|

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा इंग्ल्यान्ड आयरल्यान्डसँग स्तब्ध भएको छ।

शीर्ष १२ अन्तर्गत समूह १ को खेलमा वर्षा बाधक भएपछि आयरल्यान्ड डर्कवर्थ लेविस (डिएल) नियमका आधारमा ५ रनले विजयी भयो। मेलबर्नमा बुधबार इंग्ल्यान्डको ब्याटिङका क्रममा वर्षा भएर फेरि खेल हुन नसक्दा आयरल्यान्ड भाग्यमानी साबित भयो।

टस हारेर पहिलो ब्याटिङ गरेको आयरल्यान्डले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो।

जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४ दशमलव ३ ओभरमा १ सय ५ रन बनाउँदा वर्षा भएको थियो। वर्षाका कारण खेल फेरि शुरु हुन नसकेपछि आयरल्यान्डले रोमाञ्चक जित निकाल्यो।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले खराब शुरुवात गरेको थियो। उसका लागि डेभिड मलानले ३५ रन बनाउँदा ह्यारी ब्रुकले १८ रन बनाएका थिए। मोइन अलीले २४ रनको अविजित इनिङ खेल्दा पानी पर्ने थालेको थियो।

वर्षाकै कारण अफगानिस्तान र न्युजिल्यान्डको खेल पनि स्थगित छ। समूह १ मा न्युजिल्यान्ड, श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड, अस्ट्रेलिया र अफगानिस्तान रहेका छन्।

त्यसअघि पहिलो ब्याटिङ गरेको आयरल्यान्डका लागि कप्तान एन्डी बलबर्नीले ६२ रनको इनिङ खेल्दा लोर्कन टुकरले ३४ रन बनाए। एन्डीले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। कर्टिस क्याम्फरले १८ रन बनाउँदा ग्यारेथ डेल्यानीले १२ रन बनाएका थिए। ओपनर पउल स्टर्लिङ १४ रनमा आउट हुँदा पछिल्लो क्रम भने समालिएर खेल्न असफल भएको थियो।

इंग्ल्यान्डका मार्क वुड र लियाम लिभिङस्टोनले ३/३ विकेट लिँदा साम करनले २ र बेन स्टोक्सले १ विकेट हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.