र धान खेती गरेका यहाँका कृषक गहुँ र आलुका लागि पनि मल नपाइने पो हो कि भनेर चिन्तित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.