|

पर्वत : ‘डम्पिङ साइट’ को अभावका कारण समस्यामा पर्दै आएको जिल्लाको पैयुँ गाउँपालिकाले करिब १० करोडको लागतमा फोहोर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ बनाउने भएको छ।

पैयुँ गाउँपालिकाका मुख्य बजारका रूपमा रहेको हातेमालेचोक, त्रिवेणी, भोर्ले, सरौँ लगायतका ठाउँको फोहोर व्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित र अस्तव्यस्त हुँदै आएको थियो। बजार आसपासका क्षेत्रमा पनि बसोबास बढ्दै जाँदा पहिलेका गाउँ पनि शहरीकरणको बाटोमा रहेका छन्। बजार केन्द्रित जनसंख्याका कारण फोहोर उत्पादन बढे पनि ‘डम्पिङ साइट’ नहुँदा बजारबासीले आफ्नै तरिकाले फोहोर व्यवस्थापन गर्दै आइरहेका थिए।
 
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज) का अनुसार फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेलामा गाउँपालिका-५ मा स्थानीयले निःशुल्क रूपमा उपलब्ध गराएको जमिनमा पूर्वाधार निर्माण गर्ने तयारी भएको छ।

‘फोहोर व्यवस्थापनको विषय यहाँका लागि चुनौतीको विषय बनेको थियो। बजारमा जनसंख्या बढ्दै जाँदा फोहोर उत्पादन पनि बढेको छ। तर निश्चित ठाउँको अभावका कारण सम्बन्धित व्यक्तिले आफ्नै तरिकाले व्यवस्थापन गर्दै आउनुभएको थियो’, उनले भने, ‘वडा-५ मा स्थानीयले निःशुल्क रूपमा उपलब्ध गराएको ठाउँमा नै डम्पिङ साइट बनाउने निर्णय गरेका छौँ। अब केही समयमा नै त्यसका लागि निर्माणको काम सुरु हुनेछ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार फोहर मैला परियोजनालाई गाउँपालिकाको गौरवको योजना रूपमा राखिएको छ। ‘फोहोरलाई मोहोरमा बदल्ने’ कामको प्रक्रिया सुरु भएको भन्दै उनले परियोजना सञ्चालनमा आए पछि कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिने बताए। परियोजना लागु भएपछि स्थानीयलाई रोजगारीको अवसर समेत मिल्ने लामिछानेको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.